जसको मन नेपालमा छ
विभिन्न मुलुकका नागरिकले नेपाललाई आफ्नो कर्मथलो बनाएका छन्। आफ्नो जीवनको उर्वर समय नेपालका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेर बिताएका छन्। जीवनको उतरार्द्धसम्म नेपालप्रति उनीहरूको माया अटुट रहन्छ। त्यही भएर उनीहरू विभिन्न बहानामा नेपाल आइरहन्छन्। तिनै विदेशी नागरिकलाई समर्पण गरेर सेतोपाटीले करिब दुई वर्षदेखि 'जसको मन नेपालमा छ' शृंखला लेख्दै आएको छ।
यो शृंखला सुरू गर्ने प्रेरणा हामीले अमेरिकी नागरिक तथा प्रख्यात समाजसेवी ओल्गा मुर्रेले नेपालमा गरेका कामबाट पाएका थियौं।
पेसाले अधिवक्ता उनी ४१ वर्षअघि सन् १९८४ मा पहिलो पटक पदयात्राका लागि नेपाल आएकी थिइन्। पहिलो भ्रमणमै उनलाई नेपाल मन पर्यो। यहाँका मानिसको आत्मीयता र सहृदयताले लोभ्यायो। सबभन्दा बढी त, ग्रामीण क्षेत्रका विपन्न बालबालिकाको अवस्था देखेर नेपालमै काम गर्ने हुटहुटी जाग्यो।
उनी ती बालबालिकाको अवस्था गहिरिएर बुझ्न एकदिन बाल आश्रम पुगिन्। त्यहाँका बालबालिकालाई भेटिन्; उनीहरूसँगै रमाइन्, उनीहरूसँग खेलिन्।
फर्कने बेला बाल आश्रममा आबद्ध मानिसहरूलाई सोधिन्, 'यी केटाकेटी एसएलसी पास गरेपछि कहाँ जान्छन्?'
उनले जबाफ पाइन्, 'कसैले सहयोग गरे भने अगाडि पढछन्, नभए काम गरेर जीविका गुजार्छन्।'
त्यति बेला आश्रममा चार जना केटाकेटी एसएलसीको तयारी गर्दै थिए। ओल्गाले तिनको उच्च शिक्षा निम्ति १६ सय अमेरिकी डलर सहयोग गरिन्।
त्यो १६ सय डलर त सुरूआत मात्र थियो — पर्यटक भएर नेपाल आएकी ओल्गाले त्यस उपरान्त हजारौं गरिब बालबालिकाको शिक्षा, स्वास्थ्य, रोजगारी लगायत क्षेत्रमा योगदान गर्दै आफ्नो पूरा जीवन काटिन्।
जति बेला हामी 'जसको मन नेपालमा छ' शृंखलाको तयारी गर्दै थियौं, त्यति बेला ओल्गा अमेरिकामा थिइन्। त्यसैले उनकै मुखबाट नेपाल अनुभव सुन्ने योजना थाती राख्यौं। तर दु:खको कुरा, त्यो योजना सधैंलाई थाती रह्यो।
हामीले शृंखला सुरू गरेको तीन महिनामै सन् २०२४ फेब्रुअरीमा ओल्गाको निधन भयो।
९८ वर्ष सक्रिय जीवन बिताएर उनी संसारबाट बिदा भइन्।
ओल्गा मुर्रे
भौतिक रूपले हामीबीच नरहे पनि ओल्गाका काम हामीबीच जीवित छन्। उनले स्थापना गरेको संस्था 'ओल्गापुरी' ले आज पनि गाउँ गाउँबाट ल्याइएका विपन्न बालबालिकाको भविष्य सपार्दै आएको छ, उनीहरूको जीवनमा शिक्षाको उज्यालो भर्दै आएको छ।
उनी केही दिनअघि जेन–जी आन्दोलन क्रममा आगजनी र तोडफोडको सिकार भएको युलेन्स स्कुलका एक संस्थापक समेत हुन्।
त्यसैले हामी बिनासंकोच भन्न सक्छौं — ओल्गाको मन नेपालमा थियो, नेपालमा छ र नेपालमै रहनेछ; उनी रहे या नरहे पनि।
उनलाई प्रत्यक्ष भेट्न नपाए पनि उनकै छत्रछायामा हुर्किएका र उनका परोपकारी कामहरू सम्हाल्दै आएका सोम पनेरूमार्फत् हामी उनको कथा भन्दै छौं।
मैले भदौ २३ र २४ को जेन–जी आन्दोलनभन्दा केही दिनअघि मात्र सोमलाई भेटेकी थिएँ। ओल्गाकै नाममा समर्पण गरिएको 'ओल्गापुरी' मा करिब दुई घन्टा उनीसँग कुराकानी गरेकी थिएँ। ओल्गालाई चिन्ने बहानामा मैले त्यस दिन सोमलाई पनि धेरै–थोरै चिनेँ।
हजारौं गरिब बालबालिका र विद्यार्थीको जीवन बदलेकी ओल्गाले सोमको जीवन बदल्न पनि अहम् भूमिका खेलेकी रहिछन्।
तर यो पनि सत्य हो, ओल्गाको भेट सोमसँग नभइदिएको भए विदेशी मूलकी उनलाई नेपालमा काम गर्न गाह्रै हुन्थ्यो।
सन् १९८४ मा पहिलो पटक नेपाल आएर चार जना विद्यार्थी पढाउने जिम्मेवारी लिएकी ओल्गा अर्को वर्ष पदयात्राका लागि फेरि नेपाल आइन्। हेलम्बुतिर हिँड्दै गर्दा उनको एउटा खुट्टा भाँच्चियो।
उनले साता दिनसम्म उनले डाक्टरी उपचार पाइनन्। हेलम्बुका शेर्पाहरूले आफ्नै स्रोतसाधनमा उनको खुट्टा जोडजाड पारे र डोकोमा राखेर काठमाडौंको जोरपाटी अस्पताल ल्याइपुर्याए।
यो घटना ओल्गाको व्यक्तिगत जीवनमा मात्र होइन, नेपालसँग उनको लामो सम्बन्धमा पनि 'टर्निङ प्वाइन्ट' बन्यो।
जोरपाटी अस्पतालमा ओल्गाले अपांगता भएका थुप्रै बालबालिका देखिन्।
जिज्ञासु ओल्गाले ती बालबालिकाबारे डाक्टरसँग सोधिन्, 'यी बच्चाहरू उपचारपछि घर फर्कन्छन् कि फर्कँदैनन्?'
