अघिल्लो साँझ मात्रै त्यही बाटो हिँड्दा देखिएको एउटा घर आइतबार बिहान एकाएक गायब थियो।
यसले बाटो हिँडिरहेका दुई युवालाई झस्कायो।
त्यो घर भएकै ठाउँमा ठूला ढुंगा, गेग्रयानसहितको माटो पनि थुप्रिएको थियो।
शंका लागेपछि उनीहरूले नजिकै गएर हेरे।
इलाम माइजोगमाई गाउँपालिका ६ प्याङका ती दुई जना युवा ढुंगामाटोको ढिस्कोनिर पुग्दापुग्दै निश्चित भए, त्यो घर पहिरोले पुरेछ।
स्थानीय ८० वर्षीय बमिध्वज सोङ्मीको परिवार बस्ने घर राति नै पहिरोले पुरेको दृश्य देख्नासाथ आत्तिएका उनीहरूले होहल्ला गरे। गाउँले भेला भए। त्यसपछि मात्रै थाहा भयो, परिवारका पाँच जनालाई पहिरोले घरभित्रै ज्यान लिएछ।
‘त्यो घर नजिकैको बाटो हिँडिरहेका गाउँकै दुई जना युवाहरूले घर नदेखेपछि नजिकै गएर हेर्दा घरै पहिरोले पुरेको थाहा पाएर हल्ला गरेपछि अरूलाई थाहा भएछ,’ माइजोगमाई ६ का वडाध्यक्ष दिपेश सोङ्मीले सेतोपाटीसँग भने, ‘गाउँले भेला भएर माटो पन्छाउँदा एकै परिवारका ५ जनाको लास मात्रै फेला पर्यो।’
सुन्नासाथ घटनास्थल पुगेका वडाध्यक्ष सोङ्मीले दिएको जानकारी अनुसार यो घटना प्याङ भन्ने ठाउँमा भएको हो।
सोही वडाकै अर्को घर किरण थेवेको थियो, त्यो घर पनि पहिरोले पर्दा तीन जनाको ज्यान गएको छ।
बमिध्वजको परिवारका जम्मा पाँच जनाको ज्यान गएको छ। बमिध्वज सोङ्मी, उनकी श्रीमती, छोरा, बुहारी, र १५ वर्षकी नातिनीको ज्यान गएको छ।
किरण थेवेको परिवारमा किरणसहित तीन जनाको ज्यान गएको छ। किरणकी गर्भवती श्रीमती र एक जना छोरीको पहिरोमा पुरिएर ज्यान गएको हो।
वडाध्यक्ष सोङ्मीका अनुसार गाउँलेहरूले ८ जनाकै शव निकालेका छन्। उनीहरू अहिले प्रहरी पर्खेर बसेका छन्।
वडाध्यक्ष सोङ्मीको अनुमानमा यो घटना राति ३ बजेतिर भएको हो। दुवै घर एकान्त ठाउँमा रहेकाले बिहान मात्रै गाउँलेले घर नदेखिएको अवस्थामा पहिरो गएको पत्ता लगाएका थिए।
बाटोबाट हिँड्ने क्रममा पहिरो झरेको र घर पनि नदेखिएको देखेपछि हल्लाखल्ला भएको थियो।
एउटा ठाउँमा त दुई घर थिए। तल्लो घरको एउटा छोरोले बुवाआमालाई भगाउन सफल भएर मात्रै ज्यषन बाँचेको उनले जानकारी दिए।
‘हामी गाउँलेहरू थुप्रै भेला भएर शवहरू निकाल्ने र पहिचान गर्ने काम गरिरहेका छौँ,’ वडाध्यक्ष सोङ्मीले भने, ‘तर अहिले हामीलाई ठूलो समस्या भइरहेको छ, किनकि हामीसम्म प्रहरी प्रशासन आइपुग्न सकेको छैन।’
नयाँ बजार इलाका प्रहरी कार्यालयबाट प्रहरी बिहानै हिँडेको भनिए पनि, बाटो बन्द भएको र पहिरोले गर्दा अवरूद्ध भएकाले अहिलेसम्म आइपुग्न सकेको छैन। अझै दुई–तीन घण्टा लाग्न सक्ने प्रहरीले बताएको स्थानीयको भनाइ छ।
वडाध्यक्ष सोङ्मीका अनुसार बमिध्वज र किरण थेवे दुवैको घर मुख्य गाउँभन्दा एकान्त र भीरको फेदैमा थियो।
‘घरभन्दा करिब सय मिटर माथिबाट भीर खसेर घर पुरेछ,’ उनले सुनाए, ‘अहिले आठ जनाकै शव निकालिएको छ। गाउँमा ठूलो त्रास र शोकको वातावरण छ।’
जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार यसपटक इलाममा रौतहटपछि दोस्रो धेरै पानी परेको छ।
विभागले वेबसाइटमा राखेको सूचनाअनुसार मधेशको रौतहटको महेशपुरमा असोज १८ गते बिहान ८ बजेदेखि असोज १९ गते बिहान ८ बजेसम्म २४ घन्टाको अवधिमा ३३८.६ मिलिमिटर वर्षा भएको छ।
इलामको हिमाली केन्द्रमा सोही अवधिमा ३३४.२ मिलिमिटर वर्षा मापन भएको छ।
वर्षातको तुलनामा बढी मानवीय क्षति पनि इलाममै भएको छ। अर्थात् इलाम यसपटक विपत्तिको 'इपिसेन्टर' बनेको छ।
अहिलेसम्म कम्तीमा ३७ जनाले इलाममा ज्यान गुमाइसकेका छन्।
अविरल वर्षापछिको बाढी–पहिरोमा परी ३७ जनाको मृत्यु भएको छ। दिउँसो २ बजेसम्मको विवरणअनुसार १ जना बेपत्ता छन्।
सूर्योदय नगरपालिका १, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ। इलाम नगरपालिका ६, घोसमा ६ जनाको मृत्यु र यही वडाको बालनगाउँमा १ बेपत्ता भएको, सन्दकपुर गाउँपालिकामा ४ को मृत्यु र २ बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिएकी छन्।
माङ्सेबुङ गाउँपालिकामा ३ जना, देउमाई नगरपालिकामा ८ जना, माइजोगमाई गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ।
फाकफोकथुम गाउँपालिकामा १ को मृत्यु भएको छ। पहिरोले मेची राजमार्ग अवरुद्ध छ। केचना–कञ्चनजंघा मार्ग र वैकल्पिक सबै मार्ग अवरुद्ध छन् ।
नेपाली सेनाको हेलिकप्टरले माङ्सेबुुङ गाउँपालिका १ को गजुरमुखीबाट गर्भवती साधना लिम्बू, मदन लिम्बू उनीहरूका छोरा संयोग लिम्बूको उद्धार गरेको छ। उनीहरू पहिरोमा फसेका थिए भने गम्भीर घाइते पनि छन्।
चारैतिर जाने बाटो अवरूद्ध भएको, खोलाहरूमा बाढी आएका कारण उद्धारमा पनि कठिनाइ भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले बताए।
‘पुलिसहरू कतिपय ठाउँमा पुग्न सकेका छन् भने कतिपय ठाउँमा पुग्न सकेका छैनन्,’ उनले भने, ‘हामीले स्थानीयहरूको सहयोग लिएर काम गरिरहेका छौँ र उहाँहरूलाई पनि सहयोग दिइरहेका छौँ। काम चाहिँ रफ्तारमा गइरहेको छ।’
कोइरालाका अनुसार धेरै ठाउँमा पहिरो गएकाले बाटो खोल्ने काम अलि ढिलो भइरहेको छ।
‘आजसम्म बाटो खोल्न सम्भव होला नहोला, यसबारे यकिन छैन, तर काम त भइरहेको छ। सबैतिर काम भइरहेको भएता पनि हाम्रो कामको रफ्तारले चाहिँ यो झरीको रफ्तार र झरीले गरेको क्षतिको रफ्तार भेट्न सकिरहेको छैन, हामी प्रयास गरिरहेका छौँ,’ उनले भने।
‘यो पहाडी भूभाग हो, सबै ठाउँमा बाटो पहिरोले पुरिएको छ। सवारी साधन, मोटरसाइकल जाने अवस्था छैन,’ उनले थपे, ‘त्यसैले, सदरमुकाम वा पुलिस युनिटदेखि घटनास्थलसम्म पुग्न पैदल हिँड्नुपर्ने अवस्था छ। यो परिस्थितिका कारणले गर्दा, धेरै ठाउँमा त पुलिस पुगिसकेको छ, तर एक दुई ठाउँमा पुलिस पुग्न बाँकी छ।’
कतै खोला बढेको कारणले तर्न नसकेर पुलिस पुग्न नसकेको र कतै धेरै घुमेर लामो बाटो भएर जानुपर्ने परिस्थिति रहेको उनले बताए।
कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार पहिरोमा परेका ५३५ जनाभन्दा बढीको इलाममा उद्धार भइसकेको छ।