दाङ घोराही उपमहानगरपालिका–१० झारबैरास्थित मानव कल्याण सेवा समाजमा बस्दै आएका एक पुरूषको मृत्यु भएको १६ दिन बितिसक्दा पनि अझै पहिचान खुलेको छैन।
भदौ १७ गते बेलुकी अन्दाजी ५२ वर्षीय ती पुरूष अचानक चक्कर लागेर ढलेपछि अस्पताल पुर्याइएको थियो।
चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए। उनले आफूलाई भुपेन्द्र खत्री र घर ठेगाना घोराही–१२ हापुर बताउने गरेका थिए। तर वास्तविक नामथर र वतन खुल्न सकेको छैन।
प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार शवको प्रारम्भिक अनुसन्धान गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ। तर १६ दिन बितिसक्दा पनि आफन्तजन सम्पर्कमा नआएपछि शव गृहमै राखिएको छ।
प्रहरीले मृतकको हुलियासहित परिपत्र जारी गरे पनि सनाखत नभएकाले बिहीबार फोटोसहितको विवरण सार्वजनिक गर्दै आफन्तलाई सम्पर्क गर्न आग्रह गरेको छ।