उनले जबाफ पाइन्, 'प्रायः बच्चाहरू फर्कँदैनन्, किनभने उनीहरू बैसाखी वा ह्विलचेयरको सहायतामा हिँड्नुपर्छ। उनीहरूसँग त्यो आफै किन्ने क्षमता छैन। त्यसैले दाताको सहयोग नपाउन्जेल यहीँ बस्छन्।'
ओल्गाले ती बालबालिकाको अवस्था देखेर आँखा चिम्लिन सकिनन्। उनले तिनलाई पढाउने जिम्मा उठाइन्। बिस्तारै छात्रवृत्ति रकम पनि बढाउँदै लगिन्।
यसरी अवसरबाट वञ्चित नेपाली बालबालिकाको शिक्षादीक्षामा काम सुरू गरेकी ओल्गाको भेट सन् १९८९ मा सोम पनेरूसँग भयो।
गोरखाको ग्रामीण भेगमा जन्मिएका सोम पढाइमा अब्बल थिए। त्यही भएर छात्रवृत्तिमा पोखराको गण्डकी बोर्डिङ स्कुलमा पढ्ने अवसर पाए। एसएलसी दिएपछि उनी आइएससी पढ्न काठमाडौंको अस्कल कलेज आए। तर बिएससी पढ्ने बेला घरपरिवारको जिम्मेवारीले उनलाई यस्तरी थिच्यो, त्यसबाट उक्सिन आफ्नो पढाइ नै छाड्नुपर्यो।
'कलेजको पढाइ छाडेर म ट्युसन पढाउने र त्यसबाट आएको पैसाले भाइबहिनी पढाउन थालेँ। त्यतिले नपुगेर गोरखाको स्कुलमा पढाउन पनि गएँ,' सोमले भने, 'म त्यहाँ विज्ञान विषय पढाउँथेँ।'
सोम पनेरू
यहाँनिर सोमको जिन्दगीमा एउटा संयोग जुर्यो।
उनी गोरखाको स्कुलमा पढ्दा एक जना विदेशी महिला अमेरिकी सहयोगमा सञ्चालित 'पिस कोर' स्वयंसेविकाका रूपमा पढाउन आएकी थिइन्। ती महिलाले सोमलाई पनि कक्षा ६ र ७ मा पढाएकी थिइन्।
संयोग कस्तो पर्यो भने, जब सोम पारिवारिक जिम्मेवारीले थिचेर गोरखामा पढाउन गएका थिए, त्यही बेला ती अमेरिकी महिला पनि आफूले पढाएका विद्यार्थी भेट्न नेपाल आएकी रहिछन्।
त्यसै क्रममा उनले अन्य विद्यार्थीमार्फत सोमलाई आफूसँग भेट्न सन्देश पठाइन्।
पछि सोमलाई भेट्नेबित्तिकै भनिन्, 'पढाइ किन छाडेको सिल्ली बोय (मूर्ख केटा)?'
सोमले आफ्नो विवशता सुनाए।
त्यो सुनेर उनले सोमको पढाइमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् र आर्थिक स्रोतको निम्ति ओल्गा मुर्रेसँग भेट गराइदिइन्।
ओल्गाकै सहयोगमा सोमले आफ्नो छुटेको पढाइलाई निरन्तरता दिए।
सन् १९९२ मा उनले पहिलो श्रेणीमा बिएससी पास गरे र फेरि शिक्षण पेसामै फर्किए। कहिले सोलुखुम्बु पुगे, कहिले गोरखा।
सन् १९९५ जनवरीको एकदिन ओल्गाले सोमलाई सन्देश पठाइन्, 'मैले आफ्नो सामाजिक कार्यको व्यवस्थापन सम्हाल्ने जिम्मा तिमीलाई दिने विचार गरेको छु। तिमीलाई मन छ भने हामी सँगै काम गरौं।'
ओल्गाको प्रस्तावमा सोमले कुनै नाइँनास्ती गरेनन्।
उनलाई पनि सधैं नै बालबालिकाको शिक्षामा काम गर्ने मन थियो। त्यसमाथि आफ्नो पढाइ अघि बढाउन साथ दिएकी ओल्गाको कुरा उनी कसरी टार्थे!
