जितपुरसिमरा–२१ अमलेखगञ्जका ५५ वर्षीय चन्द्रबहादुर ब्लोन ०८२, असार ३ गते मंगलबार जंगल पसेका थिए। बाख्रा चराउन जंगल गएका ब्लोन अबेर रातिसम्म घर फर्किएनन्। परिवारका सदस्यले खोजी गरे। फेला पार्न नसकेपछि प्रहरीलाई जानकारी गराए। खोजतलासको क्रममा भोलिपल्ट बिहान दक्षिणकाली सामुदायिक वन क्षेत्रमा क्षतविक्षत अवस्थामा उनको शव भेटियो। घटना स्थलको प्रकृति र उनको शरीरको चोट हेर्दा बाघको आक्रमणबाट मृत्यु भएको देखियो।
भदौ ११ मा जीतपुरसिमरा–२२ का ४७ वर्षीय कृष्णकुमार शर्मा पर्सा राष्ट्रिय निकुञ्जभित्र मृत भेटिए। बिहान स्कुटरमा आधाभार जङ्गलतर्फ घाँस काट्न गएका शर्मा घर फर्किएनन्। खोजी गर्दा जंगलमा घाँस लोड गरिएको स्कुटर भेटियो। चप्पल र रगतको टाटा पछ्याउँदै जाँदा शव भेटियो। बाघको आक्रमणबाट टाउको नभएको अवस्थामा शव थियो।
भदौ २२ मा च्याउ टिप्न गएका जीतपुरसिमरा वडा नं. १ का ५५ वर्षीय छेवाङ लामाको बाघको आक्रमणबाट मृत्यु भयो। उनी साइकल लिएर नजिकको प्रगतिशील सामुदायिक वन पसेका थिए। त्यसअघि भदौ १८ मा रनकुमारी सामुदायिक वनमा मानव कंकाल मात्र भेटियो। त्यो जीतपुरसिमरा–२२ का रमेश कार्कीको रहेको प्रहरीले जनाएको छ। घाँस दाउरा गर्न गएका कार्कीमाथि पनि बाघले नै आक्रमण गरेको आशंका गरिएको छ। यही बीचमा बाघको आक्रमणबाट बारामा १ जना घाइते समेत भएका छन्।
यसरी निरन्तर बाघले मानिसलाई आक्रमण गर्न थलेपछि निकुञ्जलाई दबाब परेको थियो। भदौ १८ गतेदेखि नै निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली सहित १० वटा क्यामेरा जडान गरेर बाघलाई पछ्याइरहेको थियो। शुक्रबार बाघलाई डार्ट हानेर नियन्त्रणमा लिन सफल भएको छ।
राष्ट्रिय निकुञ्ज र चुरियामाई सामुदायिक मध्यवर्ती वनको सिमानामा पर्ने फायर लाइन मझौनाबाट बाघ नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएको बाघको पेटमा सानो घाउ पनि देखिएको छ।
भाले वयस्क बाघ १३ वर्षको रहेको अनुमान गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु प्राविधिक फिरू चौधरीले डार्ट गरेका थिए।
बाघ नियन्त्रणमा लिनका लागि स्थानीय बासिन्दा, प्रहरी, जनप्रतिनिधिले पनि विज्ञ टोलीलाई सघाएका थिए। बाघ नियन्त्रणमा लिनका लागि तीन ठाउँमा पाडा राखिएको थियो। डिभिजन वन कार्यालय बाराको क्षेत्रमा पर्ने पथलैया जंगलमा, निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा पर्ने चुरियामाई मध्यवर्ती सामुदायिक वनको मझौना फायरलाइन र जीतपुर सिमरा वडा नं २२ स्थित १ नं र २ नं पुलको बीचमा पाडा राखिएको हो। ती स्थानमा क्यामेरा मार्फत निगरानी पनि गरिएको थियो।
बिहीबार राति ११ः४० बजेतिर समस्याग्रस्त बाघले पाडा मारेको दृश्य क्यामेरामा कैद भएको थियो। बिहान साढे ५ बजे नै ६ वटा हात्ती सहित कोषको प्राविधिक टोली, जेडएसएल नेपाल, राष्ट्रिय निकुञ्ज, वन, स्थानीय बासिन्दा, जनप्रतिनीधि र सुरक्षाकर्मीको टोली जंगल प्रस्थान गरेको थियो। बाघ भएको क्षेत्रलाई सेतो कपडाले छेकेर बिहान ८ः११ मा डार्ट गरिएको थियो। पूर्ण रूपमा लठ्ठिइसकेपछि बिहान ८ः३५ मा बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको संरक्षण केन्द्रका भेटनरी अधिकृत डा अमिर सडौलाले जानकारी दिए।
यसअघि मानिसलाई आक्रमण गरेर मार्ने र घाइते बनाउने बाघ यही नै रहेको उनले बताए।
‘उमेर पनि १३ वर्ष पुगिसकेको, घाइते भएर जंगलमा सिकार गर्न नसक्ने अवस्थामा रहेकोले सजिलो हुने हुँदा मानिसलाई सिकार गरेको देखिन्छ,’ उनले भने, ‘समस्याग्रस्त क्षेत्र २२ नं वडाको क्यामेरामा यही बाघ देखिएको थियो, पाइलाको मुभमेन्टहरूबाट पनि समस्या गर्ने बाघ यही हो भनेर पहिचान गरेका छौं।’
पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सन्तोष कुमार भगतले नियन्त्रणमा लिइएको समस्याग्रस्त बाघलाई निकुञ्जको उद्धार केन्द्रमा राखिएको जानकारी दिए।
बाघले किन गर्छ मान्छेलाई आक्रमण?
