पूर्वी नवलपरासीमा भारी वर्षा भएको छ। त्यहाँ रहेको दुम्कौली केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागका अनुसार पछिल्लो १२ घन्टामा त्यहाँ १४९.६ मिलिमिटर वर्षा भएको छ।
पछिल्लो १२ घन्टामा देशका अधिकांश स्थानमा वर्षा भएको छ। तनहुँको कोटगाउँमा १०३.६, चितवनको रामपुरमा ८०.४, कास्कीको यम्जाकोटमा ८३.४, पश्चिम नवलपरासीको देउरालीमा ८२.४ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै, महोत्तरीको गौशालामा ९८.८ मिलिमिटर वर्षा भएको छ। बिहीबार रातिदेखि बंगालको खाडीमा विकास भएको पानी पार्ने प्रणाली नेपाल प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ। भारत हुँदै अघि बढेको प्रणाली नेपाल भित्रिएर असोज २१ गतेसम्म मनसुन सक्रिय बनाउने सम्भावना रहेको विभागले जनाएको छ।