निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको प्रदर्शन क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली प्रहार भएको गम्भीर आरोप लगाएका छन्। र, त्यसको छानबिन हुनुपर्ने माग गरेका छन्।
ओलीले शुक्रबार संविधान दिवसको उपलक्ष्यमा सामाजिक सञ्जालमार्फत् शुभकामना दिँदै यो कुरा उल्लेख गरेका हुन्।
उनले लेखेका छन्, 'सरकारले प्रदर्शनकारीहरूलाई ताकी ताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ।'
भदौ २३ गतेको जेन–जी प्रदर्शन र भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु हुने मानिसको संख्या ७४ पुगेको छ।
'पूर्व प्रधानमन्त्री ओलीले प्रहरीबाट भन्दा पनि अरूले घुसपैठ गरेर गोली चलाएको हो कि भन्ने आशंका व्यक्त गर्नुभएको छ,' एक प्रहरी अधिकृतले भने, 'यो कुरा अहिलेसम्म पुष्टि भएको छैन।'
तर उनले अब हुने अनुसन्धान क्रममा सजिलैसँग यो आशंका सही हो वा गलत के हो भन्ने थाहा हुने बताए।
नयाँ सरकारले भदौ २३ र २४ को घटनाको छानबिन गर्ने न्यायिक आयोग गठन गर्ने बताइसकेको छ।
अर्का प्रहरी अधिकृतले पनि अनुसन्धानबाट यो कुरा खुल्ने बताए।
'नेपाल प्रहरीले घटनास्थल, घाइते र मृतकको शरीरबाट निकालिएका गोली, खोका लगायत संकलन गरेको छ,' ती अधिकृतले भने, 'ती गोली, खोकाको फरेन्सिक जाँच हुनेछ। कुन र कस्ता हतियारबाट कस्ता गोली प्रहार भए भन्नेबारे त्यसैले यकिन गर्नेछ।'
संसद भवनको रक्षाका लागि त्यो दिन को को सुरक्षाकर्मी राखिएका थिए र उनीहरूसँग के कस्ता हतियार थिए भन्ने कुरा यहाँ महत्वपूर्ण छ।
संसद भवन बानेश्वरको सुरक्षामा नेपाल प्रहरीका दुई खाले टोली खटिन्छन्।
संसद भवनको कम्पाउन्ड बाहिरपट्टिको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिन्छ। काठमाडौं परिसर काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी मातहत छ जसको नेतृत्व एआइजीले गर्छन्।
भदौ २३ गते कार्यालयमा एआइजी थिएनन्। एआइजी टेक तामाङ अवकाशमा गएपछि निमित्त प्रमुखको जिम्मेवारी डिआइजी ओम रानाले लिएका थिए। त्यो दिन धेरै प्रदर्शनकारीको मृत्यु भएपछि तत्काल एआइजी दानबहादुर कार्कीलाई खटाइएको थियो।
संसद भवनभित्रको सुरक्षा भने नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलले हेर्छ। संसद भवन र त्यहाँभित्र रहने सांसद र कर्मचारीको सुरक्षाको विषय थप संवेदनशील हुन्छ। त्यसैले त्यसको जिम्मेवारीमा रहेका प्रहरीले कमान्डो तालिम समेत लिएका हुन्छन्। यो कार्यदल भने प्रहरी प्रधान कार्यालय कार्य विभाग अन्तर्गत पर्छ। यसको पनि नेतृत्व एआइजीले नै गर्छन्।
संसद परिसरभित्रको सुरक्षाका लागि करिब सय जना प्रहरी रहने गरेको ती अधिकृतले बताए।
भदौ २३ गतेको घटनामा कुन निकायले कति गोली चलायो भनेर गृह प्रशासनले सार्वजनिक गरेको छैन। प्रहरीले पनि आफूले कति गोली चलाएको थियो भनेर सार्वजनिक गरेको छैन।
तर त्यो दिन संसद भवनभित्र र बाहिर खटिएका प्रहरीसँग दुई खाले हतियार मात्रै रहेको र प्रहरीले तिनै हतियार मात्र चलाएको दाबी ती अधिकृतले गरे।
प्रहरीका अनुसार भीड नियन्त्रण गर्न उसले पहिलो चरणमा लाठीचार्ज, अश्रु ग्यास र पानीको फोहरा प्रयोग गर्छ। त्यसपछि हवाइ फायर, छर्रा प्रहार, रबर बुलेट लगायत पनि प्रहार गर्छ। त्यसपछि मात्रै धातुको गोली प्रयोग गर्छ।
प्रहरीसँग त्यस दिन दुई खालका सेमी अटोमेटिक (अर्ध स्वचालित) राइफलहरू थिए— एउटा सेल्फ लोडिङ राइफल (एसएलआर) र अर्को इन्डियन स्मल आर्म्स सिस्टम (इनसास) को राइफल।
यी बन्दुकबाट ब्ल्यांक राउन्ड (कुनै गोली नराखी आवाज मात्र निकाल्ने गरी प्रहार गर्न) र लाइभ राउन्ड (गोली राखेर प्रहार गर्न) का निम्ति प्रयोग हुन्छ।
बानेश्वरको संसद भवन अगाडि भएको प्रदर्शन क्रममा यिनै दुई वटा बन्दुक प्रयोग भएको प्रहरीको भनाइ छ।

सेमी अटोमेटिक एसएलआरमा एउटा म्यागजिनमा २२ देखि २४ वटा गोलीसम्म राख्न मिल्छ। त्यस्तै इनसासमा २५ वटासम्म राख्न सकिने प्रहरीका एक अधिकृतले बताए।
'एसएलआर घातक हो। तुलनात्मक रूपमा इनसास कम घातक छ,' ती अधिकृतले भने, 'सेमी अटोमेटिक भनेको एक पटक बन्दुकको कक तानेपछि यी बन्दुक फेरि फेरि तानिरहन पर्दैन। तर यसमा मेसिन–गन जसरी लगातार गोली चल्ने चाहिँ होइन। एक–एक राउन्ड गरेर हान्न मिल्छ।'
घाइते वा मृतकको शरीरबाट निकालिएका गोली यी दुई हतियारभन्दा अरू नै बन्दुकबाट हानिएको हो वा होइन भन्ने फरेन्सिक परीक्षणबाट सहजै थाहा हुने प्रहरी अधिकृतहरूको भनाइ छ।
प्रदर्शन क्रममा प्रहरीका हातहतियार समेत लुटिएका छन्। यकिन तथ्यांक भने निस्किसकेको छैन।
बानेश्वरमा भएको प्रदर्शनमा सुरक्षा निकायबाट गम्भीर त्रुटि भएको भन्दै आलोचना भइरहेको छ। त्यही साँझ गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए।
बालुवाटारमा राति पूर्वप्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका थिए। त्यहाँ प्रधानमन्त्री ओलीले प्रहरीसँग असन्तुष्टि व्यक्त गरेका थिए।
भदौ २४ गतेको प्रदर्शनपछि भने ओलीले राजीनामा दिएका थिए।
भदौ २३ गते उनले गोली चलाउन आदेश समेत नदिएको र घुसपैठ र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको दाबी गरेका हुन्।
'गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वानकर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो,' उनले लेखेका छन्।
भदौ २४ गतेदेखि एमाले अध्यक्ष समेत रहेका ओली सेनाको सुरक्षामा थिए। बिहीबार उनी सेनाको सुरक्षाबाट बाहिर आएका थिए। उनी गुण्डुस्थित एक नेताको घरमा डेरा गरी बस्न थालेका हुन्।