इसराइलले गजामा युद्धविरामको नयाँ प्रस्तावलाई अस्वीकार गरेको छ।
गजामा युद्धविरामका लागि लगातार मध्यस्थता गरिरहेको कतार र इजिप्टका मध्यस्थकर्ताहरूले तयार पारेको नयाँ प्रस्तावलाई इसराइलले अस्वीकार गरेको हो।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इसराइलले स्वीकार्ने शर्तहरूमा मात्रै युद्धविराम हुनसक्ने र त्यसका लागि वार्ता गर्न मध्यस्थकर्ताहरूलाई आग्रह गरेका छन्।
उनले हमाससँग बाँकी रहेका बन्धकहरु एकैपटक रिहा गर्ने सर्तमा मात्रै गजामा युद्धविरामको प्रस्तावलाई स्वीकार्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मध्यस्थकर्ताहरूले तयार पारेको नयाँ प्रस्तावमा हमास सहमत भइसकेको छ।
नयाँ प्रस्तावमा गजामा ६० दिन युद्धविराम गर्ने भनिएको छ। पहिलो चरणमा आधा भन्दा बढी बन्धकहरू रिहा गर्ने, गजाबाट इसराइली सैनिक हट्ने, इसराइलको जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने लगायतका प्रस्तावहरू छन्।
यसमा हमासले गजामा दीर्घकालीन शान्तिको ज्ञारेन्टी पनि खोजेको छ।
उसले ६० दिनपछि फेरि गजामा इसराइलबाट आक्रमण नहोस् भन्ने सुनिश्चितताको ज्ञारेन्टी अमेरिकाले गर्नुपर्ने सर्त राखेको छ।
गजाबाट इसराइली सैनिक हट्नुपर्ने सर्तमा इसराइल सहमत छैन।
बरू उसले गजामा इसराइली सैनिकको नियन्त्रण हुनुपर्ने, हमासलाई निशस्त्रीकरण, गजामा असैन्यकरण गर्ने र गजामा गैर हमास तथा गैर प्यालेस्टिनी शासन स्थापना गर्ने कडा सर्त अघि सारेको छ।
ती सर्तहरुमा वार्ताको प्रयत्न भइरहेको बिबिसीले जनाएको छ।
नेतन्याहूले बिहीबार इसराइली सेनाको गजा डिभिजनको मुख्यालय भ्रमण गरेका थिए।
त्यस क्रममा उनले सबै बन्धकको रिहा एकैपटक गर्ने सर्त राखेर वार्ता गर्न मध्यस्थकर्ताहरूलाई भनेको बताएका छन्।
'मैले हाम्रा सबै बन्धकहरूको रिहाइका लागि तत्काल वार्ता सुरु गर्न निर्देशन दिएको छु,' उनले भने।
उनले सैन्य अधिकारीहरूलाई मन्त्रिपरिषदले गजामा भीषण सैन्य कारबाही चलाउने प्रस्तावलाई स्वीकृति दिएको ब्रिफिङ गरेका थिए।
'म गजा शहरलाई नियन्त्रणमा लिने र हमासलाई परास्त गर्ने योजनालाई अनुमोदन गर्न यहाँ आएको हुँ। हमासलाई परास्त गर्ने र हाम्रा सबै बन्धकहरूलाई रिहा गर्ने विषय एकअर्कासँग जोडिएका छन्,' गजा डिभिजन मुख्यालयमा नेतन्याहूले भने ।
गजालाई सम्पूर्ण रूपमा कब्जा गर्ने नेतन्याहूको निर्णयबारे तीव्र आलोचना भइरहेको छ।
गजामा सैन्य कारबाहीका लागि तत्काल ६० हजार जना रिजर्भ सैनिक परिचालन गर्ने र २० हजारको सेवा अबधी लम्ब्याउने भनिएको छ।
पढ्नुस्ः इसराइलले थाल्यो गजा कब्जाको पहिलो चरण, बोलायो ८० हजार रिजर्भ सैनिक
बिहीबारदेखि नै गजामा आक्रमण सुरू भइसकेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
देशभित्र र अन्य देशहरूले नेतन्याहूको सो कदमले बाँकी रहेका बन्धकहरूको जीवन पनि खतरामा पर्ने चेतावनी दिँदै गजा कब्जा गर्ने निर्णयबाट पछि हट्न आग्रह गरेका छन्।
इसराइलमा पनि दैनिक हजारौं मानिसहरू सडकमा उत्रिएर प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए। इसराइलीहरूले हमाससँग सम्झौता गरेर भए पनि बाँकी भएका बन्धकहरूलाई फिर्ता ल्याउन सरकारसँग माग गरिरहेका छन्।
राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाबका बाबजुद नेतन्याहूले गजामा भीषण हमलाका लागि निर्देशन दिएका हुन्।
७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणको जवाफमा इजरायली सेनाले गाजामा सैन्य अभियान सुरु गरेको थियो। उक्त आक्रमणमा करिब १,२०० मानिस मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो।त्यसयता गाजामा कम्तीमा ६२,१९२ जना मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)