कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा श्रीमानले जिउँदै श्रीमतीको मृत्युदर्ता गरेका छन्।
स्थानीय दयाराम गिरीले जीवितै श्रीमती गोमतीदेवी गिरीको मृत्यु दर्ता गरेका हुन्।
दयारामले २०७६ फागुन ५ गते श्रीमतीको मृत्यु भएको भन्दै सोही महिनाको २० गते वडा कार्यालयबाट मृत्यु दर्ताको प्रमाण पत्र लिएका थिए।
त्यसमा स्थानीय पञ्जिकाधिकारी (सचिव) गुरूदेव विकले प्रमाणीकरण गरेका थिए।
'मृत्यु दर्ता गरेर मेरो नाममा भएको जग्गा पनि उहाँकै नाममा नामसारी गर्नुभएको रहेछ,' गोमतीदेवीले सेतोपाटीसँग भनिन्, 'कानुनी रूपमा त म मरिसकेकी छु। आफू जिउँदो छु भनेर प्रमाणित गर्नुपर्ने अवस्था आइपरेको छ।'
श्रीमानले मृत्यु दर्ता गरेको कुरा ६ वर्षपछि थाहा पाएको उनले बताइन्।
कञ्चनपुरमै जन्मिएकी उनले २१/२२ वर्षकै उमेरमा दयारामसँग विवाह गरेकी थिइन्। अहिले उनी ३८ वर्षकी भइन्।
सानै उमेरमा 'भागेर' विवाह गरेकाले माइती फर्केर गइनन्। श्रीमानकै घर उनको लागि संसार थियो। उनी घरव्यवहार सम्हाल्थिन्।
त्यतिबेला उनका श्रीमान् सेनामा कार्यरत थिए। उनले दुई सन्तानलाई जन्मदिएकी छिन्। सन्तानलाई हुर्काउँदै श्रीमानकै घरमा बसिरहिन्। श्रीमानसँग झगडा परिरहँदा पनि उनले कहिले घर छोडेर जान्छु भनेर सोचिनन्।
'दिनहुँ झैझगडा हुँदा पनि दु:ख सुख गरेर बसेँ, जहिले घर छोडर जाभन्दा पनि छोराको मुहार हेरेर बसेको थिएँ। कहिले छोडेर जान्छु भन्ने सोचिनँ। सहन नसकेपछि मर्नुभन्दा बौलाउनु बेस भनेर २०७५ असार ३ गते घर छोडेर हिडेँ,' उनले भनिन्।
घर छोडेर हिँडेको दोस्रो दिनदेखि साउनसम्म कुराकानी भइरह्यो। भदौमा दयाराम शान्ति सेनामा गएका थिए। त्यसपछि केही समय उनीहरूबीच सम्पर्क भएन्।
२०७६ कात्तिकमा दयाराम शान्तिसेनाबाट फर्किए। उनी फर्किएको एक महिनापछि पुन: आफूसँग सम्पर्कमा आएको गोमतीदेवीको भनाइ छ।
श्रीमान शान्तिसेनाबाट फर्किए पनि उनी भने भारतमै थिइन्। श्रीमानसँग फर्किएपछि गोमतीदेवी पनि घर फर्किन चहान्थिन्। श्रीमानसँग विवाद भएपछि उनी फर्किनन्।
'त्यतिबेला मात्र श्रीमानको अर्को विवाह गरेर सन्तानसमेत जन्मिएको थाहा पाएँ,' उनले भनिन्, 'त्यसपछि त फर्किन मन लागेन।'
आ-आफ्नो बाटो गरिखाने भनेर लागियो। श्रीमानले विवाह गरेको केही समयपछि आफूले पनि विवाह गरेर त्यही बसेको उनी बताउँछिन्।
पहिला पनि भागेर विवाह गरेकाले दोस्रो विवाह पनि आफ्नो मर्जीले गरेकाले माइती फर्किने हिम्मत नआएको उनको भनाइ छ।
त्यसपछि दयाराम र गोमतीदेवीबीच फोन सम्पर्क भएन। उनका छोराहरू आफन्तकोमा राखिदिएको थियो। उनी बेलाबेलामा आफन्तसँग छोराहरूको बारेमा सोधपुछ गर्थिन्।
यसरी नै उनको ६ वर्ष बित्यो।।
'आ-आफ्नो कर्म गरेर खाइरहेका थियौं। गत असारमा आमा बिरामी भएर बित्नुभयो। त्यतिबेला पनि आउन सकिनँ,' उनले भनिन्, 'अहिले वर्षदिनको काममा आएको थिएँ।'
उनका अनुसार अहिले माइती आएको बेलामा दुई/चार पैसा जम्मा भएकाले जमिन किन्ने सोच आयो। किन्ने तयारी गरेर पास गर्ने प्रक्रिया बुझ्न जाँदा चिनेजानेका मान्छेले मृत्यु दर्ता भइसकेको हुन सक्ने कुरा सुनाए।
'तपाईंको त मृत्यु दर्ता भइसक्यो' भन्दा छक्क परे। तीन/चार जना स्थानीयले त्यही सुनाएपछि वडा कार्यालयमा सोधपुछ गर्न जाँदा मृत्यु दर्ता भइसकेको पुष्टि भएको उनको भनाइ छ।
'२०७६ पुससम्म हाम्रो बोलचाल भइरहेको थियो। फागुनमा मृत्यु दर्ता गरिदिनु भएछ,' उनले भनिन्, 'जिउँदै मान्छेलाई कसरी मारिदियो भनेर अचम्म भएँ।'
मृत्यु दर्तापछि श्रीमानले मालपोत कार्यालयबाट महेन्द्रनगरबाट आफ्नो नाममा भएको जग्गासमेत नामसारी गरेको उनले बताइन्।
आफू जीवित हुँदाहुँदै स्थानीय तह, मालपोत कार्यालयले कसरी मृत्यु घोषित गरिदियो भनेर अचम्मित छिन्।
अब उनी कसरी आफूलाई कानुनी रूपमा जिउँदो बनाउने भनेर सम्बन्धित निकायसँग सोधपुछ गरिरहेकी छन्।
वडाले जारी गरेको नाता प्रमाणपत्र र मृत्यु दर्ता प्रमाणपत्र।
जिउँदै मान्छेको कसरी मृत्युदर्ता गरियो भनेर हामीले वडा कार्यालयमा बुझेका छौं।
वडाध्यक्ष सुशीलकुमार भट्टका अनुसार अहिले गोमतीदेवी आएर सोधपुछ गर्दा मात्र उनको मृत्युदर्ता भएको थाहा भयो।
'पहिला सम्पर्कमा थिइनँ, ५/६ वर्षपछि आएकाले हामी पनि यस घटनामा सोधपुछ गरिरहेका छौं,' वडाध्यक्ष भट्टले भने, 'त्यतिबेला कसरी मृत्युदर्ता गराइयो भनेर हामीले पनि सोधपुछ गरिरहेका छौं।'
उनका अनुसार त्यतिबेलाका सचिवको सरूवा भइसकेकाले कसरी पुष्टि गरियो भनेर थाहा पाउन सकिएको छैन।
पहिलाको सचिव विकसँग सम्पर्क गर्न खोजिरहेको उनले जानकारी दिए।
'उनले निवेदन दिएपछि प्रक्रियागत रूपमा खारेज हुन्छ, गलत प्रमाणीकरण दिनेलाई पनि कानुनी कारबाही हुनसक्छ,' वडाध्यक्ष भट्टले भने।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका यस्तो घटना सुनेर आफू छक्क परेको दाबी गर्छन्।
श्रीमती जिउँदो हुँदाहुँदैसम्बन्धी निकायले कसरी प्रमाणीकरण गर्यो भनेर अनुसन्धान गर्ने विषय हो। यसमा पीडितले चाल्ने कदमअनुसार कारबाही प्रक्रिया अगाडि बढ्ने उनी बताउँछन्।
'पीडित व्यक्तिले कसरी निवेदन दिन्छिन्। त्यहीअनुसार कानुनी कारबाही अगाडि बढ्छ,' जिल्ला अधिकारी प्रमुख ढकालले भने।
उनका अनुसार यस घटनामा मृत्यु दर्ता खारेज मात्र गर्ने हो भने वडा कार्यालयमा निवेदन दिए पुग्छ। वडाबाट नगरपालिका हुँदै जिल्ला आएर निर्णय भएपछि स्वत: खारेज हुन्छ।
दोस्रोमा उनले जीवित हुँदहुँदै मृत्यु भएको भनेर निवेदन दिने श्रीमानविरूद्ध कारवाही गरिपाऊँ भनेर जिल्ला अदालतमा उजुरी दिन सक्छिन्। कानुनी रूपमा केसअगाडि बढाउन सक्छिन्।
र, अन्तिममा मृत्यु भएको पुष्टि नगरी सचिवले कसरी दियो भनेर उसलाई पनि कानुनी कारबाही गर्ने हो भने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा निवेदन दिन सकिने ढकालले जानकारी दिए।
'उनले कसरी कानुनी रूपमा अगाडि बढ्न चाहन्छिन्। त्यही अनुसारले अगाडि बढ्छ,' उनले भने।
यस घटनाबारे बुधबार नेकपा (माओवादी केन्द्र) की सांसाद रूपा शोशी चौधरीले समेत बुधबार संसदमा कुरा उठाएकी छन्।
उनले जीवितै मान्छेलाई स्थानीय तहले कसरी मृत्यु दर्ता गरिदियो? स्थानीयको मुचुल्काबिना मृत्यु दर्ता गर्न मिल्छ?
उनले मृत्यु भयो भनेर झुटो खबर दिने श्रीमान्, प्रमाणीकरण गरिदिने सचिवविरूद्ध कानुनी कारबाही हुन्छ कि हुँदैन भनेर प्रश्नसमेत गरेकी छन्।