नेपालमा मुटुको सर्जरी गर्ने डाक्टर निकै कम हुँदै गएका छन्। अहिले २५ देखि ३० जनाको हाराहारीमा मात्रै मुटुका सर्जन छन्। पछिल्लो समय विदेश जाने क्रम बढेकाले यो संख्या पनि घट्दो छ। यो विधामा चासो राखेर पढ्ने डाक्टर पनि कम भए।
मुटु, रक्तनली, कार्डियो र फोक्सोको सर्जरीका लागि हामीकहाँ एमसिएच भन्ने पिएचडी तहको पढाइ हुन्छ। हरेक वर्ष २ जनाको कोटा हुन्छ। तर तीन वर्षसम्म लगातार यो कोटा खाली भयो। पछिल्लो वर्ष २ मात्रै जना पढ्न आउनुभएको छ। अहिले २/३ जना डाक्टर साबले चासो देखाउनुभएको छ।
यसले के देखाउँछ भने यो विधामा मान्छेको चासो कम छ। सायद यसमा धेरै खट्न पर्ने मेहनत आदि गर्नुपर्ने तर त्यही अनुसारको आर्थिक कमाइ नहुने भएकाले पनि होला। जसले गर्दा भविष्यमा गएर मुटुको अपरेसन गर्ने डाक्टर नै हुन्नन् कि भन्ने डर बढेर गएको छ।
मुटुको अपरेसन भन्नाले ओपन हार्ट सर्जरी र क्लोज हार्ट सर्जरी हुन्छ। त्यो बाहेक कार्डियोलोजिष्ट डाक्टरहरूले गर्ने अपरेसनलाई इन्टरभेन्सनल कार्डियोलोजी भनिन्छ। त्यो फिजिसियनले गर्ने अपरेसन हो।
हामीले कुरा गरेको सिटिभिएस (कार्डियो थोरासिक एण्ड भास्कुलर सर्जरी) हो। यो मुटु, रक्तनली र फोक्सोको अपरेसन गर्ने विधा हो। यसको एउटा पिएचडी तहको कोर्ष छ। यसको पढाइ त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा हुन्छ। म यसको अहिले विभागीय प्रमुख पनि हो।
अहिले, एउटा त चिकित्सकले पढ्न चासो नदेखाउने अनि अर्को देशमै भएका चिकित्सकलाई पनि टिकाउन नसक्ने स्थिति छ। हाम्रै विभागका २ जना डाक्टर विदेश जानुभएको छ। यसले भोलिका दिनमा भयावह स्थिति आउने हो कि भन्ने डर बढेको छ। एमसिएचको २ जनाको कोटा ३ वर्षसम्म खाली रहँदा ६ जना यसै पनि कम हुने भए।
यसको कारण के हो भने अरूभन्दा यो सर्जरीमा खटाइ धेरै हुन्छ। अलि धेरै इमर्जेन्सी पर्छ। केही दिन अघि म राति आएर मुटुको अपरेसन रातभरी गर्नुपर्यो। राति १ बजे सुरू गरेको बिहान ७ बजे सकियो। त्यो कुरा सबैलाई थाहा छ। कहिले फोक्सोको पर्छ अनि कहिले भास्कुलरको सर्जरी पर्छ।त्यसले गर्दा यो विधामा रातदिन, बिहान, बेलुका भन्न पाइँदैन। कुनै पनि बेला तपाईं सेवा दिनको लागि तयार हुनुपर्छ। त्यही अनुसारको परिवारलाई तपाईंले समय दिन सक्नुहुन्न। आफ्नो इच्छाले कतै घुम्न जान पाइँदैन अर्थात् योजना बनाए अनुसार हुँदैन।
एक पटक दसैंमा फुपूको घरमा टीका लगाउन गाडी लिएर निस्किएको तर त्यो गाडी हस्पिटलतिर मोडेको छु। म आफैलाई यस्तो परेको छ। अर्थात् हामी सबै सधैंभर कामको लागि तयार हुनुपर्छ।
अरू अपरेसनको तुलनामा मुटुको इमर्जेन्सीमा समय एकदमै कम हुन्छ। समय यति धेरै छोटो हुन्छ कि कहिलेकाही म खाँदै गरेको भात छोडेर हिँडेको छु। यसो भन्दै गर्दा अरू समस्यामा इमर्जेन्सी हुँदैन भन्न खोजेको होइन तर मुटुको हकमा अलि धेरै हुन्छ। यो सबै चिकित्सकले बुझेको हुनाले पढ्न कम खोज्ने हुन्। अनि अर्को कुरा कमाइ पनि कम छ। अर्थात् दुःख अनुसारको पारिश्रमिक कम छ। जसले गर्दा यसको आकर्षण बढाउनको लागि भए पनि केही विशेष व्यवस्था गर्न जरूरी छ। अब युवा पुस्तालाई कसरी आकर्षित गर्ने भन्ने हो। यसको बारेमा गहन तरिकाले सोच्नुपर्छ भन्ने मलाई लाग्छ।
पश्चिमा मापदण्डलई मान्ने हो भने फोक्सो, रक्तनाली, मुटु र कार्डियोलोजी सहितको सुविधा भएका अस्पताल प्रत्येक १० लाख जनसंख्यामा एउटा चाहिन्छ। नेपालको जनसंख्या ३ करोड अनुसार ३० वटा हुनुपर्छ। तर हामीसँग त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र गरेर २ वटा मात्र छ। गंगालालमा कार्डियाकको पाटो मात्र भएकाले सबै सेवा भएको मनमोहनमा हो। ३० वटा सेन्टर स्थापना गर्ने हाम्रो क्षमता नभए पनि ७ प्रदेश अनुसार ७ वटा हुनै पर्ने हो।
त्यसैले हामीले सबभन्दा पहिला भौतिक संरचना तयार पार्नु पर्छ। भौतिक संरचना भयो भने यसको आकर्षण पनि बढ्छ। मनमोहनको कुरा गर्दा हामीसँग विकसित देशमा पाइने ९५ प्रतिशत सुविधा उपलब्ध छ। तर हाम्रै स्तरका सर्जन भने कम छन्। म कहिलेकाहीँ दुई रात लगातार अपरेसनमा हुन्छु। त्यस्तो बेला एक अर्कालाई पालो दिने अवस्था हुँदैन। कहिलेकाहीँ एउटैले अपरेसन गर्दा थाकिन्छ। पर्याप्त जनशक्ति भएन भने गाह्रो हुन्छ।
अर्को कुरा, पर्याप्त मात्रामा भौतिक संरचना बनाउन जरूरी छ। यहाँ पढ्ने धेरै भए भने काम गर्ने कता भन्ने पनि हुन्छ। हामी सर्जरीमा आइसक्यौं त्यसैले जसरी पनि गर्छौं तर अबको पुस्तालाई जोगाउन प्रयास गर्नुपर्छ। यदि जोगाउन सकिएन भने यो विधा नै मर्छ कि भन्ने डर छ।
२५/३० वर्षअघि नेपालीहरू उपचारका लागि भारत जान्थे। यही अवस्था हुने हो भने अबको २०/२५ वर्षमा त्यस्तै परिस्थिति नआउला भन्न सकिँदैन।गंगालालमा डा.भगवान कोइराला, रामेश कोइरालापछि हामीसम्म आइपुग्दा २५/३० जना भयौं। तर अहिले त्यो क्रम बन्द भएको छ। म डाक्टर हुँदा मेरो एनमएसी नम्बर जम्मा ३६०० हो अहिले झण्डै ४० हजार पुगेको छ तर यो क्षेत्रमा जनशक्तिको अवस्था उस्तै छ। हाम्रो समयको हेर्दा अहिले हामीजस्ता चिकित्सक २/३ सय हुनुपर्ने हो। त्यसैले कतै न कतै समस्या छ भन्ने हो।
मैले मेरो पढाइ विदेशमा सकेर नेपाल आएँ। मेरा अग्रज अनि कतिपय समकालीन विदेशबाटै पढेर आएका छन्। तर अहिले विदेश पढेर नेपाल आउने होइन कि नेपालमै पढेकाहरू पनि विदेश जान थालेका छन्। कति स्थायी जागिर छोडेर पनि विदेश गएका छन्।
अहिले नेपालमा फिजिसियन, जनरल सर्जन, ग्याष्ट्रो, अंकोलोजी लगायतका विधामा चिकित्सक बढेका छन्। तर मुटुको सर्जरीमा जनशक्ति निकै कम छ।
यसरी नयाँ पुस्ता आउन कम हुँदा हाम्रो उपचार कसले गर्ने भन्ने हो। एकातिर नपढ्ने, पढेका पनि विदेश जाने अनि भएका बुढा भए भने के गर्ने?
राज्यले पनि यसबारे सोच्न नसकेको हो कि! सधैंको राजनीतिक अस्थिरताले ध्यान नपुगेको हुन सक्छ। तर यसको असर दीर्घकालमा पर्ने निश्चित छ।
भारतमा हामीजस्ता सर्जनले मासिक ७/८ लाख कमाउँछन्। भर्खर पास गरेकाले पनि २/३ लाख कमाउँछन्। तर हाम्रो ७०/८० हजार रुपैयाँ मात्र हुन्छ। यसमा पनि राज्यले सोच्न जरूरी छ। भारतमै हामीजस्ता नेपाली सर्जन कति छन् कति। उनीहरू यहा बस्न मन नभएर उता गएका होइनन्,आर्थिक कारणले उता पुगेका हुन्।
मुटुको सर्जरी जस्तै न्युरो सर्जरी पनि कठिन मानिन्छ। तर अहिले न्युरो सर्जनको संख्या बढ्दो छ। अहिले मध्यम खालका अस्पतालमा समेत न्युरो अपरेसन हुन्छ। कार्डियाक सर्जरी भने निकै कम हुन्छ। विदेशमा पढाइ सकेर म नेपाल फर्किएको १२ वर्ष भयो। म फर्किँदा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ भनेपछि यहाँ समस्या छ भनेर यसै भनिएको होइन।
(सहप्राध्यापक एवम् वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियो थोरासिक भास्कुलर सर्जरीका विभागीय प्रमुख समेत हुन्।)