सिन्धुलीको कमलामाई नगरपालिका–९ नयाँबस्ती नजिकै मंगलबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
एक जना गम्भीर घाइते भएका छन्।
दिउँसो २ बजेतिर बर्दीबासबाट कटारीतर्फ जाँदै गरेको ग २ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा १६ प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको छ।
दुर्घटनामा काभ्रे भुल्लु गाउँपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने १८ वर्षीय शौगात माझीको मृत्यु भएको हो।
टाउको र छातीमा गम्भीर चोट लागेका माझीलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याइएको थियो।
अस्पतालमा पुग्नेवित्तिकै चिकित्सकले उनलाई दिउँसो २ः३० बजे मृत घोषणा गरेका थिए।
मोटरसाइकलमा पछाडि सवार भारत बिहारको मोतिहारी घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने १८ वर्षीय सागर आलम गम्भीर घाइते छन्।
उनको सिन्धुली जिल्ला अस्पतालमै उपचार भइरहेको छ। दुवै सवारी साधन र बस चालकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ।