काठमाडौंमा घोडाले हान्दा एक जना घाइते भएकी छन्।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ माकलबारीमा चराउन ल्याएको घोडाले पैदलयात्रीलाई खुट्टाले हानेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
मंगलबार साँझ साढे ६ बजेतिर दोलखा घर भई माकलबारी बस्ने १६ वर्षीय किशोरले घोडा चराउन ल्याएका थिए।
त्यही बेला माकलबारी बस्ने ५२ वर्षीया महिलालाई घोडाले खुट्टाले हिर्काएको थिए।
ती महिला घाइते भएपछि उपचारको लागि मेडिसिटी अस्पताल ललितपुरमा पठाइएको थियो। महिलाको टाउको र हातमा चोट लागेको छ।
प्रहरीले घोडा चराउने किशोर र घोडालाई नियन्त्रणमा लिएर माकलबारी प्रहरी बिटमा राखेको छ।
उपचारपछि ती महिला मध्यराति डिस्चार्ज भएकी छन्।