स्वतन्त्र कानुन व्यवसायी मञ्चले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति वैधानिक भएको बताएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै मञ्चले प्रधानमन्त्री कार्कीको नियुक्तिलाई वैधानिक बताएको हो।
यज्ञमणि न्यौपाने अध्यक्ष रहेको उक्त मञ्चले निर्वाचनको मति समेत तोकेर गरिएको संसद विघटन वैधानिक समेत भएको बताएको छ।
‘पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीज्यूलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको कार्य संसारमा प्रचलित पोलिटिकल लेजिटिमेसीको सिद्धान्त तथा प्रतिस्थापनको सिद्धान्त (डक्टरिन अफ रिप्लेसमेन्ट) बमोजिमको वैधानिक कार्य भएको नै हुँदा तथा आम निर्वाचनको मिति समेत तोकी संसद विघटन गरिएको कार्य समेत वैधानिक कार्य नै भएको यस मञ्चको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ।
मञ्चले नेपाल बार एसोसिएसनको विज्ञप्ति प्रति पनि असहमति जनाएको छ। यसअघि बारले संसद विघटन असंवैधानिक बताएको थियो।
‘नेपालमा हाल रहेका सम्पूर्ण कानुन व्यवसायीहरूको आधा भन्दा बढी कानुन व्यवसायीहरू सदस्य नै रहन नसकेको वा सदस्य हुन इन्कार गरेको एसोसिएसनले नेपालको सम्पूर्ण कानुन व्यवसायीहरूको आवाजको प्रतिनिधित्व गर्न सक्दैन,’ उक्त विज्ञप्तिमा भनिएको छ।

