सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले चितवन र कपिलवस्तुका सशस्त्र प्रहरीका सहिद परिवारसँग भेटघाट गरेका छन्।
आइतबार सशस्त्र प्रहरी बल नेपाल नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको आठौं वार्षिकोत्सवको अवसरमा आइजिपी अर्यालले सहिदका परिवारसँग भेटघाट गरेका हुन्।
भेटमा आइजिपी अर्यालले भने, ‘सहिद परिवारले २ छाक खान चिन्ता गर्नुपर्दैन, अप्ठेरो अवस्थामा नजिकमा रहेको व्यारेकबाट राशन पानी लगेर भएपनि तपाईंहरूको मुहारमा खुशी ल्याउने व्यवस्था मिलाउँछु।’
त्यस्तै उनले सहिदको वार्षिकीमा हुने धार्मिक कार्यक्रममा नजिकैको युनिटका कमाण्डर वा प्रतिनिधि अनिवार्य उपस्थित हुने र सहिद परिवारसँग स्थानीय युनिट निरन्तर सम्पर्कमा रहन बाहिनीपतिहरूलाई निर्देशन पनि दिए।
नं ३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्रका डिआइजी अञ्जनीकुमार पोखरेलले संगठन, बाहिनी, गण तथा गुल्मको वार्षिकोत्सव, वडाभोज लगायतमा सहिद परिवारसँगसँगै मनाउने गरिएको बताए।
उनीहरूको पिरमर्का, समस्या बुझ्ने काम निरन्तर गरिरहेको पनि उनले बताए।
साथै सहिद भएको ठाउँमा उनीहरूको नाममा चौतारा, पाटीपौवा, प्रतिक्षालय, धारा आदि निर्माण कार्यमा समेत सहयोग गर्न आइजिपी अर्यालले निर्देशन दिए।
उनले कपिलवस्तु जिल्लाका सहिदका परिवारसँग पनि भेटघाट तथा छलफल गरेका थिए।
नं ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौं वार्षिकोत्सवमा उनले भने, ‘देश र जनताको लागि रगत बगाउने सन्तानको परिवार हुनुहुन्छ त्यसमा हाम्रो उच्च सम्मान छ।’