जेनजी प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आक्रमण गर्न डोजर लिएर गए।
उत्तेजित भीडले प्रहरी कार्यालय मात्र होइन, प्रहरी अधिकृतहरूको नामै किटेर डोजरले किच्ने धम्की दिए। उत्तेजित भीड थाम्न नसकेपछि प्रहरीले छाडिदियो। प्रदर्शनकारीले प्रहरी कार्यालय आगो लगाएर ध्वस्त पारिदिए।
प्रहरी कार्यालय गेटमा डोजर आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालयका एसपीदेखि कर्मचारीसम्म तितरबितर भए। प्रदर्शनकारीले प्रहरी बिट भत्काए। थुनुवा कक्षमा रहेका थुनुवाहरू बाहिर निकाले। प्रहरी बिट, महिला एवं बालबालिका सेल, प्रतीक्षालय लगायत सबै संरचनामा आगो लगाए।
यतिले मात्र नपुगेर प्रदर्शनकारीले प्रहरीको हतियार बोकेर निस्किए। गोली, बारुद पनि निकाले। कतिले ती हातहतियार आगोको मुस्लोमा हालिदिए भने कतिले हतियार बोकेर गए। कति हतियार लुटियो र कति जलाइयो भन्नेबारे प्रहरीले अझै यकिन गरिसकेको छैन। माइकिङ गरेर हातहतियार लगायत बन्दोबस्तका सामग्री फिर्ता गर्न प्रहरीले आह्वान गरिरहेको छ।
भदौ २५ गते बिहान प्रहरी अधिकृतदेखि जवानसम्म कार्यालयमा हाजिर भए। कार्यालयमा लागेको आगो निभाए। आगोले जलेर खरानी भएका संरचना हटाउन उनीहरू तल्लीन भए।

सार्वजनिक सुरक्षा, शान्ति र कानुनको शासन लागू गर्ने मुख्य निकायका रूपमा बुझिने प्रहरी कार्यालय नै प्रदर्शनकारीले जलाए। प्रहरी कार्यालय जलाउन प्रदर्शनकारीले ल्याएको डोजर पोखराकै हेभी इक्युपमेन्ट कार्यालयबाट कब्जा गरेर ल्याएका थिए।
पोखराका सरकारी संरचना जलाउँदै हिँडेका प्रदर्शनकारीको एउटा समूह हेभी इक्युपमेन्ट कार्यालय जलाउन पुगे। उनीहरूले त्यहाँ रहेका कार्यालय, कागजपत्र, टिपर लगायत सवारी साधन जलाए। अनि डोजर चलाउन जानेका युवा खोजेर चाबी खोसे। उनीहरूले २ वटा डोजर र एउटा लोडर पनि निकालेर सडकमा घुमाएको र जलाएको प्रहरीले जनाएको छ।
चेन भएको डोजर पिच सडकमा गुडाउन मिल्दैन। कालोपत्र सडक भत्काउने भएकाले यस्ता खालको डोजरलाई अरू गाडीमा राखेर ल्याउने लैजाने गरिने हेभी इक्युपमेन्ट कार्यालयका एक कर्मचारी बताउँछन्। आन्दोलनकारी युवाले भने पोखराको कालोपत्र सडकमै डोजर गुडाए।
कार्यालयबाट निकालेको डोजर सिधै पृथ्वीचोक ल्याइयो। पृथ्वीचोकमा दोस्रो जनआन्दोलनका बेला राखिएको नेपालका प्रथम शहीद लखन थापाको शालिकमा उनीहरूले डोजर चलाए। लखन राणा शासनविरूद्ध लड्दा करिब २५ वर्षका उमेरमा तत्कालीन राणा शासकले पक्राउ गरी हत्या गरेको थियो।
लखन थापाको शालिकमा डोजर लगाएर उनीहरूले राजाको फोटो झुण्डाए। पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्न राजावादी दल राप्रपाले यसअघि पनि पटक–पटक प्रयास गरिरहेका थिए। उनीहरूको प्रयास पोखराका युवा विद्यार्थीले नै असफल पारिदिएका थिए।
डोजर ल्याउने समूह सिधै पृथ्वीचोकमा शहीद लखनको शालिक भत्काएको दृश्यले उक्त समूह राजावादी समूह भएको अर्को समूहले भेउ पायो। त्यो समूहले पृथ्वीनारायण शाहको फोटो लखन थापाको शालिक राखिएको ठाउँबाट हटाइदिए।
पृथ्वीचोकमा लखन थापाको शालिकमाथि डोजर लगाएपछि मात्र उक्त समूह जिल्ला प्रहरी कार्यालयमा डोजर लिएर पुगेको थियो। मंगलबार दिनभर फुक्काफाल तोडफोड र आगजनी गर्दै हिँडेको यही समूहले तोडफोड र आगजनी गर्दै हिँडेका थिए।
डोजरसहित आएका समूहलाई प्रहरीले केहीबेर रोक्न खोजेको थियो। प्रदर्शनकारीलाई रोक्न खोज्दा प्रहरीलाई नै डोजर लगाएर उडाउन खोजेपछि मात्र प्रहरी तितरबितर भए। प्रदर्शनकारी र प्रहरीबीच भएको हानाहानमा एक जना लक्ष्मण नेपाली घाइते भए। उनी अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्।
‘हामीले सामान्य बल प्रयोग गरेर जिल्ला प्रहरी कार्यालय बचाउन खोजेका थियौं, उनीहरूले हामीमाथि डोजर लगाउन खोजे,’ ती प्रहरी अधिकृतले भने, ‘त्यसपछि हामी ब्याक हुन बाध्य भयौं।’
