इलाममा बाढी पहिरोबाट प्रभावित भएको ठाउँमा घाइतेको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पठाइएको छ।
आइतबार माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जनाको मृत्यु भएको छ। त्यहाँ रहेका दुई जना घाइते र एक जना गर्भवतीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर इटहरीबाट उडेको हो।
नेपाली सेनाले हेलिकप्टरमा उद्धारका लागि इटहरी, सुर्खेत र काठमाडौंमा स्ट्यान्डबाइ राखिएको सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।
इलाममा बाढी पहिरोमा परी १८ जनाको मृत्यु भएको छ।
इलामका सुर्योदय, देउमाई, माङसेवुङ, फाकफोकथुम र इलाम नगरपालिकामा पहिरोका कारण ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ।
सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा खसेको पहिरोमा ५ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ।
त्यस्तै, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र सोही नगरपालिकाको धुसुनेमा २ जनाको मृत्यु भएको छ।
यस्तै, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको मृत्यु भएको छ भने इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।