सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरी निकासी पैठारी र अवैध आवतजावत रोक्नका लागि थप कडा गर्न निर्देशन दिएका छन्।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरुलाई सीमा सुरक्षासँग सम्बन्धी विविध विषयमा निर्देशन दिएका हुन्।
उनले जवाफदेही र जिम्मेवार बन्न तथा चेनअफ कमाण्डलाई कायम राख्न मातहत सबै कमाण्डरहरूको उत्तिकै भूमिका हुने बताएका हुन्।
सीमा इलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सुक्ष्म रूपमा निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा वा शंका लाग्नसाथ कुनै पनि कमाण्डर छानबिन र कारवाहीको भागिदार बन्ने उनले बताए।
उनले हरेक कमाण्डर मुलुक, आम जनता र संगठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेको स्पष्ट पारे।
उनले सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई सीमा क्षेत्रमा कार्य गर्दा अपनाउनुपर्ने आचरणका विषयमा समय–समयमा काउन्सिलिङ गर्दै आचरण विपरित कार्य गर्ने माथि कठोर हुन समेत निर्देशन दिए।
सीमा क्षेत्रबाट हुने अवैध आवतजावत रोक्नको लागि र शंकास्पद व्यक्ति देखिएमा त्यसलाई विशेष निगरानी गर्न र सीमा क्षेत्रलाई व्यवस्थित गर्न हर हालतमा चनाखो बन्न पनि उनले निर्देशन दिए।
बाहिनी मुख्यालय, गण, गुल्म तथा बिओपी कमाण्डरहरूलाई सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले त्यसक्षेत्रमा कार्यरत कमाण्डरहरूले सीमा अपराध रोकथामका लागि सरोकारवाला सबै निकाय सँगको समन्वय र सहकार्यमा कार्य गर्न निर्देशन दिए।
उनले सीमा क्षेत्रका स्थानीय वासिन्दा सँगको समन्वय र सहकार्य अझ महत्वपूर्ण रहेकाले त्यसमा समेत विशेष जोड दिन जरुरी रहेको बताए।