बिहीबार रूपन्देहीको डन्डा नदीमा बेपत्ता भएका किशोरको शव शुक्रबार फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ९ गोनहियास्थित बाँध नजिकैबाट १५ वर्षीय किशोर डन्डा नदीमा बेपत्ता भएका थिए।
ओमसतिया गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ निवासी १५ वर्षीय श्यामु गुप्ता बिहीबार दिउँसो करिब ४ बजेतिर बाँध नजिकै भिडिओ बनाउने क्रममा नदीमा डुबेका थिए। नदीमा बेपत्ता भएपछि उनको खोजी सुरू गरिएको थियो।
वडा प्रहरी कार्यालय धकधई सहित सशस्त्र प्रहरी बल २७ नम्बर गणबाट विपद् व्यवस्थापनको टोलीले खोजी गर्दै जाँदा शुक्रबार दिउँसो साढे १ बजेतिर डुबेको स्थानभन्दा केही दूरी पर डन्डा खोलामै उनको शव फेला परेको हो।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढाले झन्डै २४ घण्टापछि किशोरको शव फेला परेको बताए।
मृतक गुप्ता रोहिणीको धकधई स्थित राम नरेश माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।