भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा आउने भएका छन्।
बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई नेपाल आउन लागेका हुन्। ‘नेपाल इन्डिया जुडिसियल डायलग’ को दुई दिनको कार्यक्रममा सहभागी हुन गवई नेपाल आउन लागेका हुन्।
गवई भारतका ५२ औं प्रधान न्यायाधीश हुन्। उनले २०२५ मे १४ मा कार्यभार सम्हालेका थिए।
कार्यक्रम शुक्रबार र शनिबार हुनेछ। उक्त कार्यक्रम सकेर भारतीय प्रधानन्यायाधीश गवई फर्किने तालिका छ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सन् २०२३ मा भारत भ्रमणमा गएका थिए। उनीसँगै न्यायाधीश हरिप्रसाद फुयाल पनि भ्रमणमा गएका थिए।
भ्रमणका क्रममा दुवै जना इजलासमा समेत बसेका थिए।
पछि प्रधान्यायाधीश श्रेष्ठकै निमन्त्रणामा तत्कालीन भारतीय प्रधान न्यायाधीश धनन्जय यश्वन्त चन्द्रचुड सन् २०२४ मा तीन दिने नेपाल भ्रमणमा आएका थिए।