सन् २०२२ को बाघ गणनाको तथ्यांक अनुसार २८५.३ वर्ग किलोमिटरमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क बाघ थिए। केही समय अघि ६ वटा बाघ मरेको तथ्यांक सार्वजनिक भएको थियो। बाघले मानिसलाई आक्रमण गरेर मार्ने र घाइते बनाउन थालेपछि स्थानीय आक्रोशित छन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा स्वस्थ बाघले मानिसलाई आक्रमण नगर्ने बताउँछन्। मानिसले बाघलाई शत्रु जीवको रूपमा व्यवहार गर्न आवश्यक नरहेको उनको भनाइ छ।
‘सबै बाघ समस्याग्रस्त हुँदैन, बुढो भयो, अशक्त भयो, प्रकृतिमा रहेका अन्य जनावारको शिकार गर्न सकेन भने मात्रै मानिस वा घर पालुवा जनावारलाई आक्रमण गर्ने हो,’ उनले भने, ‘त्यस्ता बाघलाई समातेर होल्डिङ सेन्टरमा राख्न सकिन्छ, त्यसका लागि आवश्यक प्रविधि र दक्ष जनशक्ति हामीसँग छ।’
सवारी दुर्घटनामा मानिसको मृत्यु भएको भन्दा बाघको आक्रमणबाट मृत्यु हुँदा बढी आक्रोश देखिने गरेको बताउँदै उनले यसलाई पनि दुर्घटनाकै रूपमा लिनुपर्ने बताए।
मान्छे र बाघ दुवैलाई क्षति हुन नदिन, जनतासँगै मिलेर संरक्षण गर्न ‘बाघ मित्र अभियान’ सञ्चालन गरिएको उनले बताए।
‘बाघबाट मानिसलाई क्षति शून्य बनाउन, बाघ र मानिस दुवैको सुरक्षा गर्न, आवश्यक छेकबारका पूर्वाधार बनाउने र मानिसलाई जंगल जान नपर्ने बनाउन अभियान सञ्चालन गरेका हौं,’ प्रमुख संरक्षण अधिकृत खतिवडाले भने, ‘मानिसलाई जंगल जान नपर्ने बनाउन जीविकोपार्जनमा पर्याप्त सहयोग आवश्यक छ।’
राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम निर्देशक एवं बाघ विज्ञ डा. चिरञ्जीवि प्रसाद पोखरेलले घाइते र बुढो बाघले मात्रै नभई बच्चा हुर्काउँदै गरेको माउ र आमासँग छुट्टिएर आफ्नो क्षेत्र बनाउँदै गरेको बाघले पनि मानिसलाई आक्रमण गर्न सक्ने बताए।
रक्षात्मक अवस्थामा र सजिलो आहाराको खोजीमा बाघले मानिसलाई आक्रमण गर्ने गरेको उनको भनाइ छ।
बाघको आक्रमणबाट बच्नका लागि मानिसले आफ्नो आनीबानीमा सुधार गर्नुपर्ने उनले बताए।
‘हामीले वन्यजन्तुको आनीबानीलाई परिवर्तन गर्न सक्दैनौं, त्यसैले जंगल छेउछाउका बासिन्दाले कुन बेला जंगल जाने, कुन बेला नजाने तय गर्नुपर्छ,’ उनले भने, ‘सचेत हुँदा बाघ मात्रै हैन, अन्य वन्यजन्तुको आक्रमणबाट पनि बच्न सकिन्छ।’
जंगलमा निहुँरिएर घाँस दाउरा गर्दा बाघले आफ्नो आहारा सम्झेर आक्रमण गर्ने हुँदा समूहमा जाने र निगरानी गरेर काम गर्न र बाघले मानिसलाई आक्रमण गरिरहेको क्षेत्रमा नजान उनको सुझाव छ।