नारायणघाट–मुग्लिन सडकमा जोखिम भए पनि सवारी आवागमन रोकिएको छैन।
बिहान तुइनखोलामा झरेको पहिरोका कारण केही बेर अवरूद्ध बनेको सडकमा पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन्।
शुक्रबार रातिदेखिको अविरल वर्षाले यो सडकको यात्रा जोखिमपूर्ण रहेको भन्दै प्रहरी र सडक डिभिजन कार्यालयले यात्रुहरुलाई सचेत गराइरहेका छन्। तर सवारी साधनहरू जोखिम मोलेर चलिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले पृथ्वी राजमार्गको जवाङ खोलामा झरेको पहिरोले समस्या बनाएपछि काठमाडौं जान लागेका सवारी साधनलाई भरतपुरमै रोकिएको बताए। पोखरातर्फ जाने सवारी साधनलाई भने रोकिएको छैन।
तुइनखोलाको सडकमा अहिले पनि माथिबाट ढुंगाहरू खसिरहेका छन्। खसेको ढुंगा त्यहाँ रहेको लोडरले तुरून्तै पन्छाएर सवारी साधन सञ्चालनमा ल्याएको छ।
डिएसपी खनालले राजमार्गको प्रभावबाहेक चितवनमा अन्यत्र समस्या नदेखिएको बताए। केही समस्या भइहाले विपत कार्ययोजना बमोजिमको टोली र सामग्रीहरू तयारी अवस्थामा रहेको उनले जानकारी दिए।