अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेको कोशी ब्यारेज प्रशासनले जनाएको छ।
आइतबार बिहान साढे १० बजेपछि सप्तकोशीमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक पुगेको छ। अहिले कोशी ब्यारेजका ५६ गेटहरू खुला गरिएको प्रशासनले जनाएको छ।
पानीको बहाव लगातार बढ्दो अवस्थामा रहेको छ। ब्यारेजमा अहिले अति उच्च जोखिम स्तरमा पुगेको प्रशासनले जनाएको छ।
स्थानीय प्रशासनहरुले सुनसरी, सप्तरी र उदयपुरका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षाका लागि सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेका छन्।
स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई तत्काल स्थलान्तरणको तयारी गर्न निर्देशन दिएको छ। बाढीको प्रभाव विशेषगरी सुनसरी, सप्तरी, उदयपुर र आसपासका तटीय क्षेत्रमा गम्भीर हुन सक्ने चेतावनी दिइएको छ।