मंगलबार रातिदेखि सेना परिचालन गरिएपछि काठमाडौंको सडकमा अहिले कडाइको स्थिति छ।
पछिल्लो प्रदर्शनपछि बढेको हिंसात्मक र उच्छृंखल गतिविधि रोक्न चोक-चोकमा सेना खटिएका छन्। सेनाले काठमाडौंमा बुधबार साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि भोलि बिहानसम्म कर्फ्यू लगाएको छ।
यसबीच बुधबार बिहानैदेखि मुख्य सडकहरू शान्त छन्। प्रेस, एम्बुलेन्स लगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य गाडी कुदेका छैनन्। मानिसहरूको हिँडडुल भने भइरहेको छ। मूल सडकका पसल सबै बन्द छन्। भित्री बस्तीमा भने बिहानदेखि नै पसलहरू खुलेका देखिन्छन्। अनिश्चय र अन्यौलका कारण स्थानीयमा रासनपानी जोहो गर्ने दौडधुप छ। यसले पसलहरूमा ग्राहकको भिड लागेको छ।
सडकमा खटिएका सेनाले ठाउँ-ठाउँ जाँच पनि गरिरहेका छन्। मंगलबार जलाइएका गाडीका अवशेष अझै पनि सडकमा असरल्ल देखिन्छन्।
ललितपुरमा सादोबाटो, एकान्तकुना, जावलाखेल, पुल्चोक लगायत मूल सडकका हरेक चोकमा सेना बसेको छ। सेनाले अस्पताल र एम्बुलेन्सबाहेक अरू सबैलाई रोकेर सोधपुछ गरिरहेको छ। पुल्चोक र एकान्तकुनामा तरकारी पसलहरू पनि खुलेका छन्।
यसबीच मंगलबार राति जावलाखेलमा पाँच घन्टासम्म भएको झडप भएको थियो। झडपमा घाइते २० जनाको अल्का अस्पतालमा उपचार भइरहेको छ भने २५ जनालाई पाटन अस्पताल लगिएको छ। एक प्रहरी इन्स्पेक्टरलाई हातमा गोली लागेको छ भने अन्य धेरै प्रहरीलाई ढुंगाले चोट लागेको छ।
उता, घट्टेकुलो र अनामनगर आसपास पनि मानिसहरूको हिँडडुल चलिरहेको छ। सवारी आवागमन भने बन्द छ। तरकारी र किराना पसलहरू सञ्चालनमा छन्। मूल बाटोमा मानिसहरूको उपस्थिति कम छ।
सिंहदरबारको दक्षिण गेटअगाडि सवारीसाधन छाडेर निस्केका र बिहान काममा जाने केही कर्मचारीलाई कार्ड देखाएर प्रवेश दिइएको छ। तर गेट वरपर उभिन दिइएको छैन। दक्षिण गेटबाट माइतीघर जाने बाटोमा निकै कडाइ छ। माइतीघर चोक र रामशाह पथमा नेपाली सेनाको बाक्लो उपस्थिति छ। एम्बुलेन्स र फोहोर बोकेका गाडी बाहेक अन्य सवारीसाधनलाई फर्काइएको छ।
अनामनगरको हनुमानस्थानमा रहेको भाटभटेनी बाहिर निजी सुरक्षाकर्मी घेरा हालेर बसेका छन्।











तस्बिरहरूः