जिल्ला प्रशासन कार्यालय, पाल्पाले असोज २० गतेसम्म जिल्लाबाट अत्यावश्यक वस्तु तथा सेवाका सवारीसाधन बाहेक लामो तथा छोटो दुरीका सवारीसाधन नचलाउन यातायात व्यवसायी तथा निजी क्षेत्रलाई आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवर, जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले तानसेन–बुटवल सडकखण्ड, पाल्पा–गुल्मी सडकखण्ड र कालीगण्डकी करिडोर पहिरोको उच्च जोखिममा रहेकोले यी सडक खण्डमा नियमित निगरानी बढाउने निर्णय गरेको हो।
बैठकपछि जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १८, १९ र २० गते देशका विभिन्न भूभाग लगायत लुम्बिनी प्रदेशमा समेत मध्यम तथा भारी वर्षाको पूर्वानुमान गरेको र बाढी, पहिरो, डुबान एवं भू–क्षय लगायत जोखिमका साथै सडक यातायात समेत प्रभावित हुन सक्ने अवस्थालाई दृष्टिगत गरी सतर्कता अपनाउन तथा पूर्वतयारी र प्रतिकार्यमा जुट्न सम्बन्धित सबैलाई अनुरोध गरेको हो।
यो अवधिमा अत्यन्त जरूरी काम बाहेक घरदेखि बाहिर यात्रा नगरी सुरक्षित रूपमा बस्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
उक्त बैठकले मनसुनजन्य सम्भावित विपदमा सतर्कता अपनाउन तथा पूर्वतयारी र प्रतिकार्यमा जुट्न पनि सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
बाढी–पहिरोको उच्च जोखिम रहेका स्थानमा सतर्कता अपनाउन, नदी तथा खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र उक्त कार्यका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न आग्रह गरिएको छ।
जिल्लास्थित सबै सुरक्षा निकाय, सबै स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, नागरिक समाज, निजी क्षेत्र तथा सरोकारवाला निकायलाई विपद पूर्वतयारीमा जुट्न र आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ।