पश्चिम नवलपरासीको सुस्ता बाढीको उच्च जोखिममा परे पनि विपद व्यवस्थापन आवास गृहमा बस्न आग्रह गरिएकोमा स्थानीयले अटेर गरेको गाउँपालिकाले जनाएको छ।
नारायणी नदीमा पानीको बहाव बढ्ने हुँदा हरेक वर्ष सुस्ता डुबानमा पर्ने गरेको छ।
लुम्बिनीदेखि पूर्व गण्डकी, बागमती, मधेस र कोसी प्रदेशमा शुक्रबार रातिदेखि लगातार भारी वर्षा भइरहेको छ। शनिबार साँझसम्म सुस्तामा ठूलो पानी नपरे पनि नारायणीको माथिल्लो तटीय क्षेत्रमा वर्षा जारी रहेकाले सुस्ता डुबानको उच्च जोखिममा छ।
बाढी तथा डुबानका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गाउँपालिका र प्रहरीले स्थानीयलाई विपद व्यवस्थापन आवास गृहमा बस्न आग्रह गरेका छन्। तर स्थानीयले उक्त आवास गृहमा जान अस्वीकार गरिरहेको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी दिए।
उनका अनुसार सुस्तामा हरेक वर्ष डुबान हुने भएकाले तीन करोड रूपैयाँभन्दा बढी लगानीमा दुई वटा विपद व्यवस्थापन आवास गृह निर्माण गरिएको हो।
शनिबार र आइतबार सुस्ता क्षेत्रमा उच्च जोखिम रहेको भन्दै गृह मन्त्रालयले समेत सुरक्षित रहन अनुरोध गरेको भए पनि स्थानीय आवास गृहमा जान मानिरहेका छैनन्।
अध्यक्ष उपाध्यायले भने, 'हरेक वर्ष नारायणी नदीको बाढीले सुस्ता गाउँपालिका–५ मा पर्ने नारायणी पारिको बस्ती डुबानमा पर्ने गरेको छ। यस वर्ष भारी वर्षा हुने भन्दै सरकारले सचेत गराइरहँदा पनि स्थानीयलाई सुरक्षित आवासमा लैजान सकेका छैनौं।'
डुबान जोखिममा रहेका बस्तीका बासिन्दालाई दिउँसोदेखि नै घरका लत्ताकपडा, भाँडाकुडा, अन्नजस्ता अत्यावश्यक वस्तु लिएर आवास गृहमा जान आग्रह गरिएको छ। तर स्थानीयले सामान्य ठानेर बेवास्ता गरिरहेका छन्।
सुस्ता पारिको बस्तीमा हाल करिब २५० घरपरिवार बसोबास गर्दै आएका छन्। एकातर्फ भारतीय सिमाना र तीनतर्फ नारायणी नदीले घेरिएको यो क्षेत्र नदीमा सामान्य बहाव बढ्दा पनि डुबानमा पर्न पुग्ने गरेको छ।
यही कारण गाउँपालिकाले करिब ५०० जना बस्ने क्षमताका दुई वटा विपb व्यवस्थापन आवास भवन निर्माण गरेको हो।