चितवनको चर्को गर्मी। टिनको छानोमुनिको तातो। मातृका चेपाङलाई यसको कुनै पर्वाह छैन अचेल।
उनको पूरै ध्यान किताबमा छ। ठूला–ठूला किताबका ठेली संकलन गर्दै कम्मर कसेर पढिरहेका छन् उनी।
उनलाई आफ्नो समुदायकै पहिलो डाक्टर बन्नु छ। केही महिनापछि हुने एमबिबिएसको प्रवेश परीक्षा उत्तीर्ण गर्ने अनि चेपाङ समुदायकै पहिलो डाक्टर बन्ने सपना देखिरहेका छन् उनी।
मातृकाको घर कालिका नगरपालिका वडा नम्बर १० (साविकको सिद्धी गाविसको नान्दार गाउँ) हो।
२०६९ सालमा पत्रकार केपी किरण शर्मा समाचार संकलनका लागि नान्दार पुगेका थिए। मातृकाको घरमा चरम भोकमरी देखेपछि उनलाई पढाउने उद्देश्यले शर्माले रत्ननगर ल्याएका थिए।
पछि शर्माले गरिबीका कारण शिक्षाबाट वञ्चित भइरहेका चेपाङ बालबालिकाको शिक्षाका लागि रत्ननगरमा होस्टल (छात्रावास) खोले। अहिले १५० जना बालबालिका गामबेसीको चेपाङ संरक्षण केन्द्र नामको उक्त होस्टल बसेर पढ्छन्।
मातृका पनि यहीँ बसेर पढ्छन्।
सात वर्षको उमेरमा रत्ननगर झरेका मातृका कक्षा १ देखि ५ सम्म पञ्चतेज आधारभूत विद्यालयमा पढे। कक्षा १० सम्म पञ्चकन्या मावि र प्लस–टू नेपाल माविमा पढे। कक्षा १२ उनले विज्ञान विषय पढेका हुन्।

'स्कुल नेपाली माध्यममा पढेँ। प्लस–टूमा सबै विषय अंग्रेजीमा पढ्नुपर्दा केही गाह्रो भयो। तर सकेको मेहनत गरेर पढेँ। अब मेरो अंग्रेजी भाषा पनि धेरै सुधार भएको छ। एमबिबिएस पढ्न चाहिने जिपिए ल्याएको छु। त्यसैले तयारी गरिरहेको छु,' मातृकाले भने, 'चेपाङ समुदायमा अहिलेसम्म कोही पनि डाक्टर बनेको छैन। आफ्नो समुदायको पहिलो डाक्टर बन्ने लक्ष्य राखेको छु।'
तर डाक्टर बन्ने लक्ष्य उनको चाहनाले मात्रै पूरा हुँदैन। मेहनतले मात्रै पनि पूरा नहुन सक्छ।
'बेलैमा यहाँ आइनपुगेको भए म गाउँतिरै दुःख पाइरहेको हुन्थेँ होला,' मातृकाले भने, 'भाग्यले यहाँ आइपुगेँ। होस्टलले मलाई ठूलो गुन लगायो। पढाइमा अझै पनि धेरै खर्च लाग्छ। मेरो परिवारले खर्च गरेर पढाउन सक्दैन। सहयोगी कोही भेटिए डाक्टरी पढ्ने चाहना पूरा हुन्थ्यो।'
प्रवेश परीक्षा तयारीका लागि उनले केही किताब किनेर, केही चिनेजानेकाबाट संकलन गरेका छन्। किताबबाहेक इन्टरनेटमार्फत पनि सामग्री खोजेर पढ्छन्।
डाक्टर बनेर विकट क्षेत्रमा सेवा गर्ने चाहना छ उनको। आर्थिक अभावका कारण उपचारबाट वञ्चित समुदायको सेवा गर्ने पनि इच्छा भएको उनले बताए।
उनी बिदाको समयमा घर जान्छन्। उनका अनुसार अहिले पनि गाउँको अवस्था १०–१२ वर्ष पहिलेभन्दा धेरै फरक छैन। ज्वरो आउँदा सिटामोल पाउन मुस्किल छ। अस्पताल पुग्न घन्टौं हिँड्नुपर्छ। सहरतिरका अस्पतालमा चाहिनेभन्दा धेरै डाक्टर हुने र गाउँमा कोही बस्न नखोज्ने प्रवृत्ति उनले देखेका छन्।
'त्यसैले पनि गाउँमै बसेर सेवा गर्ने इच्छा छ,' मातृकाले भने।
आर्थिक अवस्था कमजोर भएकै कारण चेपाङ समुदायका बालबालिकाले धेरै खर्च हुने पढाइको कल्पनै नगर्ने गामबेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले बताए।
'भोकमरी, एक सरो कपडा पनि नभएर नांगै हिँडिरहेका बालबालिका देखेपछि उनीहरूका लागि केही गर्नुपर्छ भनेर छात्रावास स्थापना गरियो। छात्रावासले जसोतसो स्रोत जुटाएर बालबालिकालाई शिक्षा दिइरहेको छ,' शर्माले भने, 'धेरै खर्च गरेर पढाउने सामर्थ्य हाम्रो पनि छैन। सहयोग गर्ने कोही निस्किए चेपाङ समुदायबाट पनि डाक्टर जन्मिन्छन्।'

केन्द्रमा बसेर कक्षा १ देखि पढेकामध्ये ८ जनाले एसइई परीक्षा उत्तीर्ण गरेका छन्।
उनीहरूमध्ये कालिका–१० की सिम्रन चेपाङले हेल्थ असिस्टेन्स (एचए) को पढाइ सकेकी छन्। काठमाडौंस्थित नेसनल हेल्थ फाउन्डेसनबाट पढाइ सकेर गत जेठमा लाइसेन्स प्राप्त गरेकी उनी जागिरको खोजीमा छन्।
उनको पनि मातृकाको जस्तै विकट गाउँतिर पुगेर सेवा गर्ने इच्छा छ।
'बुबा, आमा किसान हुनुहुन्छ। दिदीले पढ्न पाउनुभएन। एक भाइ र एक बहिनी यही छात्रावासमा बसेर पढिरहेका छन्। अर्का एक भाइ नवोदय स्कुलमा पढ्छन्,' उनले भनिन्, 'विद्यालय शिक्षा जसोतसो पाएँ। भाइबहिनी पनि पढिरहेका छन्। पढाइ अनुसार जागिर पाउन भने समस्या नै रहेछ।'
उनले राप्ती नगरपालिकाको स्वास्थ्य शाखामा एचए पदका लागि दरखास्त दिएको बताइन्।
केन्द्रबाट एसइई उत्तीर्ण भएकामध्ये तीन जनाले अहिले प्लम्बिङ तालिम लिइरहेका छन्। अरू प्लस–टू पढ्दैछन्।
सिम्रन चेपाङ