वीरगञ्ज महानगरपालिका वडा नं ११ बस्ने ६ वर्षीय बालकलाई नारायणी अस्पतालको इमर्जेन्सी भवनको प्यासेजमा म्याट्रेस ओछ्याएर राखिएको छ।
अस्पतालले लापरबाही गरेर उसलाई त्यहाँ राखेको भने हैन। वीरगञ्जमा फैलिएको हैजाको प्रकोपका कारण अस्पतालको इमर्जेन्सीमा बिरामीको चाप अत्याधिक बढेको छ।
प्रयोगशाला परीक्षणबाटै २० जनाको दिसामा हैजाको जीवाणु रहेको पुष्टि भइसकेको छ।
समुदायमै संक्रमण फैलिएका कारण बिरामी उपचारका लागि आउने क्रम रोकिएको छैन।
कतै एउटै बेडमा दुई तीन जना त कतै प्यासेजमा म्याट्रेस राखेर उपचार गर्नुपर्ने बाध्यता आइलागेको अस्पताल प्रशासनले जनाएको छ।
सुदान्सु कुमारका अनुसार ६ वर्षीय छोरालाई दुई दिनदेखि पखाला चलिरहेको थियो। तर मंगलबार बिहानदेखि भने तारन्तार दिसा लाग्न थाल्यो, बिहानै ५ पटक पातलो दिसा गरेपछि दौडाएर अस्पताल ल्याएको उनले सुनाए।
‘बोरिङ र खानेपानी संस्थान दुवै तिरबाट धारा जडान छ, बोरिङको पानीबाट रोग फैलिएको छ भनेर हल्ला फैलिएपछि पानी उमालेर नै खाने गरेका थियौं,’ उनले भने, ‘तै पनि छोरालाई रोगले भेट्यो। अस्पताल ल्याएर सलिनपानी चढाएपछि अलि आराम भएको छ।’
-1756291253.jpg)
छेउकै अर्को बेडसिटमा वीरगञ्ज–१० घडिअर्वा गोपालमन्दिर नजिकै बस्ने ९५ वर्षीया फेकनी देवीको उपचार चलिरहेको छ। उनले पेट झरी (पखाला लागेको) का कारण अस्पताल आएको बताइन्।
मंगलबार दिउँसो अस्पताल ल्याएकी उनलाई इमर्जेन्सीको प्यासेजमै राखेर स्लाइन चढाइएको थियो। छोरी लिलावतीले अस्पतालमा उपचारका लागि पैसा नलागेको बताइन्।
मंगलबार इमर्जेन्सीको शौचालयतर्फ जाने ठाउँ समेत खाली थिएन। रौतहटबाट आएका एक जनालाई उपचारका लागि राखिएको थियो। पखालाले भिजेका उनलाई आफन्तले अलपत्र छोडेर गएका थिए। पछि अस्पतालका कर्मचारीले सरसफाइ गरेर उपचार सुरू गरेपछि श्रीमती आइपुगेकी थिइन्।
इमर्जेन्सी विभागका निमित्त विभागीय प्रमुख एवं अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले अनुसार २५ बेडको इमर्जेन्सीमा बढी संख्यामा बिरामी आउँदा भुइँमा राखेर उपचार गर्नुपरेको बताए।
‘डेडिकेटेड वार्ड त छ तर डिस्चार्ज हुने भन्दा भर्ना हुने बढी हुँदा भुइँमै राखेर उपचार गर्नु परिरहेको छ,’ उनले भने।
इमर्जेन्सीमा आएका बिरामीको स्थिति सामान्य भएपछि आवश्यकता अनुसार अन्यत्र सार्ने वा डिस्चार्ज गर्ने गरिएको उनको भनाइ छ।
इमर्जेन्सी बाहेक अस्पतालको प्रसूति वार्डमा १७ बेड, मेडिकल वार्डमा १२ बेड, सर्जीकल वार्डमा १० बेड झाडा पखालाका बिरामीका लागि छुट्याएको छ। पेडियाट्रिक वार्डमा अन्य बिरामीसँगै झाडा पखालाका बिरामी पनि राखिएको छ।
सर्जिकल वार्डमा रहेका बिरामी घर गएपछि त्यहाँ राख्न नपर्ने गरी तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।
‘बिरामीको चाप बढेकै छ, मंगलबार ५४ जना नयाँ बिरामी भर्ना भए,’ उनले भने, ‘अप्ठेरो परिस्थिति छ, कसरी हुन्छ व्यवस्थापनमा लागेका छौं।’
उनका अनुसार कोरोना महामारीमा पिसिआर ल्याब स्थापना गरिएको ठाउँमा २५ वटा बेड राखेर सेवा दिनेगरी तयारी भइरहेको छ।
अस्पतालमा पखाला लागेर आएका बिरामीलाई निःशुल्क उपचार भइरहेकोले पनि चाप बढेको अनुमान चिकित्सकहरूले गरेका छन्।
कसरी हुँदैछ उपचार?
