तुइन खोलाको पहिरो पन्छाउन पर्सिसम्म लाग्नसक्ने फिल्डमा खटिएका इन्जिनियरहरूले बताएका छन्।
यहाँ मंगलबार साझ ५ बजे ठूलो पहिरो खसेको थियो।
गत शुक्रबार राति ७ बजे खसेको पहिरोले नारायणघाट-मुग्लिन सडक ४५ घण्टा सडक बन्द गरेको थियो। पहिरो पन्छाएर यातायात एकतर्फी सञ्चालनमा ल्याइएकोमा सानो सानो पहिरोले समस्या ल्याइरहँदा मंगलबार ठूलो पहिरो खसेको हो।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले मंगलबारको पहिरोमा सोचेभन्दा बढी ठूला ढुंगा भेटिएकाले पन्छाउन कठिन भइरहेको बताए।
‘ठूला ढुंगा पहिलेको पहिरोमा खसिसक्यो यसपालि साना ढुंगा र माटो होला भन्ने सोचेका थियौं। तर फुटाएर फाल्नुपर्ने ठूला ढुंगा अहिले धेरै भेटिएको छ,’ उनले भने, ‘पहिरो हटाउन धेरै समय लाग्ने भयो। पहिरो पन्छाएर यातायात सञ्चालन गर्न शुक्रबारसम्म लाग्न सक्छ।’
इन्जिनियर घिमिरेका अनुसार १ सय ६० मिटर सडकमा पहिरो खसेको छ। १० मिटर चौडाइमा १६-२० मिटर उचाइको पहिरो जम्मा भएको छ।
बुधबार बिहानबाट अपराह्न ३ बजेसम्म करिब ५० मिटर पहिरो पन्छाइएको छ। नारायणघाट र मुग्लिन दुबै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ।
पानी परेकाले केहीबेर अवरूद्ध भएको काम फेरि सुरू गरिएको छ।