त्यति बेला ओल्गाले आफ्नो परोपकारी कामको जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरेका एक मात्र कर्मचारी सोम नै थिए।
'मैले काम गर्न थालेपछि उहाँले अलि बढी स्वतन्त्र भएर नेपालमा सहयोग जुटाउने पैसा संकलन गर्न पाउनुभयो। उहाँ दाताहरूसँग भेटेर आर्थिक सहयोग जुटाउनु हुन्थ्यो, म उहाँले सुरू गरेका नेपालका सबै कार्यक्रम रेखदेख गर्थेँ। उहाँसँग काम गरेयता मैले बाहिर कतै पनि जागिरका लागि आवेदन भरेको छैन। मैले आफ्नो बायोडाटा अपडेट पनि गरेको छैन,' ३० वर्ष ओल्गासँग काम गरेका सोमले भने।
सुरू सुरूमा ओल्गाले आफ्नै कमाइ बालबालिकाको छात्रवृत्तिमा लगानी गरेकी थिइन्। बिस्तारै उनका साथीहरू र अन्य दाताले पनि सहयोग गर्न थाले।
आर्थिक सहयोग जुट्दै गएपछि उनले अमेरिकाको क्यालिफोर्नियामा गैरनाफामूलक च्यारिटी 'नेप्लिज युथ अपर्च्युनिटी फाउन्डेसन' नामक संस्था दर्ता गराइन्। अहिले त्यसको नाम 'नेपाल युथ फाउन्डेसन' छ।
त्यसपछि सन् १९९२ मा नेपालको समाज कल्याण परिषदसँग स्वीकृति लिएर उनले संस्थागत रूपमा काम थालिन्। यसबाट सामाजिक कामका लागि पैसा उठाउन उनलाई झनै सजिलो भयो।
'फाउन्डेसन बनेपछि उहाँ ६ महिना अमेरिका र ६ महिना नेपाल बस्न थाल्नुभयो। उहाँ अमेरिकाको सर्वोच्च अदालतमा अधिवक्ता हुनुहुन्थ्यो। ३७ वर्ष काम गरेपछि अवकाश लिनुभयो,' सोमले भने, 'अवकाशपछि त उहाँ पूर्णकालीन रूपमा नेपालकै काममा लाग्नुभयो।'

जति बेला सोमले ओल्गासँग काम गर्न थालेका थिए, त्यति बेलासम्म ओल्गाले ललितपुरको जावलाखेलमा बालगृह खोलिसकेकी थिइन्। त्यहाँ परिवारविहीन, अपांगता भएका, जेलबाट छुटेकादेखि सडकमा मागेर हिँड्ने २५–३० जना बालबालिका बस्थे।
जावलाखेलमा भएकाले त्यो बालगृहलाई उनीहरूले 'जे–हाउस' नाम दिएका थिए।
सोम जोडिएपछि त्यो बालगृह ललितपुरकै कुसुन्तीमा सर्यो। केटाकेटी ठूला भएकाले केटा र केटीलाई बस्न घर छुट्याइयो।
कुसुन्ती सरेपछि उनीहरूले त्यसलाई 'के–हाउस' भन्न थाले।
सोमका अनुसार त्यति बेला काठमाडौं लगायत मुख्य सहरहरूमा करिब १० हजार सडक बालबालिका थिए। आमाबुबाले १०–१२ वर्ष उमेरमै आफ्ना छोराछोरीलाई कमाइ गर्न सहर पठाउने चलन त थियो नै, त्यसबाहेक कारखानाबाट बालश्रम हटाउने अभियानका कारण पनि सडक बालबालिका बढेका थिए।
ती बालबालिकालाई उद्धार गरेर मात्र समस्या सामाधान हुन्न भन्ने सोमले बुझेका थिए। त्यसैले सन् १९९६ तिर उनी पुनर्वास योजनासहित गाउँ–गाउँ गए।
पहिलो चरणमा धादिङ गए। त्यहाँ १३–१४ वर्ष उमेरमै छोरीहरूलाई विवाह गरेर पठाइदिने चलनविरूद्ध काम गरे र केही हदसम्म त्यसलाई निर्मूल पनि पारे। काठमाडौंमा सडक जिन्दगी बिताइरहेका धादिङका केही बालबालिकालाई फिर्ता पनि ल्याए।
'हामीले ती बालबालिकालाई छात्रवृत्ति दियौं। झोला, लुगा सबै दियौं। स्कुलले कक्षामा शिक्षक छैन भन्यो, शिक्षक पनि जुटाइदियौं। कतै छानो, कतै कक्षाकोठा त कतै फर्निचर थपिदियौं। शिक्षकलाई तालिम दियौं। पढाउने सामग्री दियौं। त्यतिले नपुगेर धादिङमा एउटा नमूना स्कुल खोल्यौं,' सोमले भने।
