भ्रष्टाचार विरूद्ध जेनजी प्रदर्शनमा गोली चल्दैनथ्यो भने पोखराकी संगीता गौतम यतिबेला जापान फर्किसकेकी हुने थिइन्।
जापानको नारितामा उनी पूर्ववर्ती काममा फर्किन्थिन्। श्रीमानलाई पनि जापान बोलाउन कागजपत्र मिलाउन लाग्थिन्।
संगीता विवाह गर्नकै लागि साउन २५ गते नेपाल आएकी थिइन्। उनी नेपाल आउनुअघि नै पोखरा–२५ हेमजाका रमेश शर्मासँग विवाहको टुंगो लागिसकेको थियो। उनी जापान भए पनि आफन्तले मागी विवाहको प्रस्ताव गरेका थिएन। संगीता र रमेश सामाजिक सञ्जालमार्फत् कुराकानी गरेर विवाह बन्धनमा बाँधिन समझदारी गरिसकेका थिए।
नेपाल आएको छैटौं दिन साउन ३१ गते संगीता र रमेश विवाह गरे। अनि संगीताले जापान फर्केर रमेशलाई पनि बोलाउने योजना बनाइन्।
‘हामी विवाह गर्ने भनेर करिब ६ महिना अघिदेखि बोल्न थालेका थियौं,’ अस्पतालको बेडबाट रमेशले भने, ‘विवाहपछि म पनि जापान जाने भनेर कागजपत्र बनाउनतिर लाग्यौं।’
जेनजी प्रदर्शनको पहिलो दिन भदौ २३ गते संगीता र रमेश वडा कार्यालय गए। वडामा विवाह दर्ता गरे। वडाका कर्मचारीले नाता प्रमाणित गर्न केहीबेर समय लाग्ने बतायो। वडामा कुरेर बस्नभन्दा जिल्ला प्रशासन कार्यालय पुगेर संगीताको राष्ट्रिय परिचय पत्र बनाउन सुझाव दिए।
रमेशले पहिल्यै राष्ट्रिय परिचय पत्र बनाइसकेका थिए। संगीताको परिचय पत्र बनाउन उनीहरू स्कुटरमा सिडिओ कार्यालयतर्फ लागे।
पोखराको जिरो किलोमिटरबाट उनीहरू मासबार हुँदै सिडिओ कार्यालयतर्फ अघि बढेका थिए। बाटो सुनसान थियो। मासबारमा एउटा पसल अगाडि चटपट बेच्न राखिएको रहेछ। उनीहरू चटपट खान रोकिए।
चटपट बनाउन अर्डर गरेर रमेश आन्दोलन भएको ठाउँतर्फ गए। संगीता त्यहीँ रोकिइन्। चटपट बनेपछि रमेश फर्किए। उनीहरू दुवैजना मिलेर चटपट खाए।
अगाडि आन्दोलन चलिरहेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरिरहेका थिए। आन्दोलनमा रमेशले चिनेका युवाहरू पनि सहभागी रहेछन्। उनीहरू चटपट खाएर आन्दोलन भएतिर गए।
आन्दोलनमा ढुङ्गामुढा गरिरहेका युवाहरूलाई उनले सम्झाए। ढुङ्गामुढा नगर्न भने। त्यहीबेला मासबारको मुख्यमन्त्री कार्यालय भएको ठाउँबाट आन्दोलनकारीको ठूलो हुल भागदौड गर्दै आयो। प्रहरीले अश्रुग्यास हानेका होलान् भन्ने उनीहरूलाई लाग्यो। त्यहीबेला प्रहरीले चलाएको गोली लागेर रमेश ढल्न पुगे।
‘मैले भाइहरूलाई ढुङ्गामुढा नगर्न सम्झाएको थिएँ। आन्दोलन त गर्नुपर्छ तर यसरी ढुङ्गामुढा गर्न हुँदैन भनेको थिएँ,’ रमेशले भने, ‘भागदौड भएपछि हामी पनि फर्किँदै थियौं। अचानक गोली लागेर म ढलेँ। सुरूमा त दुखेन। अचानक एउटा खुट्टा चल्न छोड्यो।’
