दाङको जिल्ला अदालत र उच्च अदालत तुलसीपुरले अनिश्चितकालका लागि आफ्नो सेवा प्रवाह स्थगन गरेका छन्।
घोराहीस्थित जिल्ला अदालत र तुलसीपुरस्थित उच्च अदालतमा भदौ २४ गते भएको प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी तथा लुटपाट भएको छ। यस कारण यी अदालतहरूले अनिश्चितकालका लागि आफ्ना सेवा प्रवाह स्थगन गरेका हुन्।
अदालतका अधिकांश कागजपत्र, मिसिल, कम्प्युटर, सवारी साधन लगायत सेवा प्रवाहसँग सम्बन्धित सामग्री नष्ट भएकाले बुधबारका लागि तोकिएका पेसी तथा सेवा प्रवाहसँग सम्बन्धित सम्पूर्ण कार्य स्थगन गरिएको दुवै अदालतले सार्वजनिक सूचना मार्फत जानकारी दिएका छन्।
त्यस्तै भदौ २६ गतेदेखि पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ तथा अन्य सेवा प्रवाह अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको उल्लेख छ।
दुवै अदालतका परिसरमा पार्किङ गरी राखिएका आधा दर्जन बढी सवारी साधनमा प्रदर्शनकारीले आगजनी गरेका थिए। त्यस्तै कागजपत्र, फर्निचर लगायत जिन्सी सामग्रीमा पनि आगजनी गरिएको थियो।