सप्तकोशी नदीको जलसतह लगातार बढेपछि कोशी ब्यारेजस्थित पुलबाट सवारी आवागमनमा रोक लगाइएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार पानीको सतह लगातार बढेर जोखिम उच्च भएपछि पुलबाट अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको हो।
अहिले कोशी पुलबाट सबै प्रकारका सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाइएको छ। अत्यावश्यक सेवा र आकस्मिक सवारी साधनलाई भने विशेष अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रजिअ मिश्रले सप्तकोशीमा पानीको बहाव ४ लाख ८६ हजार क्युसेक नाघेपछि सवारीमा रोक लगाइएको हो।
हाल कोशी नदीको जलस्तरले उच्च सतर्कता तह पार गरिसकेको छ र थप वृद्धि भइरहेको छ।
प्रहरी र सशस्त्र प्रहरी बललाई पुल आसपास क्षेत्रमा खटाइएकाले अनधिकृत सवारी प्रवेशमा कडाइ गरिएको छ। यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।