वीरगञ्जमा बुधबार एकैदिन १ सय ६ जना हैजा संक्रमित थपिएका छन्।
वीरगञ्जका विभिन्न अस्पतालमा १ सय ६ जना नयाँ संक्रमित भर्ना भएका हुन्। योसँगै दर्ता भएका संक्रमितको संख्या ५ सय २८ पुगेको छ।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार संक्रमितमध्ये २ सय ५७ जना उपचारपछि घर फर्किएका छन्। २ सय ७१ जनाको वीरगञ्जको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
३५ जना आइसियु, ४ जना एचडियु र २ सय ३२ जना जनरल वार्डमा उपचाररत छन्।
नारायणी अस्पतालमा १ सय ५८, वीरगञ्ज हेल्थ केयर अस्पतालमा २४, तराई हस्पिटलमा ४२, नेसनल मेडिकल कलेज १९, प्रभु अस्पतालमा ७, सर्वोत्तममा ६, एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ हस्पिटलमा ४/४ जना, भवानी अस्पतालमा २ र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार चलिरहेको छ।
यसैबीच वीरगञ्ज महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियान सञ्चालन गरेको छ। वीरगञ्जमा फैलिरहेको हैजा, झाडापखाला, आउँ जस्ता संक्रामक रोगहरूबारे नागरिकलाई सचेत बनाउन घरदैलो अभियान सञ्चालन गरेको हो।
स्वास्थ्यकर्मीहरूले नगरबासीको घरदैलोमा पुगेर पानी उमालेर वा पियुष (क्लोरिन) प्रयोग गरेर मात्र सेवन गर्न, खाना ढाकेर राख्न, फोहर खुला स्थानमा नफ्याँक्न, खुला स्थानमा दिसा–पिसाब नगर्न, साबुनपानीले मिचिमिची हात धुने बानी बसाल्न आग्रह गरेका छन् ।
'स्वच्छता नै रोग नियन्त्रणको पहिलो औषधि हो' भन्ने कुरामा जोड दिएको स्वास्थ्य शाखा प्रमुख राजु साहले जानकारी दिए।
'हैजा र झाडापखालाको रोकथामका लागि औषधि मात्रै पर्याप्त हुँदैन, जनचेतना नै प्रभावकारी उपाय हो। त्यसैले घर घर पुगेर व्यवहारमै परिवर्तन ल्याउन आग्रह गरिरहेका छौं,' उनले भने।