पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन जिल्ला अदालत कास्कीमा उपस्थित भएका छन्।
सहकारी ठगी अभियोगमा फरार रहेका बमजन आइतबार जिल्ला अदालतमा उपस्थित भएर आफ्नो तर्फबाट बयान दिएका छन्।
अदालतका न्यायाधीश शंकरकुमार राईको इजलासमा बमजन उपस्थित भएर बयान दिएका हुन्।
बमजन सूर्यदर्शन सहकारी ठगीको मुख्ययोजना एवं ग्यालेक्सी टेलिभिजन चलाउने कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राइका जेठान हुन्। बमजनले नै राईलाई उक्त सहकारीमा लगेर अध्यक्ष बनाएका थिए। बमजनको कम्पनी एवं सहकारीमा काम गर्न थालेपछि जिबी राईले उनकी बहिनी भगवती बमजनसँग दोस्रो विवाह गरेका थिए।
अदातलमा उपस्थित भएर बमजनले सहकारी ठगीमा आफू संलग्न नभएको इन्कारी बयान दिएका छन्। जिल्ला अदालत कास्कीका स्रेष्तेदार राजन खनालका अनुसार बयान सकिएकाले आइतबार नै आदेश आउन सक्ने बताए।
जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा बमजन सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग लागेको छ। सहकारीबाट अपचन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाको संयुक्त अभियोग पनि बमजनमाथि लागेको छ।
सहकारी पीडितले भने फरार प्रतिवादी बमजन अदालतमा उपस्थित भएर बयान दिँदा जाहेरवालालाई खबर नगरको भन्दै असन्तुष्टि जनाएका छन्।
सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बमजन अदालतमा उपस्थित भएको थाहा पाएपछि कानुन व्यवसायी लिएर जानुपरेको बताए। अदालतमा आफ्ना कुरा राख्दा इजलासमै प्रहरीले चुप लाग भनेको पनि उनले बताए।
‘हामीलाई सरकारी वकिल र अदालत कतैबाट पनि थाहा भएन, बाहिरबाहिर थाहा पाएर पुग्दा बयान चलिराखेको थियो,’ उनले भने, ‘मैले इजलासमा केही कुरा राख्छु भन्दा प्रहरीले चुप लाग भनेर हस्तक्षेप गर्यो। न्यायाधीशले नबोल्नु भन्नुभएको थिएन।’
अदालतमा सहकारी पीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, बिबि विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए भने बामजनका तर्फबाट कानुन व्यवसायी द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए।