नेपाल बार एसोसिएसनले फैसला अध्ययन समिति गठन गर्न समिति बनाएको छ।
सर्वोच्च अदालत बार एसोसिएसनका वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेको योजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो।
समितिले बाझिएका र विधिशास्त्र विपरितका फैसलाबारे अध्ययन गर्नेछ।
‘समितिलाई खुला रूपमा बाझिएका र विधिशास्त्र विपरितका फैसलालाई अध्ययन गर्न भनिएको छ,’ बारका महासचिव केदारप्रसाद कोइरालाले भने।
यस समितिमा वरिष्ठ अधिवक्ताहरू सुष्मा बास्कोटा बराल, श्रीकान्त बराल, सानुभाई शाक्य र अधिवक्ता माधवकुमार बस्नेत सदस्य छन्।
नेपाल बार एसोसिएसनको विधान, २०४८ बमोजिम केन्द्रीय कार्यसमितिको बैठकले समिति गठन गरेको हो।
समितिले दिने प्रतिवेदन वार्षिक साधारण सभा र केन्द्रीय कार्यकारिणी परिषदको बैठकमा प्रस्तुत तथा प्रकाशन हुनेछ।
‘जग्गा संरक्षण, राष्ट्रिय गौरवका आयोजना, नदी तालतलैयालगायत विभिन्न विषयका मुद्दामा भएका फैसलाहरू उदाहरणका रूपमा छन्। कतिपय फैसलाहरू विवादित बनेका छन्। एकै खालको इस्यूमा दुई थरी फैसलाहरू भए भनेर समिति गठन भएको हो,’ महासचिव कोइरालाले भने।