सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेक अन्य सम्पूर्ण सेवा बन्द रहने जानकारी दिएको छ।
आइतबार मुख्य रजिस्ट्रार बिमल पौडेलले सूचना जारी गर्दै बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका अन्य सेवा बन्द रहने जानकारी दिएका छन्।
आइतबारदेखि सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता र सुनुवाइ गर्ने बताएको थियो। त्यसबाहेक सर्वोच्च अदालत नियमित रूपमा सञ्चालन भएको ३० दिनपछि अन्य सेवा दिने बताएको हो।
म्याद, हदम्याद, तारेख नियमित रूपमा सञ्चालन भएको ३० दिनसम्म आउनसक्ने बताएको हो।
‘सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने बेहोरा समेत आज बसेको पूर्ण बैठकको निर्णयानुसार जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ।
आइतबार सर्वोच्चमा तारेख धाउन सेवाग्राहीहरू उपस्थित भएका थिए। त्यसो हुँदा पालमुनि डेस्क स्थापना गरी पुस महिनासम्मको तारेख दिइएको छ।
