चितवनको नारायणगढ–मुग्लिन सडक ४० घन्टादेखि अवरूद्ध छ। यहाँको तुइन खोलानजिकै शुक्रबार साँझदेखि नै पहिरो खस्न सुरू भएको थियो। शुक्रबार राति र शनिबार दिनभरि पहिरो पन्छाउन प्रयास गरिएको थियो।
सडक डिभिजन भरतपुरका अनुसार तलबाट पन्छाउँदै जाने र माथिबाट पुनः पहिरो खस्ने क्रम नरोकिएपछि शनिबार दिनभरिको प्रयासले सार्थकता पाउन सकेन। रात परेपछि पहिरो पन्छाउने क्रम रोकिएको थियो।
आइतबार बिहानैबाट तीनवटा उपकरण प्रयोग गरी दुवैतिरबाट पहिरो पन्छाइएको थियो। सडक डिभिजन भरतपुरका इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार अहिले करिब ५०–६० मिटरजति सडकको भागमा थुप्रिएको पहिरो पन्छाउन बाँकी छ। तर अहिले पनि पहिरो खस्ने क्रम चलिरहेको छ।
पहिरो खस्ने क्रम रोकिने हो भने चार–पाँच घन्टामा खुलाउन सकिन्छ। तर पहिरोको प्रकृति हेर्दा थामिने अवस्था देखिँदैन।
आचार्यका अनुसार तुइन खोला नजिकैको पहिरो नयाँ होइन।
नारायणगढ–मुग्लिन सडक विस्तारपछि दुई वर्षअघि पनि त्यहाँ यस्तै पहिरो खसेको थियो। त्यति बेला पनि २४–२५ घन्टा बाटो अवरूद्ध भएको थियो। तर अहिले झन्डै ४० घन्टा भइसकेको छ।
'त्यही ठाउँमा दुई वर्षअघि पनि त्यस्तै पहिरो गएको थियो। त्यति बेला पनि २४–२५ घन्टा यातायात अवरूद्ध भएको थियो,' उनले सम्झिए।
उनका अनुसार यो बर्खामा पटक पटक तुइन खोलामा पहिरो खसेको छ। यसअघि पहिरो खस्दा बढीमा एक–डेढ घन्टामा पन्छाइसकिने गरेकामा यस पटक पहिरो निरन्तर खसिरह्यो।
यस पटक झन्डै ७० मिटर माथिबाट पहिरो खसेको छ। पहिरो खस्दै माथि माथितिर सरिरहेको छ। त्यसरी पहिरो खस्दा झन्डै १६० मिटरजति भाग सडक ढाकेको थियो। पहिरो सडकबाट १६ मिटर उचाइ (अग्लो) सम्म थुप्रिएको थियो।
'त्यस ठाउँको पहाड अत्यन्त कमसल छ। खिइँदै गएका पत्रे चट्टानहरू छन्। एक ठाउँबाट खोतलिन थालेपछि निरन्तर झर्दै माथितिर सर्ने प्रकृतिको छ,' उनले भने।
तुइन खोलामा मात्र नभइ नारायणगढ–मुग्लिन सडक खण्डमा कहाँ पहिरो झर्छ र दुःख दिन्छ भनेर यकिन नै गर्न गाह्रो भएको बताए। अधिकांश स्थानको भूबनोट कमजोर भएकाले चुनौतीपूर्ण बनेको पनि इन्जिनियर आचार्यले बताए।
भरतपुर सडक डिभिजनले गत वर्ष नै नारायणगढ–मुग्लिन सडक खण्डको २५ ठाउँ पहिरोको उच्च जोखिममा रहेको बताएको थियो। त्यसमध्ये चार ठाउँ उच्च जोखिममा र सात ठाउँ कम जोखिममा रहेको औंल्याइएको थियो।
सडक डिभिजनका अनुसार मौरी पुल, नाम्सी पुल, कालीखोला पुल र तुइन पुलनजिकै पहिरोको उच्च जोखिम थियो। गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलो क्षेत्र कम जोखिमयुक्त पहिचान भएको थियो।
नाम्सी, कालीखोला र तुइन खोला नजिकैको पहिरो रोकथामका लागि करिब ५२ करोड रूपैयाँ लाग्ने अनुमान समेत गरिएको थियो।
ती स्थानमा 'रक स्टेबलाइजेसन' र 'रक नेटिङ' लगायत विधिबाट पहिरो रोकथाम गर्नुपर्ने विज्ञहरूले सुझाएका थिए। तर अहिलेसम्म यसको अध्ययन मात्र भइरहेको छ।
'तुइन खोला लगायत स्थानमा पहिरो रोकथामका लागि अध्ययन भइरहेको छ। त्यसको विस्तृत डिजाइन भइरहेकाले आगामी हिउँदमा पहिरो रोकथामको काम सुरू हुन्छ,' उनले भने।