आन्दोलनमा सहभागीहरू भागदौड गर्दा सडक खाली भइसकेको थियो। वरिपरिका पसलहरू पनि बन्द भएका थिए। रमेश ढलेपछि संगीता एक्लै उठाउन बसिन्। आफूले लगाएको ज्याकेट रमेशलाई लगाइदिएर बाँधिन्।
केहीबेरपछि स्थानीयबासी जम्मा भए। उनीहरूले ट्याक्सी बोलाएर अस्पताल पठाए। घटनास्थलबाट नजिक रहेको मेट्रोसिटी अस्पतालमा प्राथमिक उपचार पश्चात रमेश पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर भए।
संगीताका अनुसार रमेशलाई लागेको गोली हेल्मेट छेडेर कम्मरमा लागेको थियो। कम्मरबाट पेटमा आएर अड्किएको गोली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले अपरेशसन गरेर निकालेको छ। कम्मरबाट छिरेको गोली पेटमा पुगेर अड्किएको संगीता बताउँछिन्।
पोखराको जिरो किलोमिटरबाट मासबार हुँदै सिडिओ कार्यालय जाने बाटोमा यसरी आन्दोलन भइराखेको उनीहरूले थाहा पाएका थिएनन्।
पोखरामा फाट्टफुट्ट भइराख्ने आन्दोलनहरूमा रमेश सहभागी भइराख्थे। तर यसपालि उनी आन्दोलनमा भाग लिने भनेर गएका थिएनन्।
प्रदर्शनका आयोजकहरूले पनि पोखराको सभागृह चोकमा प्लाकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गर्ने प्रशासनबाट अनुमति लिएका थिए। आन्दोलनको पहिलो दिनमै विभिन्न कलेज पढ्ने विद्यार्थी लगायत युवाहरूको ठूलो उपस्थिति भएपछि आन्दोलन चलायमान हुन थाल्यो। उनीहरू सभागृह चोकबाट चिप्लेढुङ्गातर्फ लागे।
प्रदर्शनमा सहभागी हजारौं युवाहरूको जुलुस नाराबाजी गर्दै मानव अधिकार चोक पुग्यो। प्रदर्शनका आयोजकले त्यहीँ आन्दोलन समाप्त भएको घोषणा गर्यो। यस्तो घोषणा गर्दानगर्दै केही प्रदर्शनकारी अघि बढे। केही घर फर्किए।
आन्दोलन समाप्त भएको घोषणा पश्चात मोटरसाइकल र्याली आन्दोलनको पछाडि पछाडि नाराबाजी गर्दै अघि बढ्यो। आन्दोलन समाप्त भएको भनिए पनि प्रदर्शकारीको एउटा तप्का र मोटरसाइकल र्याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ अघि बढ्यो। यतिबेलासम्म आन्दोलन शान्तिपूर्ण थियो। जब केही प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गर्न थाले, आन्दोलन भड्किन थाल्यो।
प्रदर्शनकारीको ढुंगामुढाले मुख्यमन्त्री कार्यालयका केही सिसाहरू फुटे। प्रदर्शनकारी हटाउन प्रहरीले पानीको फोहोर र अश्रुग्यास हान्न थाल्यो। भीड झन्झन् उत्तेजित भएर प्रहरीलाई ढुङ्गामुढा गर्न थाल्यो। त्यही आन्दोलन भड्किएपछि प्रहरीले गोली चलायो। सम्भवतः पोखरामा भएको जेनजी प्रदर्शनको पहिलो दिनमै गोली लागेको पहिलो व्यक्ति रमेश हुन्।
‘मलाई गोली लाग्दासम्म कसैलाई पनि लागेको थिएन, गोली लागेको घाइते अस्पतालमा आइपुगेको पनि म पहिलो थिएँ,’ उनी भन्छन्।