अस्पतालको जनशक्तिले मात्रै सेवा प्रवाह गर्न कठिन भएपछि बाहिरबाट जनशक्ति मगाइएको छ। संघ, प्रदेश, स्थानीय सरकार, वीरगञ्ज नर्सिङ कलेजबाट थप मेडिकल अधिकृत लगायत स्वास्थ्यकर्मी र सहयोगी कर्मचारी आएका छन्।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट डा. विनय प्रताप सिंहसहित तीन जना मेडिकल अधिकृत नारायणी अस्पतालमा खटिएका छन्।
डा. विनयका अनुसार बिरामीमा चौलानी जस्तो पातलो दिसा हुने, वान्ता गर्ने, टाउको दुख्ने, पेट दुख्ने, मुख सुक्ने, तागत नहुने जस्ता लक्षण देखिएका छन्।
६३ जना चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सहयोगी कर्मचारी बाहिरबाट थपिएको मेडिकल सुपरिटेन्डेन्ट डा. दासले बताए।
उनका अनुसार छुट्टीमा गएका चिकित्सक स्वास्थ्यकर्मीलाई समेत फिर्ता बोलाएर उपचारमा खटाइएको छ।
‘आन्तरिक र बाह्य दुवै जनशक्ति परिचालन गरेका छौं, संघ, प्रदेश, स्वास्थ्य कार्यालयले पठाएका तथा अस्पताल फार्मेसीबाट निःशुल्क औषधि उपलब्ध गराएका छौं,’ उनले भने, ‘बाहिरबाट आएका स्वास्थ्यकर्मीलाई गोपाल सेवा समितिमा बसोबासको व्यवस्थापन मिलाइएको छ।’
प्रोटोकलभन्दा बाहिरको औषधि नलेखिदिन चिकित्सकलाई आग्रह गरिएको उनले बताए।
-1756291253.jpg)
बिरामीका उपचारका लागि जनशक्ति, औषधि र स्थानको आवश्यकता पर्ने हुँदा त्यसैको व्यवस्थापनमा लागि परेको उनले बताए।
‘मर्मत गरेर काम लाग्ने बेडलाई मर्मत गर्दैछौं, नपुग बेड मगाउँदैछौं, बेडसिट, म्याट्रेस छ,’ उनले भने, ‘जनशक्तिका लागि प्रदेशलाई भनेका छौं।’
कुरूवा नै संक्रमित
बिरामी कुर्न बसेकाहरू नै संक्रमित भएर पखाला चल्न थालेपछि अस्पतालमा भर्ना भएका छन्। बिरामीसँगै कुरूवा बेडमै बसिदिने र आवश्यक स्वास्थ्य सतर्कता नअपनाउने हुँदा संक्रमण भएको पाइएको छ।
वीरगञ्ज–११ रामटोलकी सरिता पटेल छोरीको उपचारमा संलग्न थिइन्। सोमबार १४ वर्षीया छोरीलाई अस्पताल ल्याएर उपचार गरेकी उनी मंगलबार आफै बिरामी परिन्। छोरी निको भएर घर जाँदा उनी अस्पतालको बेडमा पेट दुखाइले छटपटाउँदै थिइन्।
‘छोरी बिरामी भएर अस्पताल ल्याएको थिएँ, आफ्नै पेट झर्न थाल्यो,’ उनले भनिन्।
बिरामीका कुरूवालाई पटक/पटक आग्रह गर्दा पनि बेडमै बस्ने, साबुन पानीले हात नधुने जस्ता समस्या देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन्। अस्पतालमा बिरामी भेट्नका लागि समूहमा मानिसहरू आउने प्रवृत्तिले स्वास्थ्यकर्मीहरू हैरान छन्।
२४ घण्टामा ९३ नयाँ केस थपिए
मंगलबार साँझ सार्वजनिक तथ्यांक अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा ९ अगष्टदेखि हालसम्म ४ सय २२ जना भर्ना भएका छन्। जसमध्ये ५ वर्ष मुनिका २२ जना र ३ जना गर्भवती छन्। आरडिटी परीक्षणमा हैजा पुष्टि हुनेको संख्या ११४ पुगेको छ। ३२ जनाको दिसा कल्चरका लागि पठाइएकोमा २० पोजेटिभ देखिएको छ। २ सय २३ जना उपचारपछि घर फर्किएका छन्।
१ सय ९९ जनाको उपचार चलिरहेको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
वीरगञ्ज महानगरपालिकाको २१ वडाबाट पखाला लागेर बिरामी अस्पतालमा उपचारका लागि आइसकेका छन्। पछिल्लो २४ घण्टामा नारायणी अस्पतालमा ६१ सहित ९३ वटा नयाँ केस अस्पतालमा पुगेको छ।