काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा मृत फेला परेका विकास रसाइलीले अन्तिममा आफ्ना बुवालाई फोन गरेको खुलेको छ।
बुधबार बिहान रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइलीको शव फेला परेको छ।
उनी भदौ २४ गतेदेखि सम्पर्कविहीन थिए।
त्यसदिन उनले आफ्ना बुवा पूर्णबहादुर रसाइलीलाई फोन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।
फोन गरेर उनले भनेका थिए, ‘म भाटभटेनीको चौथो तलामा ट्र्यापमा परेको छु।’
उक्त भाटभटेनीमा त्यतिबेला आगजनी भइसकेको थियो।
आगजनीबाट नष्ट भएको भाटभटेनीमा बुधबार मात्रै शव फेला परेको हो।
चौथो तलामा अस्थिपञ्जर फेला परेको र त्यसकै छेउमा सिम कार्ड समेत फेला परेको थियो।
सिमकार्ड जाँच गर्दा विकासकै भएकाले शव पनि उनकै हुनुपर्ने प्रहरीले निष्कर्ष निकालेको हो।
योसँगै भाटभटेनीमा जलेर चिन्न नसकिने अवस्थामा फेला परेको अस्थिपञ्जरको संख्या १२ पुगेको छ।
यसअघि धरानस्थित भाटभटेनीमा चार वटा, काठमाडौंको चुच्चेपाटीमा ६ वटा, विराटनगरमा एउटा फेला परेको छ।
यसरी फेला परेका अस्थिपञ्जरहरू आफ्ना कर्मचारीका नभएको भाटभटेनीले प्रहरीलाई जानकारी गराएको छ।