हुम्लामा महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा इन्चार्जसहित तीन जना पक्राउ परेका छन्।
ताजाकोट गाउँपालिका- ३ को मैला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा पक्राउ परेका हुन्।
उनीहरूलाई मंगलबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।
'अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दा दर्ता भएर अनुसन्धान अगाडि बढाएका छौं,' इन्स्पेक्टर श्रेष्ठले भने।
घटना भदौ १० गते रातिको हो।
सिन्धुपाल्चोक घर भएकी युवती झण्डै एक वर्षदेखि स्वास्थ्य चौकीमै काम गर्दै आएकी थिइन्। उनी कार्यालयकै क्वाटरमा बस्थिन्।
त्यो रात खाना खाएर उनी सुतिरहेकी थिइन्। इन्चार्ज शर्मासहित तीनैजना मदिरा सेवन गरी युवतीको कोठामा गएर अभद्र व्यवहार गरेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए।
'बलात्कारको प्रयास भन्ने कुरा आए पनि स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार भएको प्रहरी अनुसन्धानमा खुलेको छ। त्यही अनुसारले मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अगाडि बढाइएको छ,' उनले भने।