उदयपुरको वेलका नगरपालिका–४ लालबजारस्थित कजवेले माइक्रो बस (हायस) बगाउँदा एक जना महिला बेपत्ता भएकी छन्।
उक्त माइक्रो बस मोरङको रंगेलीबाट काठमाडौं जाँदै गरेको र बाटो बन्द भन्ने सूचनापछि मोरङ फर्किने क्रममा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदारमान दोङले जानकारी दिए।
माइक्रो बसमा चालकसहित २२ जना यात्रु सवार थिए। बाँकी यात्रु सकुशल छन्। एक जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी दोङले जानकारी दिए।
‘राति १२ बजेतिर माइक्रो बसलाई कजवेले बगाएको रहेछ। माइक्रो बस बगाउँदा अन्दाजी ४५ वर्षकी महिला बेपत्ता भएकी छन्। उनको पहिचान खुलेको छैन। प्रहरीले उनको खोजी गरिरहेको छ। चालक भने प्रहरीको नियन्त्रणमै हुनुहुन्छ,’ दोङले सेतोपाटीसँग भने।