बागमती र लालबकैया नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि रौतहट जिल्लाका नदी किनार र अस्थायी बस्तीहरूमा बाढीको जोखिम बढेको छ।
यही जोखिम हेरेर बागमती नदीको बीचमा रहेको टापुका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। वृन्दावन नगरपालिका–१ भोटियाघाटका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए।
उनका अनुसार उक्त स्थनमा १५१ घरधुरी बसोबास गर्दै आएका छन्। असोज १७ गतेदेखि नै उनीहरूलाई सुरक्षित स्थानमा जान माइकिङमा आग्रह गरिएको थियो।
रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले शनिबार साँझ ४ जनाको उद्दार गरिएको बताए। उक्त गाउँमा १२८ धरधुरी रहेको जानकारी पाएकोमा १२६ घरधुरी सुरक्षित स्थानमा आइसकेको उनको भनाइ छ।
'टापुजस्तो गाउँमा मान्छे बसेका रहेछन्। माइकिङ गरेर सुरक्षित स्थानमा आइदिन आग्रह गरेका थियौं। कतिपयले पौडिन जानेका छौं, २०५० सालको बाढीमा त केहि भएन भनेर आउन नमानेको स्थिति थियो,' उनले भने, 'जीवन रक्षाका लागि सुरक्षित स्थानमा आउन आग्रह गरेपछि आउनुभयो, बस्ती लगभग क्लिएर जस्तै छ।'
एक-दुई जना लुकेर बसेको शंका गरिएकाले नगरपालिकासँगको समन्वयमा खोजेर सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको उनले बताए।
जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको चेतावनी जारी गरेको छ। काठमाडौं हुँदै बग्ने बागमती नदीको बाढीले रौतहटमा बर्सेनि कटान र डुबानको समस्या निम्त्याउने गरेको छ।