विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको बताएको छ। विश्व स्वास्थ्य संगठन सोमबार विज्ञप्ति जारी गर्दै खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको बताएको हो।
दादुरा जस्तै देखिने रुबेला अर्थात् जर्मन दादुरा, भाइरसको संक्रमणबाट हुने अति सङ्क्रामक रोग हो। यो रोगले विशेषगरी गर्भवती महिलाहरूमा जटिलता निम्त्याउँछ, जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने, वा बच्चालाई जीवनभर असर पार्ने अपांगता लगायतका समस्याहरु देखिन सक्छन्। तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ।
‘नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरूको लगनशिलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम हो। यस उपलब्धिले शिशुहरूका लागि स्वस्थ जीवनको सुरूआत र रूबेलामुक्त भविष्य सुनिश्चित गरेको छ,’ विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले भनिन्। उनले दक्षिण–पूर्व एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोग को सिफारिसलाई स्विकृत गर्दै नेपालबाट रूबेला निवारण भएको बताइन्।
क्षेत्रीय प्रमाणीकरण आयोगको २०८२ साउन ६ गतेदेखि ८ गतेसम्म भएको वार्षिक बैठकले नेपालको राष्ट्रिय प्रमाणीकरण समितिले पेश गरेको रोग निगरानी र खोप कभरेज दरसम्बन्धी तथ्यांक तथा विवरणको समिक्षा तथा मूल्यांकन गरी नेपालमा रूबेला निवारण भएको प्रमाणित गर्न सिफारिस गरेको थियो।
नेपाल, विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौं राष्ट्र बनेको छ।
सन् २०२६ भित्र दादुरा र रूबेलालाई जनस्वास्थ्य समस्याको रूपमा नरहेको अवस्थामा पुर्याउने लक्ष्य हासिल गर्ने सम्बन्धमा भूटान, उत्तर कोरिया, माल्दिभ्स र टिमोर–लेस्टेले दादुरा निवारण गरी सकेका छन् भने भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका, टिमोर–लेस्टे र अब नेपालले पनि रूबेला निवारणमा सफलता प्राप्त गरेका छन्।
‘नेपालले क्षेत्रीय लक्ष्यभन्दा अगाडि रुबेला निवारण गर्नु राष्ट्रिय खोप कार्यक्रमको सफलताको अर्को प्रमाण हो, जुन हाम्रो स्वास्थ्य प्रणालीको एक बलियो आधारस्तम्भको रुपमा रहँदै आएको छ। नेपालको खोप कार्यक्रमलगायत समग्र स्वास्थ्य क्षेत्रमा ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) र विश्व स्वास्थ्य संगठनले प्रदान गर्दै आएको निरन्तर सहयोग प्रति हामी कृतज्ञता व्यक्त गर्दछौं। म यस अवसरमा यो उपलब्धि हासिल गर्न योगदान पुर्याउनु हुने सम्पूर्ण नेतृत्वकर्ता, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधी एवंसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु र बधाई दिन पनि चाहन्छु। साथै, कुनै पनि बालबालिका अब खोपबाट बचाउन सकिने रोगबाट पीडित हुनु नपरोस् भन्ने उद्देश्यका लागि सबै सरोकारवालाहरूलाई सहयोग जारी राख्न समेत आह्वान गर्दछु,’ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भने।
नेपालले सन् २०१२ मा ९ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रूबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो। सन् २०१६ मा रूबेला खोपको दोश्रो मात्रा पनि राष्ट्रिय खोप तालिकामा थप गरियो।
सन् २०१५ र २०२३ का भूकम्प र कोभिड– १९ जस्ता स्वास्थ्य आपतकालीन अवस्थाका बीच पनि सन् २०१२, २०१६, २०२० र २०२४ मा देशभर सञ्चालन गरिएका रुबेला खोप अभियानले जीवनरक्षक खोपहरुमा पहुँच बृद्धि गर्नमा महत्वपूर्ण योगदान पुर्याएका थिए। त्यसैगरी, सन् २०२४ सम्ममा, नेपालले रूबेला खोपको पहिलो मात्रा ९५ प्रतिशतभन्दा बढी बालबालिकामा पुर्याउन सफल भएको थियो।
हरेक वर्ष वैशाख महिनालाई खोप महिनाको रूपमा मनाएर, नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि खोज र खोप अभियान सञ्चालन गरी स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रलाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने जस्ता नविनतम एवं सृजनात्मक प्रयासहरूले खोपबाट बचाउन सकिने रोग निवारणको लक्ष्यमा पुग्न थप गति प्रदान गरेको संगठनले जनाएको छ।
रोग निगरानीलाई अझ सबल बनाउने उद्देश्यले नेपालले हालै एक सुदृढ प्रयोगशाला परीक्षण प्रणाली लागू गरेको छ, यो दक्षिण–पूर्वी एसिया क्षेत्रमै पहिलो हो।
‘रूबेला निवारण गर्न सफल भएकोमा नेपाललाई बधाई छ। यो जनस्वास्थ्य क्षेत्रमा हासिल भएको महत्वपूर्ण उपलब्धि सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदायबीचको बलियो र प्रभावकारी सहकार्यको परिणाम हो। यस यात्रामा योगदान गर्न पाएकोमा विश्व स्वास्थ्य संगठन गर्व गर्दछ र यो उपलब्धि दीर्घकालसम्म कायम राख्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ,’ विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुख डा राजेश सम्भाजिराव पाण्डवले भनेका छन्।
दक्षिण–पूर्वी एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको स्थापना मार्च २०१६ मा भएको थियो। यस आयोगले दादुरा र रूबेला निवारण तर्फको प्रगतिको निगरानी गर्छ।
दक्षिण–पूर्वी एसिया क्षेत्रका प्रत्येक देशमा राष्ट्रिय प्रमाणीकरण समिति गठन भई सञ्चालनमा रहेका छन् जसले दादुरा र रूबेला निवारणतर्फको प्रगति प्रतिवेदन क्षेत्रीय प्रमाणकरण आयोग समक्ष पेश गर्छन् ती प्रतिवेदनहरु क्षेत्रीय प्रमाणीकरण आयोगले समीक्षा गरी आवश्यक सुझाव र सिफारिसहरू प्रदान गर्छ वा प्राप्त उपलब्धिलाई प्रमाणित गर्छ।
सन् २०१३ मा, विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रले सन् २०२० सम्ममा दादुरा निवारण र रूबेला नियन्त्रण गर्ने लक्ष्य निर्धारण गरेको थियो। सन् २०१९ मा उक्त समयसीमा परिमार्जन गरी सन् २०२३ सम्म दादुरा र रूबेला दुवै निवारण गर्ने लक्ष्य तय गरियो। तर, कोभिड– १९ महामारीका कारण खोप सेवाको कभरेजमा आएको कमीलाई ध्यानमा राख्दै सदस्य राष्ट्रहरूले लक्ष्य प्राप्तिको समयसीमा बढाएर सन् २०२६ सम्ममा दादुरा र रूबेला निवारण गर्ने नयाँ लक्ष्य निर्धारण गरेका हुन्।