यसरी सोम गाउँ–गाउँ गएर समस्या पत्ता लगाउँथे र त्यो समस्या सुल्झाउन अभियान लिएर जान्थे। यसमा ओल्गाले उनलाई हिम्मत र आर्थिक सहयोग जुटाइदिन्थिन्।
उनीहरूले 'गाउँ छात्रवृत्ति' भनेर धादिङ, गोरखा, पर्वत, पाल्पा, स्याङ्जा, काभ्रे लगायत ठाउँमा विपन्न र दलित विद्यार्थीहरूलाई छात्रवृत्ति दिए।
त्यसैबीच सन् १९९९ डिसेम्बरतिर सोमलाई पत्रिकामा छापिएको एउटा समाचारले झसंग बनायो। त्यो समाचारमा माघ पर्व (माघे संक्रान्ति) का दिन दाङका थारू छोरीहरू बिक्री हुने उल्लेख थियो।
सुरूमा त उनले पत्याएनन्। त्यो समाचारबारे छानबिन गर्न आफै दाङ पुगे।
दाङ पुगेपछि सोमले आफ्नै आँखाले छोरीहरू किनबेच हुने गरेको देखे।
उनका अनुसार त्यति बेला प्रत्येक घरबाट एउटी छोरीलाई बाहिर काम गर्न पठाउने चलन थियो, जसलाई 'कमलरिया' प्रथा भनिन्थ्यो। बुबाहरू बन्धुवा मजदुर (कमैया) थिए भने आमाहरू साहुकहाँ भान्सेका रूपमा काम गर्थे।
'मैले थाहा पाएअनुसार पूरा परिवार नै बन्धुवा मजदुर थिए। छोरीहरूलाई कमलरीका रूपमा बेच्ने काम भने माघ पर्वका दिन हुने रहेछ,' उनले भने।
त्यो थाहा पाएपछि सोमले त्यहाँका थारू आमाहरूलाई सोधे, 'तपाईंहरूले छोरीलाई किन यसरी पठाउनुभएको?'
उनीहरूले यसका तीन कारण बताए —
पहिलो, छोरीहरू काम गर्न गएपछि उनीहरूले कमाएको पैसाले घर धान्न सजिलो हुन्छ।
दोस्रो, घरमा खाने मान्छे कम हुन्छ।
तेस्रो, ती मान्छेले छोरीलाई पढाइदिने, लुगा किनिदिने लगायतका अश्वासन दिएका हुन्छन्।
सोमले आफूले भेटेजति आमाहरूलाई एउटै प्रश्न सोधे, 'तपाईं पनि पहिले कमलरी हुनुहुन्थ्यो?'
उनले कमलरी नभएका एउटा पनि आमा फेला पारेनन्।

एक्काइसौं शताब्दीमा पनि नाबालिग छोरीहरू भेडाबाख्रा जसरी किनबेच हुने गरेको देखेर सोम निकै मर्माहत भए।
उनले यो कुरा ओल्गालाई सुनाए।
त्यसपछि उनीहरूको अभियान ती कमलरीलाई घर फिर्ता गर्नमा केन्द्रित भयो। ओल्गाले त्यसका लागि आर्थिक सहयोग जुटाउन पहल थालिन्।
सोमले घर–घर गएर कमलरीका आमाबुबालाई सोध्न थाले, 'तपाईंहरूका छोरीहरूले कमलरी भएर कति पैसा ल्याउँछन्? त्यो पैसा हामी सहयोग गरौंला।'
जबाफमा उनीहरूले महिनाको तीन–चार हजार रूपैयाँ ल्याउने बताए।
सोमले जति पनि आमाबुबालाई सोधे, उनीहरूले पैसाभन्दा एउटा सुँगुरको पाठो दिन आग्रह गरे। त्यो सुँगुरले भविष्यमा पनि कमाइको बाटो दिने उनीहरूको तर्क थियो।
'हामीले उनीहरूको इच्छाअनुसार एक छोरी बराबर एक सुँगुरको पाठो दिने फर्मुला अपनायौं। यसरी बेचिएकी छोरीहरूलाई घर फिर्ता ल्याएपछि उनीहरूको पढाइ खर्च हाम्रो फाउन्डेसनले व्यवस्था गर्यो,' सोमले भने, 'कमलरीबाट फर्किएका छोरीहरू स्कुल जान थाले। उनीहरूलाई चाहिने लुगा, लुगा धुने सामग्री, पढ्ने बत्ती, टुकी, मट्टीतेल, ब्रस, मञ्जन सबै हामीले नै दियौं।'
सुरूआतमा उनीहरूले ३७ जना छोरीहरूलाई उद्धार गरेर ल्याएका दिए। त्यो देखेर अरूले पनि सहयोगको अपिल गर्न थाले।
सन् २००१ सम्म उनीहरू १५० जना कमलरी छोरी फिर्ता ल्याउन सफल भए। त्यसको अर्को वर्ष ३५० जनालाई घर फर्काए।
यसबाट कमलरी मुक्ति अभियान नै सुरू भयो।
'त्यति बेला ओल्गा दिदीले 'वन गर्ल हन्ड्रेड डलर' (एक छोरी बराबर सय डलर) भनेर साथीहरूसँग सहयोगको आह्वान गर्नुभएको थियो,' सोमले भने।