रमेशलाई गोली लागेपछि संगीताको दिनचर्या श्रीमानको हेरचाहमा बित्न थालेको छ। उनलाई पालो दिन बुबाआमा, दिदी सरू आचार्य र मामा नवीन त्रिपाठी पनि अस्पताल पुगिरहन्छन्।
दिनरात अस्पतालमा रमेशलाई खाना खुवाउनेदेखि औषधि उपचार लगायत स्याहार सुसारका सबै काम गर्नुपरेको छ। अस्पतालबाट रिपोर्ट बनाएर जापानमा उनले काम गर्ने ठाउँमा एक महिना बिदा थपेका छन्। प्लेन टिकट पनि एक महिना पछाडि सारेको उनी बताउँछन्।
‘नेपालमा यस्तो भइराखेको छ भनेर अहिले संसारलाई थाहा छ नि त,’ उनले भनिन्, ‘मैले पनि डाक्टरको रिपोर्ट पठाएर थप बिदा मागेको थिए, एक महिना बिदा थपिएको छ।’
संगीता करिब ८ वर्षअघि पढ्नका लागि जापान पुगेकी थिइन्। उनले जापानमा स्नातक पूरा गरिन्। त्यसपछि काम गरिरहेकी छन्।
रमेश माध्यमिक तहको पढाइ पोखरामै पढेर उच्च शिक्षा भारतको चेन्नईबाट लिएका छन्। उनका बुवा काजीमान शर्मा र आमा भगवती पनि चेन्नईमै काम गर्थे। उनीहरूका एक छोरा रमेश र दुई जना छोरी छन्।
बुबाआमासँग बसेर प्राविधिक शिक्षा लिएका रमेशले पनि उतै काम गर्थे। काजीमान करिब ३५ वर्ष भारतमा काम गरेर बिताए। उनीहरू सपरिवार गत वर्ष मात्र अब भारत नफर्कने गरी पोखरा घर फर्किएका थिए।
जेनजीले आह्वान गरेको शान्तिपूर्ण आन्दोलनको पहिलो दिनमै प्रहरीले गोली चलाउला भनेर आफूले सोच्दै नसोचेको रमेश बताउँछन्। प्रहरीले हाने पनि पानीको फोहोरा र अश्रुग्यास सहनुपर्ला भन्ने उनले ठानेका रहेछन्।
‘म त गोली हान्छन् भनेर सोचेकै थिइनँ। किन पानीको फोहोर कि अश्रुग्यास हान्छ होला भनेर सोचेको थिएँ,’ उनले भने, ‘गोली नै हान्नुपरे पनि हवाई फायर गर्न सक्थ्यो। खुट्टामा हान्न सक्थ्यो।’
सानैदेखि राजनीतिमा रूचि राख्ने रमेश अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको बताउँछन्।
सामाजिक सञ्जालमा चलेको ‘नेपोकिड्स’, ‘एन्टी करम्प्सन मुभमेन्ट’ लगायत उनले पनि पछ्याएका रहेछन्। यसैका आधारमा भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धका विरूद्ध जेनजीले आह्वान गरेको प्रदर्शनमा उनले पनि समर्थन जनाएका थिए।
‘जेनजीले जुन मुद्दा लिएर प्रदर्शन गर्ने भनेको थियो त्यो मुद्दामा मैले समर्थन गरेको थिएँ,’ उनी भन्छन्, ‘मैले मात्र होइन, नेपालका सबै मानिसले भ्रष्टाचारको विरोध गर्छन् र सामाजिक सञ्जाल प्रतिबन्धको पनि विरोध गरेका थिए।’
जेनजीको प्रदर्शनलाई सरकारले पनि हल्काफुल्का रूपमा लिएर दम्भ देखाएको रमेश बताउँछन्।
गोली लागेर अस्पताल पुगे पनि भोलिपल्ट भदौ २४ गते भएको तोडफोड, आगजनी र विध्वंश अघिल्लो दिनको गोलाबारीको आक्रोश र घुसपैठ ठान्छन्।