सिराहा गोलबजार नगरपालिका-१३ का १६ वर्षीय अभिषेक सिंहको नजिककै आफन्तले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
हत्या गर्ने व्यक्ति आफन्त पर्नुको साथसाथै एउटै उमेर समूहका भएकाले साथी पनि भएको अनुसन्धानमा खुलेको हो।
मंगलबार बिहान घर नजिकै अभिषेकको शव भेटिएको थियो। उनको शव भेटिएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले यस घटनालाई अनुसन्धान अगाडि बढाएको थियो।
अनुसन्धानको क्रममा उनको आफन्तले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिराहाको एसपी अनन्तराज शर्माले जानकारी दिए।
'हत्या गर्ने व्यक्ति पनि आफन्तसँगै साथी पनि रहेछन्,' उनले भने, 'एउटै उमेर समूहका उनीहरूको एकआपसमा झगडा भइरहने गरेको पनि अनुसन्धानमा खुलेको छ।'
उनका अनुसार हत्याका क्रममा भेटिएका प्रमाणहरूको अन्तिम चेकजाँच गर्नुपर्ने भएकाले घटनाबारे सार्वजनिक नगरिएको हो। भोलि (शुक्रबार) सार्वजनिक गर्ने प्रहरीको तयारी छ।
अनुसन्धानको क्रममा उनीहरू आइतबार दिउँसो गाउँको मेला हेर्न पनि सँगै गएका थिए। त्यही साँझ खाना खाएर साढे ८ बजेतिर घरबाट निस्किएका थिए। त्यही रात हत्या गरेको प्रहरीलाई बताएका छन्।
'आइतबार राति नै हत्या गरेको स्वीकार गरेका छन्। आपसी विवाद हुँदा हत्या गरेको बताएका छन्,' एसपी शर्माले भने, 'हत्या आरोपी पनि बालक भएकाले हामीले परिचय गोप्य राखेका छौं।'
हत्या गरेपछि अभिषेकको मोबाइलबाट अपहरण गरिएको भन्दै ५ करोड रूपैयाँ मागेर उनको आमालाई मेसेज गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।
उक्त म्यासेज सोमबार बिहान आएको थियो। मोबाइलहरू पनि बरामद गरिएको छ।
शव भेटिएपछि प्रहरीले थप अनुसन्धान गर्ने क्रममा नजिकै खाल्डो खनिएको भेटेको थियो। त्यसकारण प्रहरीले नजिककै आफन्त र छिमेकीहरूलाई सोधपुछ गर्दा बालकलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
यो पनि :
अपहरणकारीले हिन्दीमा पठाएका थिए मेसेज, दिएका थिए यस्तो धम्की
अपहरणपछि हत्या गरिएका अभिषेककी आमाको 'इमो' मा आएको थियो फिरौतीको मेसेज
अपहरणपछि हत्या भएको घटनामा तालिम प्राप्त कुकुर परिचालन
अपहरणपछि मागिएको थियो ५ करोड फिरौती, बालक मृत भेटिएपछि आफन्तहरूसँग सोधपुछ