हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव छ। काठमाडौं उपत्यकादेखि पूर्वको झापासम्म भीषण वर्षा भएको छ। पूर्वमा वर्षा जारी छ भने काठमाडौंमा वर्षा मत्थर भएको छ।
आइतबार दिउँसो कोशी प्रदेश र मधेस प्रदेशका अधिकांश स्थानहरूमा पूूर्ण बादल लाग्ने अवस्था छ।
बागमती, लु्म्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरूमा आंशिक बदलीको सम्भावन छ।
कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।
८ वटा नदीहरूले पार गरे खतराको तह
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ८ वटा नदी खतराको तहमा पुगेको बताएको छ। बिहान ५ः३० बजे गरिएको मापन अनुसार बागमती, सुनकोसी, अरूण, तमोर, कन्काई, बुढी खोला–सुनसरी, बिरिङ खोला झापा लगायत नदीले विभिन्न स्थानमा खतराको तह पार गरिसकेका छन्।
त्यस्तै १२ वटा नदी केन्द्रहरूमा जलसतह सतर्कताभन्दा माथि र प्रायजसो बढ्दो क्रममा रहेको महाशाखाले बताएको छ।
बागमती, कमला, कोसी जलाधार अन्तर्गत् पर्ने नदीहरू सतर्कता तहभन्दा माथि छन्।
यस्तै कोशी, मधेस र बागमी प्रदेशका अन्य सबै नदीनालाहरूमा बहाब सतर्कता तह नजिक पुगेको पनि महाशाखाले बताएको छ।
बागमती र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तिब्रता विस्तारै घट्न सुरू गरेको र कोसी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको महाशाखाले बताएको छ।
काठमाडौंदेखि झापासम्म भीषण वर्षा
काठमाडौंदेखि झापासम्म भीषण वर्षा भएको छ। अहिले काठमाडौं उपत्यकामा वर्षा केही मत्थर भएको छ। तर पूर्वतिर भने वर्षा जारी नै छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा रौतहटको महेशपुरमा ३५२ मिलिमिटर वर्षा भएको छ। गौरमा ३३४, गरूडामा ३०४.६ पर्साको मुडलीमा २९०.८, वीरगञ्जमा २८८, बाराको सिमरा विमानस्थलमा २२५.४, परवानीपुरमा २२१.६, निजगढमा २६१.४, सिन्धुलीको हरिहरपुरगढीमा २९५, मकवानपुरगढीमा २१०, पनौतीको खोपासीमा २१५.२, गोदावरी ललितपुरमा १७८.८, लेलेमा १८४.२, काठमाडौंको नैकापमा १४१.६, सुन्दरीजलमा १४४.६, सर्लाहीको मनुस्मारामा २३३.६, मलंगवामा २२९, जनकपुरमा १८९.९ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै, धनुषाको हर्दिनाथमा १८८.८, धनुषाको तुुलशीमा २४५.२, कमला नदी केन्द्रमा १५६.८, धनुषाको चिसापानी बजारमा १६५ मिलिमिटर वर्षा भएको छ।
धनकुटाको मछुवाघाट केन्द्रमा १८१, त्रिवेणीमा १९९, सुनसरीको सप्तकोशीमा २२६.८, चरतामा २१४.४ मिलिमिटर पानी परेको छ।
इलामको माईमा १८२.८, इलाम टि इस्टेटमा २९०.६, इलामको हिमालीमा ३३५.४, कन्यामा २७९.६, झापाको बाहुनडाँगीमा २४६.४, चन्द्रगढीमा १८८.६, अनारमनीमा १७२.४, इलामको कन्काइमा १८६.८, झापा दमकमा १७५.६, मोरङको हरैंचामा २४४.४, सप्तरीको बरमझियामा १८५.४ मिलिमिटर वर्षा भएको छ।
यो क्षेत्रमा पनि वर्षाको तीव्रता केही कमजोर देखिए पनि साँझसम्मै पानी पर्ने सम्भावना देखिएको महाशाखाले बताएको छ।