जल तथा मौसम विज्ञान विभागले शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घन्टाको अवधिमा ६ केन्द्रमा ३०० मिलिमिटर वर्षा भएको बताएको छ।
१८ गते बिहान ०४ः३० बजे देखि १९ गते बिहान ०४ः३० बजेसम्म अधिकतम वर्षा रौतहटको महेशपुरमा ३५८ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।
त्यस्तै इलाम जिल्लाको हिमाली गाउँ केन्द्रमा ३३२.६, कन्याम टि-स्टेट केन्द्रमा ३१४.२, पर्सा जिल्लाको मुडली केन्द्रमा ३२८.६ मिलिमिटर, रौतहट जिल्लाको महेशपुर केन्द्र, ३२८.० मिलिमिटर र गौर केन्द्र ३१५.० मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ।
बंगालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीको कारणले शुक्रबार साँझबाट आइतबार बिहानसम्म मनसुन सक्रिय भएको विभागले जनाएको छ।
मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यमदेखि अति भारी वर्षा मापन भएको विभागले जनाएको छ
‘असोज १८ लेखि असोज १९ गते बिहान ०८ः४५ बजे २९५ वटा वर्षा मापन केन्द्रहरू (मानव सञ्चालितः ७९ र स्वचालितः २१६) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरण अनुसार १८६ वटा केन्द्रहरुमा वर्षा भएको छ। जसमध्ये १०५ वटा केन्द्रहरुमा ५० मिलिमिट। भन्दा बढी, ६८ वटा केन्द्रहरूमा १०० मिलिमिटरभन्दा बढी, २१ वटा केन्द्रहरुमा २०० मिलिमिटरभन्दा बढी ५ वटा केन्द्रहरूमा ३०० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ,’ विभागले भनेको छ।
अविरल वर्षाका कारण असोज १८ अपराह्नबाट बागमती, त्रिशूली, पूर्वीराप्ती, लालवकैया, कमला लगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको अवस्था रहेको पनि विभागले जनाएको छ।
‘आज असोज १९ गते सप्तकोशी नदीले खतरा तह पार गरेको छ र यसका सहायक नदिहरू मुख्यतया तमोर, सुनकोशी र अरूण नदीहरूमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा रहेको छ। त्यसैगरी कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिङ लगायतका चुरे महाभारत उद्गम भई बहने नदीहरूमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा रहेको छ। कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रही हाल स्थिर अवस्थामा रहेको हुँदा उल्लेखित नदी तटीय क्षेत्र तथा डुवान भइरहने क्षेत्रमा असोज २० गते मध्याह्नसम्म सतर्कता अपनाइराख्न सरोकारवाला सम्पूर्णमा अनुरोध छ,’ विभागले भनेको छ।