शनिबार दिउँसो १.५० बजे सम्म देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तल रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार पछिल्लो ६ घन्टामा मधेस र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको र कोशी प्रदेशको धेरै जसो जिल्लाहरूमा हल्का वर्षा मापन भएको महाशाखाले जनाएको छ।
काठमाडौं जिल्लास्थित बागमती जलाधारको जलमपान केन्द्रहरू र कमला जलाधार क्षेत्रको जलमापन केन्द्रहरूको सतह बढ्दो क्रममा रहेको र राति सतर्कता तह पार गर्ने सम्भावना रहेको महाशाखाले बताएको छ।
शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भइ बहने नदीहरूमा बहाब उल्लेख्य बढ्न सुरू हुनेछ।
आजै राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको पनि महाशाखाले बताएको छ।
आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालिगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौंदी, त्रिशूली, पूर्वीराप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने औंल्याइएको छ।
आइतबार रातिदेखि कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाको भनाइ छ।
बाढी र डुवान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता जरूरी रहेको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।