यसरी प्रहरीमाथि नै डोजर चलाउने समूह कुन हो, डोजर चलाउने चालक को हो भन्नेबारे अहिलेसम्म प्रहरीले पत्ता लगाएको छैन। उनीहरूको सूक्ष्म रूपमा खोजी भइरहेको प्रहरीले जनाएको छ। यो समूहको खोजी गरेर पक्राउ गरेपछि पोखरामा भएका हत्या, हिंसा, तोडफोड र आगजनीका धेरै घटनाका दोषी पत्ता लाग्ने पनि प्रहरीको विश्लेषण छ।
देशका प्रमुख शहरहरूमा प्रदर्शन चर्किए पनि सुरक्षाकर्मीमाथि डोजर लिएर आक्रमण गर्न गएको घटना पोखरामा मात्र भएको थियो। सुरक्षामा खटिएका प्रहरीमाथि नै उनीहरूले डोजर लगाउन खोजेका थिए।
‘प्रहरी र आन्दोलनकारीबीच ढुङ्गा हानाहान हुनु सामान्य हो, डोजर नै लिएर प्रहरीमाथि आक्रमण गर्न आउने समूहको उद्देश्य नरसंहार गर्ने देखिन्छ,’ प्रहरीका ती अधिकृत भन्छन्।
यसरी डोजर लिएर प्रहरी कार्यालय आक्रमण गर्न जाने समूहले नै पोखरामा अत्यधिक आगजनी र तोडफोड गरेको हुन सक्ने सुरक्षा निकायको विश्लेषण छ। यही समूहले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर आफ्नो राजनीतिक रोटी सेक्ने गरेको विश्लेषण भए पनि अहिलेसम्म खुलेर कसैले यी घटनाहरूको जिम्मा लिएका छैनन्।
रात परेपछि भएको घटना भएकाले पनि जेनजी युवाहरू यो घटनामा संलग्न थिएनन्। प्रदर्शनकारी समूहले झण्डै मध्यरातसम्म प्रहरी कार्यालयमा आक्रमण र आगजनी गरिरहेका थिए।
प्रदर्शनमा सहभागी जेनजी युवाहरूले यस्तो नरसंहार गर्ने सोच आफूहरूको नभएको बताइरहेका छन्। उनीहरूले प्रहरीमाथि डोजर आक्रमण गर्ने, पृथ्वीचोकमा शहीद लखन थापाको शालिक डोजर लगाएर फाल्ने, प्रहरीबिटहरूमा पनि डोजर चलाउने जस्ता घटना भएका छन्। जेनजी समूहको प्रदर्शनमा राजनीतिक रोटी सेक्न घुसपैठ गरेका समूहले नै आगजनी, डोजर प्रहार, तोडफोड र हत्याको घटना घटाएको प्रदर्शनमा सहभागी केही जेनजी युवाहरू बताउँछन्। उनीहरूको यथोचित र गहिरो अनुसन्धान गरी कारबाही गर्न र सरकार पक्षबाट भएका दमनको पनि अनुसन्धान गरी कारबाही गर्नुपर्ने उनीहरूको माग छ।
प्रहरीले भदौ २४ गते पोखरामा भएका सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, आगजनी र हत्यामा संलग्नहरूको बारेमा सूचना दिन आह्वान गरिसकेको छ। प्रधानमन्त्री सुशिला कार्कीले पनि यस्ता घटनाको कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेकी छन्। पोखरामा भएका अप्रिय घटनाको मुख्य दोषी नै डोजर लिएर हिँड्ने समूह हुन सक्ने सुरक्षा निकायले विश्लेषण गरिरहेको छ।
प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयसहित कास्कीमा रहेका २५ वटा प्रहरी बुथ जलाइदिएका छन्। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ६ जना घाइते भएका छन् भने प्रहरी कार्यालय जलाउँदा आफैं जलेका भरतपुर–१० घर भई हाल पोखरा–१६ बस्दै आएका ४३ वर्षीय विजय तामाङको मृत्यु भएको छ।
प्रदर्शनकारीले लगाएको आगोमा जलेर दुई जना महिलाको पनि मृत्यु भएको छ। लेकसाइडको अंशुभरा स्क्वायरमा २६ वर्षीया स्वास्थानी खड्का र नयाँबजारको अटो सोरुममा लागेको आगोमा जलेर ३५ वर्षीया सञ्जु नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरी सँगको झडपमा ६ जना प्रदर्शनकारी घाइते भएका छन्। उनीहरू मध्ये केहीलाई गोली लागेको थियो। उनीहरू सबैको उपचार भइराखेको छ। घाइते सबैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए।
प्रदर्शनमा शान्ति सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारी पनि घाइते भएका छन्। प्रदर्शनकारीको आक्रमणमा परी कास्कीमा २३ जना प्रहरी घाइते भएका छन्। उनीहरूको पनि उपचार जारी रहेको डिएसपी बस्नेतले बताए।
प्रदर्शनकारीले पोखरामा रहेका सम्पूर्ण सरकारी संरचना र केही निजी एवं व्यवसायिक संरचना ध्वस्त पार्नुमा कुनै न कुनै संगठित समूहले योजनाबद्ध आक्रमण गरेको हुन सक्ने सुरक्षा निकायले जनाएको छ।
‘अहिले तातो–तातो बेलामा कसैले पनि मुख खोलेका छैनन्। यसरी हत्या र आगजनीको घटनाको जिम्मेवार कसै न कसैले लिनुपर्ने नै हुन्छ,’ एक सुरक्षा अधिकारीले भने, ‘अहिले आवाज नउठे पनि एक दिन जेनजी पुस्ताकै युवाले यी घटनाहरूको जवाफदेहिता खोज्नेछन्।’
