बारा र पर्सामा भएको अविरल वर्षाका कारण सिर्सिया नदीमा पानीको बहाव बढेको छ। यसले नदीको पानी आसपासका बस्तीमा पसेर वीरगन्ज डुबानमा पर्ने समस्या देखिएको छ।
राधेमाई, सबैठवा, श्रीपुर, रानीघाट, रामगढवा क्षेत्र अहिले नै डुबानमा परिसकेको स्थानीयले बताएका छन्। पक्की घरको समेत भुइँतलामा पानी पसेको छ। घरबाट मानिसहरूलाई बाहिर निस्कन समस्या भइरहेको छ।
जिल्ला विपद व्यवस्थापन समितिले उद्दारका लागि सशस्त्र प्रहरी परिचालन गरेको जनाएको छ। सशस्त्र प्रहरी टोलीले केहीलाई उद्दार गरेर सुरक्षित स्थानमा सारेको छ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले डुंगा पठाएर मानिसको उद्दार भइरहेको जानकारी दिए। नदी आसपासका बस्तीमा डुबान समस्या देखिएको बताउँदै उनले सुरक्षित बस्न आग्रह गरेका छन्।
त्यस्तै, विपदमा परेकालाई राहत वितरण गर्न स्थानीय पालिकासँगको समन्वयमा एकद्वार प्रणाली अपनाइएको उनले बताए। चामल लगायतका खाद्यान्न वितरणका लागि वीरगन्ज उद्योग वाणिज्य संघसँग समन्वय गरिएको उनले जानकारी दिए।