सिरहा धनगढीमाई नगरपालिका-११ को ८५ वर्षीय फनिलाल यादवको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्।
धनगढीमाई नगरपालिका-२ का ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्तकुमार मण्डल पक्राउ परेका हुन्।
प्रशान्तलाई साउन २३ र महेशलाई साउन २७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
फनिलाल साउन १४ गते आफ्नै घरमा घाइते अवस्थामा भेटिएका थिए। उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा सोही दिन मृत्यु भएको थियो।
डिएसपी पासवानका अनुसार घटना शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी, मधेस प्रदेश प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान अगाडि बढाएको थियो।
घटनास्थल नजिककै जडान रहेको सिसिटिभीमा एक व्यक्ति शंकास्पद देखिएपछि प्रहरीले ती व्यक्तिहरूलाई खोज्ने काम गरिरहेको थियो। अनुसन्धानका क्रममा सिसिटिभीमा देखिएका व्यक्ति महेश भएको खुल्न आएको उनले बताए।
घटनापछि दुवै जना फरार थिए।
साउन १४ गते रातिको समयमा महेश र प्रशान्त चोरी गर्न भनी हिँडेको र फनिलालको घरको ढोका खुला देखेपछि त्यही पसेको प्रहरी अनुसन्धानमा खुलेको छ।
'घरभित्र पस्दा फनिलालले होहल्ला गरेको कारण आफूले लगेको खुकुरीले टाउकोमा प्रहार गरेर दुवै जना फरार भएको बयानका क्रममा उनीहरूले बताएका छन्,' उनले भने।
उनीहरूविरूद्ध जिल्ला अदालतबाट बुधबार ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।