पर्सा जिल्लाको वीरगन्जमा शनिबार १ बजेसम्म ११० मिलिमिटर वर्षा भएको वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले बताएका छन्।
शनिबार सिंहदरबारमा उनले सञ्चारकर्मीहरूलाई अहिलेको अवस्थाबारे जानकारी दिएका हुन्।
उनका अनुसार बाराको कलैयामा पनि १ सय मिलिमिटर वर्षा मापन भएको छ। आसपासका रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्लामा ७५ मिलिमिटर भन्दा बढी वर्षा मापन भइसकेको छ।
पछिल्ला तीन दिनको दौरानमा करिब ४ सय मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण गरिएको र सोही अनुपातमा वर्षा भइरहेको पनि उनले बताए।
आइतबार बेलुकासम्म मध्य क्षेत्रमा वर्षा जारी रहने र सोमबार बिहानसम्मै पूर्वी क्षेत्रमा वर्षा हुनेछ। खोलाहरूमा पानीको बहाव बढ्दै गएकाले रेड अलर्ट जारी गरिएको उनले बताए।
'मनसुन नेपालको पाँच वटा जिल्लाबाट दक्षिणी क्षेत्रबाट प्रवेश गरेको हो। बारा, पर्सा, रौतहट, सर्लाही, चितवनमा भारी वर्षा भइरहेको छ। मकवानपुर, काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ र अन्य आसपासका जिल्लामा यसको फैलावट छ,' उनले भने, 'यसको फैलावट थप विस्तार रूपमा पूर्वी क्षेत्रतर्फ विस्तार भइरहेको छ। सिन्धुली, दोलखा र रामेछापसम्म यसको विस्तार भइसकेको छ। कोशीपारि पनि केही मात्रामा पानी पर्न सुरू भएको छ।'
कमला नदी जलाधारको क्षेत्रमा पनि सतर्कता तह पार गर्ने देखिएको, पूर्वराप्ती नदी जलाधार क्षेत्रमा पनि बाढीको जोखिम रहेको जलविज्ञान विज्ञ पराजुलीले बताए।