जेनजीहरूको आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार रहेका कैदीबन्दीहरूलाई प्रहरीले पक्राउ गर्ने क्रम जारी छ।
देशका विभिन्न जिल्लामा रहेका कारागारबाट फरार भएका कतिपय कैदीबन्दीहरू आफै सुरक्षा निकायको सम्पर्कमा जान थालेका छन् भने कतिपयलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिरहेको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार नवलपरासी, कपिलवस्तु, दाङको तुलसीपुर, बाँकेको नेपालगन्ज, नौ बस्ता र हिरमनियास्थित बाल सुधार गृह गरी ६ वटा कारागारबाट १ हजार २ सय ७८ कैदी बन्दी फरार भएका थिए।
तीमध्ये शनिबारसम्म २ सय ९० जना फरार कैदीबन्दी नियन्त्रणमा आइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको सूचना तथा सञ्चार शाखाले जनाएको छ।
फरार हुने क्रममा सुरक्षाकर्मीसँगको झडपमा परी बाँकेको बाल सुधार गृहका ५ जना कैदी बन्दीको मृत्यु भएको थियो। अन्य कैदी बन्दी भने हालसम्म फरार रहेका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
एउटा जिल्लाबाट फरार भएका कैदीबन्दीहरू अर्को जिल्लाबाट पक्राउ परिरहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार सबैभन्दा बढी कपिलवस्तुबाट फरार भएका १ सय ३५ जना कैदीबन्दी पक्राउ परेका छन्।
त्यस्तै तुलसीपुरका ८० जना, नवलपरासीका ५६ जना, हिरमनिया स्थित बाल सुधार गृहका १५ जना र नौ बस्ता स्थित बाल सुधार गृहका ४ जना कैदी बन्दी नियन्त्रणमा आएका हुन्।
हालसम्म नेपालगन्जबाट फरार भएका कुनै पनि कैदी बन्दी पक्राउ परेका छैनन्। प्रहरीका अनुसार नेपालगन्ज कारागारबाट १ सय ४९ जना कैदी बन्दी फरार भएका थिए।