काठमाडौंको सुन्दरीजलमा खोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ।
आइतबार बिहान पौने ९ बजेतिर गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बोक्सी दह नजिकै ढुंगा कापमा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
मृतक संखुवासभा खाँदबारी नगरपालिका-११ घर भई ललितपुर बस्ने २० वर्षीय अभिषेक राई हुन्।
उनी शनिबार सुन्दरी जलको निकुञ्ज नजिकै रहेको बागमती खोलामा पौडी खेल्न गएका थिए। पौडी खेल्नेक्रममा उनी डुबेर बेपत्ता भएपछि प्रहरीलाई बोलाइएको थियो।
प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शनिबार खोज्दा पनि फेला पर्न सकेको थिएन।
आइतबार बिहान खोज्नर्क्रममा दह नजिकै ढुंगाको कापमा शव फेला परेको हो।
शव निकालेर पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।