करिब ४–५ सय कमलरी छोरीलाई घर फर्काएपछि सोमले यस्ता कमलरी कति छन् भनेर सर्वेक्षण गरे। जति बुझ्दै गए, उनलाई अरिंगालको गोलोमा छिरेजस्तो भयो। उनले दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत ठाउँमा गरेको सर्वेक्षणअनुसार करिब १७ हजार कमलरी थिए।
'कमलरीहरू जतासुकै थिए। उनीहरू फर्किएपछि पनि समस्या थुप्रै थियो। स्कुलहरू भरिन थालेका थिए। स्कुलका शिक्षकले गुनासो गर्न थालेपछि हामीले फेरि कक्षाकोठादेखि फर्निचर र शिक्षक थप्न सहयोग गर्यौं। एउटा समस्या सामाधान गर्नेबित्तिकै अर्को समस्या आउँथ्यो,' उनले भने, 'जिल्लाको सिडिओकहाँ जाँदा तिमीहरू एनजिओले खडा गरेको समस्या आफै समाधान गर भन्थे।'
नेपाल युथ फाउन्डेसनले यस्ता हरेक समस्यासँग जुझ्दै, सामाधान खोज्दै आफ्नो काम अघि बढायो।
सन् २००४ सम्ममा उनीहरूले करिब सात हजार कमलरीलाई घर फिर्ता ल्याए। त्यसपछि सोमले बाल अधिकार रक्षाका लागि सर्वोच्चमा मुद्दा पनि हाले।
'सन् २००९ मा बल्ल उनीहरूका लागि भनेर सरकारले ९ करोड रूपैयाँ छुट्यायो। त्यति बेलासम्म कमलरी पठाउन हुन्न भन्ने जनचेतना फैलिइसकेको थियो। हरेक माघे संक्रान्तिमा त्यस विषयमा नारा लगाउन सुरू भएको थियो,' सोमले भने, 'जब संसदले नै कमलरी प्रथा उन्मूलन गर्नुपर्छ भन्यो, त्यति बेलासम्म हामीले १३ हजार कमलरीलाई घर फिर्ता गरिसकेका थियौं। पछि प्रहरी प्रशासन आएर निरीक्षण गर्न थाल्यो। अनि हामीले उनीहरूलाई फिर्ता गर्न गइरहनुपरेन।'
कमलरीबाट फिर्ता भएका कतिपय महिलालाई नेपाल युथ फाउन्डेसनले साक्षरता तालिम दियो। कतिलाई सीपमूलक तालिम दियो। ४२ वटा सहकारी पनि उनीहरूकै सहयोगमा अहिलेसम्म सञ्चालित छन्।
'सरकारले पूर्वकमलरी बहिनीहरूलाई स्नातकोत्तरसम्म पढाइरहेको छ। हामी उनीहरूलाई सीपमूलक तालिम दिइरहेका छौं,' सोमले भने।
सन् २०२० देखि नेपाल युथ फाउन्डेसन कमलरी अभियानबाट बाहिरियो।
त्यति बेला कमलरीसँगै फाउन्डेसनले अर्को उल्लेखनीय काम गरिरहेको थियो — कुपोषित बालबालिकालाई पुनर्स्थापना गर्ने।
ओल्गा मुर्रेको एउटा सिद्धान्त थियो — दुःख पाएका सबैलाई सहयोग गर्ने, औषधि चाहिएकालाई औषधि दिने, बाटो खर्च चाहिएकालाई खर्च दिने।
ओल्गाको यो आदर्श नै फाउन्डेसनको मुख्य आधार थियो। त्यही भएर सहयोग चाहनेलाई फाउन्डेसन खोजी खोजी सहयोग गर्न पुग्थ्यो।
त्यसै क्रममा बालबालिकाको अवस्था बुझ्न कान्ति बाल अस्पताल गइरहँदा सोमले त्यहाँ कुपोषित बालबालिका धेरै देखे। ती बालबालिका उपचार गर्न आएको केही दिनमै घर फर्कन्थे। राम्ररी तंग्रिएका पनि हुन्थेनन्। गाउँ गएको केही महिनामै कोही फेरि अस्पताल भर्ना हुन आउँथे, कोही कहिल्यै नआउने गरी संसारबाट बिदा हुन्थे।
डाक्टरहरूसँग यसको जबाफ थियो, 'उनीहरूलाई दुई महिना अस्पतालमा राखेर साध्य लाग्दैन।'
त्यति बेला राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को तथ्यांकअनुसार पाँच वर्षमुनिका ५५ प्रतिशत बालबालिका कुपोषित थिए। फाउन्डेसनले त्यो थाहा पाएपछि सन् १९९८ मा सानो फ्ल्याट भाडामा लिएर पोषण पुनर्स्थापना केन्द्र खोल्यो। ८–१० वटा बेड भएको त्यस केन्द्रमा कान्ति बाल अस्पतालबाट उपचार लिइरहेका बालबालिका आउन थाले। उनीहरू त्यहाँबाट तन्दरूस्त भएपछि आफ्नो घर फर्कन्थे।
'हामीले यो कामको आवश्यकता महसुस गरेर अर्को ठाउँमा २०–२१ बेड अट्ने घर नै बनायौं। नेपालका विभिन्न ठाउँमा पुनर्स्थापना केन्द्रहरू खोल्यौं,' सोमले भने, 'सुरूमा नेपालगन्जमा एउटा नमूना भवन बनायौं। त्यहाँ तीन वर्ष हामी आफै खटिएर काम गर्ने र चौथो वर्ष सरकारको तर्फबाट काम गर्ने कुरा भयो। त्यसको पाँचौं वर्षमा आधा–आधा सेयर र छैठौं वर्षमा हामीले पूर्ण जिम्मेवारी सरकारलाई सुम्पिने कुरा थियो।'
यस्तै रणनीति प्रयोग गरेर उनीहरूले विराटनगर, जनकपुर, भद्रपुर, वीरगन्ज, राजविराज, धनगढी, सुर्खेत, कञ्चनपुर, बागलुङ, पोखरा लगायत १६ ठाउँमा पोषण पुनर्स्थापना केन्द्र खोले।
'हामीले जे काम गरेका थियौं, त्यसलाई स्वास्थ्य मन्त्रालयले सराहना पनि गर्यो। अहिले हामी काठमाडौंको केन्द्र मात्र सञ्चालन गर्छौं। बाँकी १६ वटा सरकारलाई हस्तान्तरण गरिसकेका छौं,' सोमले भने, 'हामीले बनाएकै नमूनामा सरकारले थप ९ वटा पुनर्स्थापना केन्द्र खोलेको छ।'

नेपाल युथ फाउन्डेसनले गरेका यस्ता धेरै काम गैरनाफामूलक संस्थाहरूका लागि उदाहरण बनेका छन्।
यस्तै उदाहरण ओल्गाले संस्थाको जिम्मेवारी हस्तान्तरणमा पनि देखाइन्।
ओल्गाले आफ्नो निधन हुनुभन्दा १२ वर्षअघि नै संस्थाको सम्पूर्ण जिम्मेवारी सोम पनेरूलाई हस्तान्तरण गरेकी थिइन्।
यसरी २२ वर्ष ओल्गाले चलाएको फाउन्डेसनको अध्यक्षको भूमिका सोमको हातमा आएको थियो। यो भनेको संस्था चलाउन आर्थिक सहायता संकलन गर्ने जिम्मेवारी पनि थियो।
'उहाँले कसरी पैसा उठाउने, कसरी मान्छेहरू भेट्ने, कसरी उनीहरूलाई प्रस्तुति दिने, चिठी कसरी लेख्ने, भेटघाट कसरी गर्ने भनेर तालिम दिनुभएको थियो,' सोमले भने, 'ओल्गाले १२ वर्षअघि नै आफ्नो भूमिका मलाई सुम्पनुले उहाँ कति बुद्धिमानी र दुरदर्शी हुनुहुन्थ्यो भन्ने देखाउँछ।'
सोमले नेतृत्व सम्हालेको एक वर्षमै सन् २०१३ मा एक दाताले फाउन्डेसनमा लगानी गर्न प्रस्ताव राख्यो।
ती दाताले सोधे, 'तपाईंहरूसँग कुनै ठूलो योजना छ भने हामीसँग केही रकम छ। त्यो रकम तपाईंहरूलाई लगानी गर्न चाहन्छौं।'
त्यति बेलासम्म फाउन्डेसनले ठाउँ–ठाउँमा बालगृह चलाउन घर भाडामा लिएको थियो। कहिले यता, कहिले उता सर्ने भइरहन्थ्यो। यो झमेलाबाट मुक्ति पाउन उनीहरूले एक स्थायी बालगृह निर्माणको प्रस्ताव राखे।
ती दाता उनीहरूको प्रस्तावमा सहमत भए।
त्यही पैसाबाट उनीहरूले जग्गा किने। घर बनाए। कतै बच्चाहरू बस्ने ठाउँ बनाए, कतै व्यावसायिक तालिम भवन, अनि कतै पुस्तकालय।
यी सबै संरचना निर्माणपछि बाँकी रहेको जग्गामा अर्गानिक तरकारी खेती र गाईपालन गरियो।
र, उनीहरूले यो ठाउँको नाम राखे — ओल्गापुरी।
यहाँ अहिले ८० जना विद्यार्थी छन्, जो नजिकैका विभिन्न स्कुलमा छात्रवृत्तिमा पढ्छन्। तीमध्ये २२ जना त युलेन्स स्कुलमा छात्रवृत्तिमा पढिरहेका छन्। उनीहरूको बसाइ, खानपिन र अरू गतिविधि ओल्गापुरीमै हुन्छ।
ओल्गापुरीमा १० महिनादेखिका बालबालिकाले आश्रय पाएका छन्। ठूला बालबालिका पनि थुप्रै छन्। सामान्यतया आमाबुबा र नातागोता कोही नभएका बालबालिका यहाँ ल्याइन्छ। जसलाई आफ्ना आफन्तसँग बस्न असुरक्षा छ, उनीहरूलाई पनि ल्याइन्छ। त्यही भएर ओल्गापुरीमा अनाथ बालबालिका मात्र छैनन्।
यी बालबालिका १२ कक्षा पढ्दासम्म ओलगापुरीमा बस्छन्। त्यसपछि उनीहरूलाई स्नातक भर्ना हुन संस्थाले नै बाटो देखाइदिन्छ। त्यसमा लाग्ने खर्च, बस्ने खर्च, स्वास्थ्य खर्चदेखि पकेट खर्च पनि संस्थाले नै व्यहोर्छ।
यसरी स्नातकसम्म उनीहरूले संस्थाकै सहयोगमा शिक्षा पाउँछन्। पढाइमा राम्रो गर्न नसकेका बालबालिकाले व्यावसायिक तालिम पनि लिन्छन्।

'हामी यहाँ आउने बालबालिकालाई आफ्नै खुट्टामा उभिएर, कमाएर, स्वतन्त्र ढंगले बाँच्न सक्ने बनाएर बिदा गर्छौं। उनीहरूको बसाइ लामो अवधिको हुने भएकाले बालबालिका ल्याउँदा हामी धेरै कुरा ख्याल गर्छौं,' सोमले भने, 'एकदम विपन्न र सहाराको खाँचो भएका बालबालिका मात्र हामी ल्याउँछौं। त्यसका लागि हाम्रो आफ्नै 'गेट किपिङ' प्रणाली छ। जसरी गेटमा छिर्नुअघि सुरक्षाकर्मीले केरकार गर्नुहुन्छ, त्यसरी नै हामी धेरै केरकार गरेर बालबालिका छनौट गर्छौं, ताकि गलत बच्चा आइनपुगोस्।'
उनले अगाडि भने, 'यहाँ विभिन्न ठाउँको सिफारिस पनि आइरहेको हुन्छ, तर मापदण्ड पूरा नगर्ने बालबालिकालाई हामी कुनै हालतमा लिँदैनौं।'
ओल्गापुरीमा भर्ना हुने बालबालिका संख्या अधिकतम ८० हो। ती बालबालिका ओल्गा मुर्रेलाई 'ममी' भन्थे। उनी हरेक वर्ष यहाँका बालबालिका भेट्न आउँथिन्।
यी बालबालिकाको वास्तविक जन्मदिन थाहा नभएकाले सबैको सामूहिक जन्मदिन मनाउने चलन छ। सबै समुदायका बालबालिका भएकाले सबै समुदायको चाडपर्व उत्तिकै धुमधामका साथ मनाउने चलन पनि छ। यहाँ न दसैं–तिहार छुट्छ, न ल्होसार वा उभौली। न क्रिसमस छुट्छ, न इद।
ओल्गापुरीमा ल्याइएका नयाँ बालबालिकाले अब आफूलाई नयाँ जीवन दिने ओल्गा मुर्रेलाई भौतिक रूपमा देख्न पाउने छैनन्। तर यी बालबालिकाको मनमा उनीप्रतिको आस्था कम छैन।
भौतिक रूपमा नदेखे पनि आफूलाई नयाँ जीवन दिने ती महिलाको मुहार देख्न पाऊन् भनेर गत वर्ष अक्टोबरमा यहाँ ओल्गा मुर्रेको प्रतिमा बनाइएको छ।
आफ्नो जीवनको आखिरी समयमा ओल्गा मुसहर बस्तीमा गएकी थिइन्, यो प्रतिमामा त्यति बेलाकै आकृति झल्किन्छ।
ओल्गाको यो प्रतिमा आकृतिसँग फाउन्डेसनले तीन वर्षअघि दलितहरूका लागि सुरू गरेको साक्षरता अभियानको सन्दर्भ जोडिन्छ।
उक्त अभियानअन्तर्गत ३१ जना दलित विद्यार्थी यति बेला कानुन विषय पढिरहेका छन्। तराईको मुसहर बस्तीमा स्कुल स्थापनादेखि 'लर्निङ सेन्टर' को व्यवस्था पनि गरिएको छ। महिलाहरूका लागि साक्षरता कक्षा चलिरहेको छ। विद्यार्थीहरूले व्यावसायिक तालिम पनि पाइरहेका छन्।
'हामीले सप्तरीका ९४५ मुसहर घरमा सर्वेक्षण गरेर काम थालेका थियौं। त्यही सिलसिलामा सप्तरीको मुसहर बस्ती जाँदा ओल्गा पनि जानुभएको थियो। त्यही बेला खिचेको तस्बिरलाई हामीले प्रतिमाका रूपमा राखेका हौं,' सोमले भने।
सोमका अनुसार ओल्गालाई उनले सधैं सक्रिय देखे, खुसी देखे। र, अरूलाई पनि उनले सधैं खुसी राखे।
