देशकै प्रशासनीक केन्द्रसमेत रहेको राणकालीन वैभव सिंहदरबार अहिले आगाको लप्काभित्र छ। मन्त्रालयहररूको आगो त निभेको देखिन्छ भने सिंहदरबारको मुख्य प्रवेशद्वारतर्फको पश्चिम मोहोडामा अहिले पनि आगो दन्किइरहेको छ।
‘१९ घन्टादेखि यहाँ अविराम आगो लागिरेहको छ, हामीले ४० पटकभन्दा बढी दमकल ल्याएर पानी हालिरहेका छौं। झन्झन् ठूलो आगो दन्किइरहेको छ, के देख्नुपर्यो,’ नेपाली सेनाका अग्निनियन्त्रक हार मान्दै सुनाउँदै थिए।
उनीहरूले ३५ सय लिटर क्षमताको दमकल प्रयोग गरिरहेका छन्। एकपटक ओसारेको पानी बढीमा १० मिनेट टिक्दो रहेछ। त्यसपछि आगाको झन् ठूलो मुस्लो छुट्थ्यो। सिंहदरबारभित्रको यो दृश्यले त्यहाँ रहेका केही कर्मचारी शोकमग्न देखिन्थे।
जेन–जी प्रदर्शनकारीले मंगलबार दिउँसो ३ बजे सिंहदरबार जलाउन सुरू गरेका थिए।
अनामनगरतर्फ, पश्चिम गेट फोडेर भित्र प्रवेश गरेका उनीहरूले सुरूमा गृह मन्त्रालय तोडफोड गर्दै आगजनी सुरू गरेका थिए। त्यसपछि केही अघि बढेर उनीहरूले उत्तरतर्फ रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निशाना बनाए।
सिंहदरबारभित्र रहेका अधिकांश मन्त्रालय क्षतिग्रस्त छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयृ गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा मन्त्रालय खण्डजस्तै बनेका छन्। मन्त्रालय परिसरमा राखेको सवारी साधनहरू पूर्णतः जलाइएका छन्।
सिंहदरबारभित्र अहिले बिहानको दृश्य भयानक बमबारीपछिको जस्तो देखिन्छ।
जेन–जीका निशानमा सिंहदरबाभित्रका सबैजसो निकाय परेका छन्। नेकपा (एमाले) संसदीय दलको कार्याल, नेपाली कांग्रेस संसदीय दलको कार्यालय पनि खण्डहर बनेको छ।
त्यहाँ रहेका कर्मचारीहरूले भागेर ज्यान जोगाएका थिए।
‘आक्रमणकारीहरूको हुल आउनेबित्तिकै हामी त ज्यान जोगाएर भाग्यौं, नत्र हामीलाई पनि जिउँदै जलाउँथेँ होला। उनीहरूले गमलादेखि मन्त्रीको कुर्सीसम्म बाँकी राखेका छैनन्,’ कर्मचारीहरू सुनाउँदै थिए।
सिंहदरबारको दक्षिण, पश्चिम, र पूर्वी गेटमा नेपाली सेना तैनाथ देखिन्छ भने खण्डहर मन्त्रालयहरू र जलिरहेको पश्चिम मोहडातर्फ सुरक्षाकर्मीको उपस्थिति छैन। आगलागीका कारण विद्युतको मुख्य लाइन नै बिच्छेद भएकाले अहिले सिंहदरबारमा ब्ल्याकआउट रहेको रेडियो नेपालको कर्मचारीले बताए। उनीहरूको अनुसार जेनेरेटरले पनि त्यति काम गरेको छैन।
‘हिजो दिउँसैदेखि यहाँ बत्ती, पानी केही पनि छैन। सिंहदरबार अनकन्टार गाउँजस्तै बनेको छ। जताजतै खरानी, जलिरहेका गाडीका अवशेषले भीषण युद्धपछिको तहसनहसको अजवस्थाजस्तो पनि छ, खै यहाँको दृश्य कस्तो छ, म त वर्णन पनि गर्न सक्दिनँ, सपनामा पो छु कि जस्तो लाग्छ, फेरि हेर्छु पश्चिमतर्फ धुवाँको मुस्लो छुटिरहेको छ,’ त्रसित मुद्रामा रेडियो नेपालका कर्मचारीहरूले सनाउँदै थिए।
उनीहरूले मनसुन यामलाई पनि दोष दिँदै थिए। काठमाडौंमा छिटपुट वर्षा हुँदा सिंहदबारभित्र छिट्याएको पनि छैन।
‘झमझम झरी परेको भए पनि त ऐतिहासिक दस्तावेज जोगिन्थ्यो कि,’ उनले भग्न पश्चिम मोहोडा देखाउँदै भनिरहेका थिए।
पश्चिम मोहडा भूकम्पपछि झन्डै १० वर्ष लगाएर पुनःनिर्माण गरिएको हो। राणाकालीन वैभव, पुरातात्विक महत्त्वको पनि रहेकाले त्यसलाई पुरानै शैलीमा पुनःनिर्माण गरिएको थियो। अहिले यो सम्पदा खण्डहर छ। आगो निभे पनि यसलाई बनाउन वर्षौं परिश्रम पर्ने गरी खण्डहर भएको छ। आगलागी र दमकलबाट उच्च पानीको प्रवाह प्रयोग गर्नुपरेकाले धमधम सिलिङहरू खसिरहेका छन्। प्राचिन इँटा, त्यसलाई अड्याउन प्रयोग गरिएको चुना, सुर्कीहरू पनि प्रज्ज्वलनशील बन्दै बलिरहेका छन्।
मन्त्रालयहरूको अवस्था पनि त्यस्तै छ। अधिकांश मन्त्रालयका सरकारी कागजात प्रदर्शनकारीले सडकमा निकालेर जलाएका छन्। बचेखुचेका कागज मन्त्रालय परिसर, बगैँचामा यत्रतत्र छरिएको अवस्थामा देख्न सकिन्छ।
तस्बिरहरूः
-ink-1757477581.jpeg)
-ink-1757477581.jpeg)
-ink-1757477580.jpeg)
-ink-1757477580.jpeg)
-ink-1757477580.jpeg)
-ink-1757477580.jpeg)
-ink-1757477579.jpeg)
-ink-1757477579.jpeg)
-ink-1757477578.jpeg)
-ink-1757477578.jpeg)
-ink-1757477578.jpeg)
-ink-1757477578.jpeg)