जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबारदेखि अत्यावश्यक सेवा सुरु गरेको छ।
सर्वसाधारणलाई अत्यावश्यक शान्ति सुरक्षा, मुद्धा दर्ता, म्याद थप र विपदको काम शुरु गरेको कास्कीकी सिडिओ रुद्रादेवी शर्माले जानकारी दिइन्।
प्रशासनले अहिले दुइवटा सामान्य मर्मतसम्भार गरेर सेवा दिन सुरु गरेको छ। अरु दुइवटा कोठा पनि मर्मत भइरहेको सिडिओ शर्माले बताइन्।
‘सर्वसाधारणलाई अत्यावश्यक सेवा शान्ति सुरक्षा, मुद्धा दर्ता, म्याद थप र विपदका घटनामा सेवा दिन शुरु गर्यौं,’ उनले भनिन्, ‘नागरिकता वितरण, राहदानी, राष्ट्रिय परिचय पत्र वितरण जस्ता सेवा क्रमिक रुपमा सुचारु गर्दै लगिनेछ।’
प्रदर्शनकारीले भदौ २४ गते जिल्ला प्रशासन कार्यालय तोडफोड र आगजनी गरेर ध्वस्त पारिदिएका थिए। आगजनी र तोडफोडबाट प्रशासनका सम्पूर्ण कागजत, कम्पयुटर लगायत दस्तावेजसमेत जलेर नष्ट भएको छ।