'उहाँसँग मैले धेरै कुरा सिकेँ। त्यसमा सबभन्दा महत्त्वपूर्ण कुरा भनेको, अरू कसैलाई खुसी बाँड्नु छ भने पहिले आफू खुसी हुनुपर्छ। आफू बेखुस मान्छेले अरूलाई खुसी बाँड्न सक्दैन,' सोमले भने, 'उहाँले आफ्नो जीवन एकदम आनन्दले बिताउनुभयो। आफूलाई मन लागेका काम गर्नुभयो। खुसी रहनुभयो, अरूलाई खुसी दिनुभयो।'
उनले अगाडि भने, 'उहाँसँग भेटेको कोही पनि मानिस खाली हात फर्कँदैनथ्यो। सामान माग्नेले सामान पाउँथ्यो, सल्लाह माग्नेले सल्लाह पाउँथ्यो। अरू केही पाएन भने माया पाउँथ्यो। र, खुसी भएर जान्थ्यो। उहाँ कोठामा बस्दा कोठा नै उज्यालो लाग्थ्यो। कोठाको माहोल नै फरक हुन्थ्यो। उहाँ जस्तो मान्छेसँग पनि संगत गर्न जान्नुहुन्थ्यो। दीनदुःखीदेखि विश्व राजनीति जानेका र धनीमानीसँग पनि कुरा गर्न जान्नुहुन्थ्यो।'
'हेर्दा सानो र होचो कदको भए पनि उहाँ अपार ऊर्जाकी धनी हुनुहुन्थ्यो।'
ओल्गाको छत्रछायामा हुर्किएका सोममा पनि त्यही ऊर्जा देख्न सकिन्छ। उनले त्यही ऊर्जाले ओल्गापुरी र नेपाल युथ फाउन्डेसन चलाइरहेका छन्। त्यही ऊर्जाले उनी संस्थापक अध्यक्ष रहेको युलेन्स स्कुल नेपालकै सबभन्दा स्तरीय स्कुल बनेको थियो।
युलेन्स स्कुलको स्थापनामा सोम र ओल्गा सँगसँगै बेल्जियन दम्पती गाई युलेन्स र मिरियम युलेन्स पनि जोडिएका थिए। विपन्न विद्यार्थीको शिक्षादीक्षामा सहयोग गर्न बालगृह चलाइरहेका यी परोपकारी दम्पती नेपालमा विश्वस्तरीय स्कुल खोल्न चाहन्थे। त्यही सिलसिलामा उनीहरूको भेट सोम पनेरूसँग भयो र सोममार्फत् ओल्गासँग सम्पर्क भयो।
त्यसपछि यी चारै जना मिलेर धनी विद्यार्थीबाट शुल्क उठाउँदै गरिब विद्यार्थीलाई नि:शुल्क पढाउने मोडलमा युलेन्स स्कुल चलाएका थिए।
युलेन्स नाफा नकमाउने कम्पनीका रूपमा खुलेको स्कुल हो। यसरी खुलेको कम्पनीमा कसैको व्यक्तिगत लगानी हुँदैन। कोही सेयरधनी हुँदैन। त्यसैले यो स्कुलको मालिक कोही छैन। र, यसको नाफा कसैले लैजान पाउँदैन।
अनि यो स्कुलले धनीका केटाकेटी मात्र पढाउँदैन। बरू धनीहरूसँग शुल्क लिएर त्यही पैसाबाट सयौं गरिब विद्यार्थीलाई नि:शुल्क पढाउँछ। जे–जति कमाइ हुन्छ, स्कुलमै लगानी गर्छ। विद्यार्थीको पठनपाठनमै खर्च गर्छ। सम्पन्न र विपन्न दुवै परिवारका विद्यार्थीलाई एकै कक्षामा राखेर विश्वस्तरीय शिक्षा दिन्छ।
यति मात्र होइन, नाफा वितरण नगर्ने उद्देश्यले खोलिएको यो स्कुल भविष्यमा बन्द भए यसको स्वामित्वमा रहेको सबै सम्पत्ति राज्यकै हुन्छ।
त्यही युलेन्स स्कुल आज भ्रमको आगोमा जलेर खरानी भएको छ।
ओल्गा मुर्रे बितिसकिन्, उनले यो विध्वंश आफ्नै आँखाले देख्नुपरेन। गाई युलेन्स र मिरियम युलेन्स पनि हामीबीच छैनन्। मिरियमको निधन सन् २०२३ मा भएको थियो भने गाई युलेन्सको निधन भएको त ६ महिना मात्र भयो।
गरिब नेपाली बालबालिकालाई शिक्षा दिन, उनीहरूको भविष्य सपार्न, दु:खी जीवनमा थोरै भए पनि खुसी छर्न आफ्नो सारा जीवन समर्पण गरेका ओल्गा र युलेन्स दम्पतीले कम्तिमा यो देख्नुपरेन — नेपालीहरूले उनीहरूको जीवनभरको योगदानको कुनै कदर गरेनन्!
यो पनि पढ्नुहोस्:
***



